मोहनविक्रम सिंह ।।
का. गिरधारीलाल न्यौपाने नेपालको कम्युनिस्ट आन्दोलनमा चार दशकदेखि सक्रिय रहँदै आउनुभएको छ । उहाँ आफू नेपालको कम्युनिस्ट आन्दोलनमा सक्रिय हुन थालेपछि आफूले प्राप्त गरेका ज्ञान, अनुभव, अनुभूतिका साथै सङ्गठनात्मक जिम्मेवारीको सिलसिलामा प्रस्तुत गरिएका राजनीतिक तथा सङ्गठनात्मक प्रतिवेदन, विभिन्न समयमा लेखिएका लेखरचना, अन्तर्वार्ता आदि विषय यो पुस्तकमा समेटिएका छन् । लेखक राजनीतिक कार्यकर्ता भएकाले उहाँले पुस्तक तयार गरिरहँदा आफ्नो राजनीतिक अभिभारा तथा नैतिक दायित्वलाई भरसक व्यवस्थित र सन्तुलित रूपमा प्रस्तुत गर्ने प्रयत्न गर्नुभएको छ । हामीले लेखकको त्यो जिम्मेवारीपूर्ण व्यवहारलाई धन्यवाद दिन चाहन्छौँ ।
हामीले यस्तो किन भन्न चाहन्छौँ भने धेरैजसो व्यक्तिहरूले पार्टी परित्याग गरिसकेपछि पूर्वाग्रहका कारण आफ्नो पूर्व इतिहासलाई आफैले समाप्त पार्ने गरेका छन् । हामीले यो भन्दैनौँ कि उनीहरूले हाम्रो पार्टी छोडेका वा हामी एउटै सङ्गठनमा रहन नसकेको कारणले हाम्रो पार्टीमा रहँदा निर्वाह गरेको भूमिकाको इतिहासलाई उनीहरू स्वयम्ले पूर्वाग्रहका साथ मास्दै जानुपर्दछ । उनीहरू स्वयम्ले त्यसको रक्षा गरेर भविष्यको पुस्तालाई सुम्पिने प्रयत्न गर्नुपर्दछ, जसबाट नयाँ पुस्ताले इतिहासबाट केही सिक्ने अवसर प्राप्त गर्न सक्दछ । त्यसका साथै यो कुराप्रति पनि गम्भीर ध्यान आकर्षित हुनुपर्दछ, वास्तवमा इतिहास त्यस्तो हुनुपर्छ, जो सत्यतथ्य विवरणका साथ वर्तमानमा उपस्थित हुन सकोस् । केही अपवादलाई छाडेर का. गिरधारीलालले त्यो कार्य इमान्दारीतापूर्वक गर्ने प्रयत्न गर्नुभएको छ ।
लेखकको चारदशक लामो राजनीतिक जीवनको मुख्य समय अर्थात् करिब तीन दशक हाम्रो पार्टीमा व्यतित भएको थियो । उहाँ हाम्रो पार्टीमा रहँदा कैयौँ महत्त्वपूर्ण जिम्मेवारीमा रहनुभयो र तिनीहरूलाई पूरा गर्ने प्रयत्न पनि गर्नुभयो । पछि उहाँ हाम्रो पार्टीबाट अलग हुनुभयो र बेग्लै सङ्गठनमा सामेल हुनुभयो । त्यो उहाँको राजनीतिक तथा साङ्गठनिक स्वतन्त्रता हो, जसबारे निर्णय गर्न उहाँ स्वयम्लाई अधिकार हुन्छ । त्यसबारे हामीलाई अरू थप केही भन्नु छैन ।
का. गिरधारीलालको राजनीतिक यात्रा प्रवासबाट सुरु भएको थियो । हामीले उहाँको त्यो राजनीतिक यात्रालाई नजिकबाट बुझ्दछौँ । आफ्नो पुस्तकमा उहाँले त्यो कुरा उल्लेख गर्नुभएको छ । उहाँले प्रवासी नेपालीहरूको बिचमा रहेर जुन काम ...