बैंकिङ शिक्षा आजको आवश्यकता : अधिकांश जनताले अझै बैंक बुझ्दैनन्

बैंकमा खाता खोल्ने सरल विधि, ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउने, मोबाइल बैंकिङ कसरी चलाउने, एबीबीएस भनेको केहो, एटीएम कार्डले रकम कसरी निकाल्ने, कुन सेवा लिँदा कहाँ सम्पर्क गर्ने, बैंकमा खाता नहुँदा र कारोबार नगर्दा के बेफाइदा छ भन्ने बारेमा अहिलेसम्म पनि धेरै व्यक्तिमा द्विविधा पाइन्छ ।

सम्बन्धित सामग्री

बैंकिङ शिक्षा आजको आवश्यकता : अधिकांश जनताले अझै बैंक बुझ्दैनन्

बैंकमा खाता खोल्ने सरल विधि, ग्राहक पहिचान विवरणलाई सहज र सरल बनाउने, मोबाइल बैंकिङ कसरी चलाउने, एबीबीएस भनेको केहो, एटीएम कार्डले रकम कसरी निकाल्ने, कुन सेवा लिँदा कहाँ सम्पर्क गर्ने, बैंकमा खाता नहुँदा र कारोबार नगर्दा के बेफाइदा छ भन्ने बारेमा अहिलेसम्म पनि धेरै व्यक्तिमा द्विविधा पाइन्छ ।

वित्तीय साक्षरता बढाउनुपर्नेमा जोड

काठमाडौं । नेपालको बैंकिङ प्रणालीलाई बलियो र सुरक्षित बनाउन वित्तीय साक्षरता बढाउनु आवश्यक रहेको सरोकारवाला एवं विज्ञहरूले बताएका छन् । मंगलवार काठमाडौंमा भएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को ‘दिगो र समावेशी विकासका लागि वित्तीय साक्षरता:  छुटेको अध्याय’ विषयक सत्रमा उनीहरूले यस्तो धारणा राखेका हुन् । सत्रमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर डा. नीलम ढुंगाना तिम्सिनाले अहिले देशका प्राय: सबै ठाँउमा बैंकिङ पहुँच पुगेकाले सर्वसाधारणलाई प्रणालीसँग अभ्यस्त बनाउँदै लग्नुपर्ने बताइन् । ‘बझाङको एउटा गाउँपालिकाबाहेक देशका सबै स्थानीय तहमा बैंकिङ पहुँच पुगिसकेको छ । ग्रामीण शाखाहरूले बचत संकलन एवं कर्जा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेका छन्,’ उनले भनिन् । डेपुटी गर्भनर डा. ढुंगानाका अनुसार साना उद्यमको प्रवर्द्धनमा पनि वित्तीय संस्थाको भूमिका उल्लेखनीय छ । महिला सशक्तीकरणमा बैंकिङ क्षेत्रको योगदानलाई नकार्न मिल्दैन । अहिलेसम्म ८४ हजार महिलालाई विभिन्न खाले कर्जा प्रवाह भएको छ । महिलाको नाममा निष्कासन भएको कर्जाको उपयोग अरुले गर्ने तर ऋण पासोचाहिँ महिलामाथि नै पर्न जाने स्थिति देखिएकाले वित्तीय साक्षरता आवश्यक भएको उनको भनाइ छ ।  न्यू बिजनेश एज प्रालिका अध्यक्ष तथा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले विगतको तुलनामा वित्तीय साक्षरतामा सुधार आएको बताए । वित्तीय साक्षरतालाई यो स्तरमा पुर्‍याउन मिडिया क्षेत्रले प्रशस्त भूमिका निभाएको उनको भनाइ छ । ‘वित्तीय साक्षरताको स्थितिमा धेरै सुधार भएको छ तर अझैं गर्नुपर्ने कुरा पनि कम छैनन् । हामीसँगै बैंकिङ प्रणालीमा अगाडि बढेका अन्य देशहरूको तुलनामा हामी पछाडि नै छौं । यो कुरा महालेखाको बेरुजुसम्बन्धी प्रतिवेदनबाट पनि छर्लङ्ङ हुन्छ,’ अध्यक्ष तथा प्रधान सम्पादक लम्सालले भने, ‘कतिपय अवस्थामा बैंककै कमर्चारीलाई पनि न्यूनतम वित्तीय जानकारी नहुने पाइएको छ । त्यसबाहेक देशका नेता, सांसद, न्यायाधीश र सर्वसाधारण सबैलाई बैंकिङ शिक्षा आवश्यक छ ।’ अब उद्यमशीलता र डिजिटल बैंकिङको समय भएकाले वित्तीय साक्षरतालाई पनि त्यतैतिर बढी केन्द्रित गर्नुपर्ने उनको सुझाव छ ।  नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले वित्तीय साक्षरताको कुरा आम सर्वसाधारणदेखि माथिल्लो तहसम्म सबैलाई सिकाउनुपर्ने बताए । ‘हामीले समाजका विभिन्न क्षेत्र एवं वर्ग समुदायमा लगानी गरेका छौं । उद्यमशीलताको प्रवर्द्धन भयो भने नेपालको विकासको ढोका खुल्छ,’ अध्यक्ष पौड्यालले भने, ‘मीटरब्याजको प्रचलन हटाउन वा घटाउन बैंकका ग्रामीण शाखा र माइक्रो फाइनान्सहरूको ठूलो योगदान छ । यी सबै कुरालाई अभैm विस्तार गर्न बैंकिङ शिक्षामा जोड दिनुपर्ने आवश्यकता पनि उत्तिकै छ ।’ राष्ट्रिय वाणिज्य बैंकका डेपुटी चिफ एक्जेक्युटिभ अफिसर पवन रेग्मीले सबैको समानरूपले बैंकिङ क्षेत्रमा पहुँच नपुगेकाले विकास समान अनुपातले हुन नसकेको बताए । उनका अनुसार वित्तीय साक्षरताको अभावमा पनि पहुँचमा रहेका सबैले सुविधा लिन सकिरहेका छैनन् । अब पाठ्यक्रममा विद्यालय स्तरबाटै वित्तीय शिक्षा समावेश गरेर सबै नागरिकलाई जानकार बनाउनुपर्छ ।  वित्तीय संस्थाबाट ऋण लिएपछि तिर्नैपर्छ भन्ने कुराको ज्ञान पनि सबैलाई दिनुपर्ने आवश्यकता रहेको रेग्मीले बताए ।  बैंकिङ प्रणालीका विभिन्न पक्षमा छलफलको लागि आयोजना गरिएको ‘द नेशनल बैंकिङ डिस्कोर्स २०२३’ को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका थिए । उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले बैंकिङ क्षेत्रलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याए ।