महिला उद्यमी महासंघ अध्यक्ष शोभा ज्ञवालीले साना उद्यमीको उत्पादनमा गुणस्तर कायम गर्न र ग्राहकले खोजे अनुसारका वस्तु उत्पादनमा प्रोत्साहन गर्न पनि डिजिटल साक्षरता आवश्यक रहेको बताइन्।...
सीमा गोल्छा गोल्छा अर्गनाइजेशनका निर्देशक हुन् । उनी संगठनको सामसङ मोडर्न रिटेल डिभिजनको नेतृत्व गर्छिन् । यसअन्तर्गत नेपालभर १४ ओटा आउटलेट छन् । यसका अलावा ४०० भन्दा बढी विक्री तथा विक्रीपछि सेवा केन्द्रका सञ्जाल हेर्दै आएकी उनी ‘स्विच अन’ नामक बहु–ब्रान्ड इलेक्ट्रोनिक्स र होम अप्लायन्सेस रिटेल कम्पनीका निर्देशकको रूपमा पनि रहेकी छन् । उनी महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने विभिन्न संगठनमा समेत संलग्न छिन् । प्रस्तुत छ, उनको व्यावसायिक पृष्ठभूमि, सामाजिक कार्य तथा महिला सशक्तीकरणमा सक्रियता, व्यावसायिक क्षेत्रमा चुनौती, अवसर लगायत विषयमा आर्थिक अभियानका प्रधान सम्पादक मदन लम्सालले गरेको कुराकानीको सार :
तपाईंको पृष्ठभूमिबारे केही बताइदिनोस् न ?
म भारतमा हुर्के बढेकी हुँ । म व्यापारिक पृष्ठभूमिबाट आएकी होइन । म यस्तो परिवारबाट आएकी हुँ, जसले शिक्षालाई धेरै महत्त्व दिन्छ । मेरा बुबा–आमा दुवै ‘पोस्ट ग्य्राजुएट’ हुनुहुन्थ्यो । आमा सधैं करिअर बनाउन जोड दिनुहुन्थ्यो, जसको प्रभाव ममा बाल्यकालदेखि नै पर्यो । सोहीअनुसार मैले आफूलाई तयार पारेँ । दिल्ली विश्वविद्यालयमा अध्ययन गरेँ । पछि भारतमै करिअर शुरू गरेँ । म विवाह गर्नुअघि काम गर्थें । मैले मेरो श्रीमान् शेखरलाई सोही विश्वविद्यालयमा भेटेँ । साढे ६ वर्षको चिनजान तथा प्रेमपछि हाम्रो विवाह भयो । त्यो बेला मारवाडी समुदायका धेरै थोरै महिलाले मात्र परम्परागत भूमिकाभन्दा फरक खालका काम गर्थे ।
व्यापार वा करिअरमा तपाईंका ‘टर्निङ पोइन्ट्स’ के के छन् ?
म एक भिन्न माहोल र परिवेशमा हुर्किएँ, जहाँ मलाई धेरै स्वतन्त्रता प्रदान गरिएको थियो । म आफ्नो बारेमा निर्णय गर्न स्वतन्त्र थिएँ । जब मैले विवाह गरेँ, धेरै कुरा परिवर्तन भयो । काठमाडौं दिल्लीभन्दा धेरै फरक थियो । सामाजिक अवस्था पनि भिन्न थियो । यहाँको परिवेशमा समायोजित हुन मलाई कठिन भएको थियो । तर समयसँगै म समस्या र चुनौतीलाई चिर्न सफल भएँ । यसका लागि मेरा ससुराले सधैं मलाई सहयोग गर्नुभयो । उहाँले धेरै ठाउँको भ्रमण गर्नुभएको थियो । उहाँलाई अन्यत्रका महिला कसरी अघि बढिरहेका छन् भन्ने थाहा थियो । उहाँको साथले मैले आफ्नो काम शुरू गरेँ ।
तपाईंले महिला सशक्तीकरणको क्षेत्रमा काम गरिरहनुभएको छ । काठमाडौंको जोन्टा क्लबको आईपीपी पनि हुनुहुन्छ । महिला र महिला उद्यमशीलताको अवस्था कस्तो पाउनुभएको छ ?
जोन्टा मसँग धेरै नजिक छ । जब महिला सशक्तीकरणको कुरा उठ्छ, म धेरै भावनात्मक हुन्छु । जोन्टा क्लबमा हामी शिक्षासहितको महिला सशक्तीकरणमा जोड दिन्छौं । हामीले बालिकाको शिक्षा र महिलाको आर्थिक सशक्तीकरणलाई बढी प्राथमिकता दिएका छौं । तपाईं आर्थिक रूपमा सशक्त हुनुहुन्छ भने तपाईंको बुझाइ पनि बढी हुन्छ । राम्रो निर्णय गर्न सक्नुहुन्छ । तपाईंको कुरा अरूले सुन्छन् । जोन्टामा हामी महिलालाई आर्थिक रूपले सशक्त बनाउने प्रशिक्षण दिन्छौं । महिलाले आय आर्जन गरेमा उनीहरू आफ्ना बालबालिकाको शिक्षा वा उनीहरूको भविष्यका लागि खर्च गर्दछन् । यो मामिलामा उनीहरूको पैसाको ठूलो उपयोग हुन्छ ।
जतिबेला म जोन्टाको सभापति थिएँ, हामीले चन्द्रागिरि नगरपालिकाका स्थानीय महिलालाई सामुदायिक खेतीसम्बन्धी प्रशिक्षण दियौं । कमाएको पैसाबाट उनीहरूले आफ्नै ‘ग्रीन हाउस’ बनाए । टमाटरखेती शुरू गरे । त्यसबाट उनीहरूको आयस्रोत थप बलियो भयो ।
हामीले मधेश प्रदेशमा ‘बामगती शिक्षा कार्यक्रम’ शुरू गर्यौं । आफ्नो नाम समेत लेख्न पढ्न नसक्ने महिला हामीले भेटका थियौं । सो कार्यक्रमबाट महिलाहरू लेख्न पढ्न सक्ने भए । त्यसबाट उनीहरूमा आत्मविश्वास बढ्यो । हामीले विद्यालयका छात्राका लागि आत्मरक्षा तालीम पनि प्रदान गरेका थियौं ।
जोन्टा क्लब काठमाडौंले सञ्चालन गर्ने विभिन्न कार्यक्रमको प्रभाव कस्तो छ ?
नेपालमा प्राय: समस्या के देखिन्छ भने महिला वा लक्षित वर्गको क्षमता अभिवृद्धिका लागि भन्दै अनेक संगठन आउँछन्, प्रशिक्षण गर्छन् अनि केही समयपछि हराउँछन् । तर हाम्रो प्रभाव र उपस्थिति अलि भिन्न छ । हामी प्रशिक्षण प्रदान गरेपछि समुदायले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिन्छौं । त्यसको सुनिश्चितता गर्दछौं । तालीम तथा कुनै पनि शीप तथा दक्षता विकास कार्यक्रममा लाभग्राही वर्गको सक्रिय सहभागिता हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । त्यसैले हामी आफूले सञ्चालन गरेका कार्यक्रमलाई निरन्तरता दिन प्रतिबद्ध छौं । उदाहरणका लागि, सामुदायिक कृषि क्षेत्रमा हामीले एक महिला समूह बनाएका छौं, जसले अब आफ्नो कामकाज स्वयं सञ्चालन गर्दछ । यस समूहले आफैले सभापति, कोषाध्यक्ष र सचिव चयन गरेको छ । समूहका सदस्य महिलाहरू आर्थिक रूपमा आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूलाई केही समयअघि कम्प्युटर दिएका छौं । डिजिटल प्रशिक्षण प्रारम्भ गरेका छौं । हाम्रो अर्को मुख्य प्रयास उनीहरू वित्तीय साक्षरता बढाउनु पनि हो । हामी प्रशिक्षण दिएर त्यतिकै छाड्दैनौं । उनीहरूलाई आफै यस्ता कार्यक्रम सञ्चालन गर्न सक्ने आत्मविश्वास र उत्साह पनि दिन्छौं ।
काठमाडौं जोन्टा क्लबका बारेमा थप जानकारी दिनुहोस् न ।
काठमाडौंको जोन्टा क्लब नेपालमा करीब १० वर्ष पहिले स्थापना गरिएको हो । क्लबमार्फत हामीले ३०० महिलालाई साक्षर गरेका छौं । यो संख्या यतिमा मात्र सीमित हुँदैन । किनकि ३०० महिलाले आफ्ना आमा र हजुरआमालाई पनि साक्षर गराउँछन् । क्लबको एउटा प्रमुख कार्यक्रम ‘बागमती साक्षरता’ पनि हो, जुन हामीले १२ ओटा विद्यालयमा सञ्चालन गरेका छौं । त्यसैगरी ३२ ओटा शौचालय बनाएका छौं ।
कोभिड–१९ महामारीका कठिन समयमा सबैले अनलाइन पढाइका बारेमा कुरा गरे । केही निजी विद्यालयले अनलाइन कक्षा चलाएका पनि थिए । तर सरकारी विद्यालय र त्यहाँका विद्यार्थीलाई यसबारे थाहा थिएन । तयो परिस्थितिमा हामीले दरबार हाईस्कुलका छात्रछात्राका लागि अनलाइन प्रशिक्षण सञ्चालन गरेका थियौं । हामीले टिच फर नेपालसँग सहकार्य गरेर चितवनका विद्यालयका छात्रालाई साइकल वितरण गरेका थियौं, जसले गर्दा उनीहरूलाई नियमित समयमा विद्यालय पुग्न र पढ्न सहज भयो ।
सामाजिक उत्तरदायित्व वा अन्य कार्यक्रम अन्तर्गत गोल्छा समूहले महिला उद्यमशीलतासँग सम्बन्धित कुनै काम गरिरहेको छ ?
हाम्रो ध्यान महिलामा मात्र केन्द्रित छैन । सामाजिक उत्तरदायित्व अन्तर्गत धेरै कार्यक्रममा संलग्न भएका छौं । टिच फर नेपालसँग सहकार्य गर्ने हामी पहिलो संस्था हौं । साथै, हामीले काठमाडौं नजिक रहेका अनाथालयलाई पनि सहयोग गर्दै आएका छौं । सामसङ प्लाजाको १५औं वार्षिकोत्सवको अवसरमा हामीले एक वर्षका लागि ५० छात्रालाई शिक्षाका लागि प्रायोजन गरेका थियौं । हामी सधैं युवाशक्तिमा विश्वास गर्छौं । किनकि युवा हाम्रो भविष्य हुन् । यस वर्ष हामी ‘ग्लोकल टीन हिरो’को शीर्षक प्रायोजकका रूपमा छौं । हामी युवामा विश्वास र लगानी गरिरहेका छौं । पल्सर पुरस्कार, ग्लोकल टीन हिरो र टिच फर नेपाल जस्ता विभिन्न प्रयासमा हाम्रो संलग्नता यसैका उदाहरण हुन् ।
डिजिटल युगमा महिला उद्यमशीलताका लागि राम्रा सम्भावना छन् भनिन्छ । तपाईं कस्तो सम्भावना र चुनौती देख्नुहुन्छ ?
डिजिटल युग आएको छ । अबको समय यसले नेतृत्व गर्नेछ । यो ठूलो परिवर्तन र क्रान्ति हो । कोभिड १९ ले डिजिटाइजेशनको गतिलाई छिटो बनाइदियो । हामी डिजिटल क्रान्तिको एक हिस्सा भएका छौं र हुनैपर्दछ । अहिले नेपालमा ५२ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच छ । यो आफैमा राम्रो अवसर हो । नेपालमा सामाजिक सञ्जालको प्रयोग बढी मात्रामा मनोरञ्जनका लागि गरिन्छ । यसमा टिकटक र फेसबुकले ठूलो स्थान ओगेटका छन् । डिजिटल प्लेटफर्मलाई आफ्नो व्यापार व्यवसायको विस्तारमा प्रयोग गर्न सकिन्छ ।
नेपालमा स्मार्टफोन तथा इन्टरनेटको पहुँच बढ्दो छ । तर पनि नेपालीको वित्तीय साक्षरता भने कमजोर छ । यो समस्या कसरी समाधान गर्न सकिएला ?
सूचना प्रविधि, सामाजिक सञ्जाल र इन्टरनेटबाट जे जति लाभ लिनुपर्ने हो, त्यो लिन सकिएको छैन । टिकटक जस्ता प्लेटफर्मका कारण मानिसहरू इन्टरनेटको विशाल सम्भावनाको लाभ लिनबाट चुकेका छन् । स्मार्टफोन मानिसको महत्त्वपूर्ण हिस्सा बनेको छ । यसमा अत्यधिक शक्ति छ । तपाईं उद्यम शुरू गर्न चाहनुहुन्छ, सोशल मिडिया माध्यममा व्यवसाय प्रवर्द्धन गर्न चाहनुहुन्छ वा भुक्तानी गर्न चाहनुहुन्छ भने यी सबै काम तपाईंको फोनबाट पूरा गर्न सकिन्छ । वित्तीय साक्षरताको सन्दर्भमा बैंकहरूले धेरै योगदान गर्न सक्छन् । धेरै बैंकले पहिलेदेखि नै यो काम गरिरहेका पनि छन् । हामीले महिलालाई वित्तीय साक्षरता प्रदान गर्दा धेरै बैंकहरूले साथ सहयोग पनि गरेका छन् ।
महिलाको डिजिटल साक्षरता बढाउन कस्ता चुनौती छन् ?
महिलालाई डिजिटल साक्षरता दिन सेवाप्रदायकको प्रमुख भूमिका हुन्छ । साइबर अपराध र विशेषगरी अनलाइन भुक्तानीसँग सम्बन्धित चुनौती धेरै छन् । यसकारण डिजिटल कारोबारसँग सम्बन्धित घटना र खतराबारे महिलालाई शिक्षित गर्नु अपरिहार्य छ । भुक्तानीसँग सम्बन्धित विषयमा महिलालाई मार्गदर्शन गर्दै डिजिटल प्लेटफर्म दुरुपयोगको सम्भावनाबारे जागरुक बनाउनुपर्छ ।
सानो उद्यम व्यवसाय गरेका महिलालाई कसरी सहयोग गर्न सकिन्छ ?
सानो व्यवसायका बारेमा कुरा गर्दा शुरूमा केही मार्गदर्शन र सहयोग आवश्यक पर्दछ । यसपछि उनीहरूलाई धेरै समर्थनको आवश्यकता छ । विभिन्न समूह र संगठन यस्ता व्यवसायलाई सहयोग गर्न खुलेका छन् । मुख्य कुरा, आत्मविश्वास हो । जब कुनै महिला घरबाट बाहिर आउँछिन्, उनले आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ । पुरुषले यस्तो सब कुरा गर्नुपर्दैन । एक महिला उद्यम प्रारम्भ गर्दा उनले आफ्नो परिवारलाई मनाउनुपर्दछ । त्यसैले, महिलालाइ धेरै सहयोगको खाँचो पर्छ । अहिले विभिन्न सरकारी निकाय छन् । संयुक्त राष्ट्र संघीय नियोगलगायत संस्थाहरू छन् । उनीहरूले महिला उद्यमशीलता र सशक्तीकरणको क्षेत्रमा सहयोग गर्न सक्छन् । कुनै पनि काम गर्न समय व्यवस्थापनको कुरा पनि आउँछ । समय व्यवस्थापन गरीब वा निम्न वर्गका महिला र व्यावसायिक क्षेत्रका महिलाका लागि फरक हुन्छ जस्तो लाग्दैन ।
आफ्नो उत्पादन देश र विदेशमा प्रवर्द्धन गर्न नेपाली उद्यमीलाई कसरी सहयोग गर्न सकिन्छ ?
मेरो विचारमा, प्रचार र बजारीकरण निकै महत्त्वपूर्ण छ । हामीले बाहिर निर्यात गर्ने वस्तु उच्च गुणस्तरको हुनुपर्छ । उत्पादन कम गुणस्तरको वस्तु छ भने बजार प्रतिक्रिया तत्कालै पाइन्छ । यो दीर्घकालीन हुँदैन । यसविपरीत उत्पादन उच्च गुणस्तरको छ भने बजारीकरण समस्या हुँदैन । त्यसमा प्रचारप्रसारले झनै धेरै टेवा पुग्छ । मैले आजको युवा पुस्ताको क्षमता सोशल मिडिया प्लेटफर्ममा देखेको छु । उनीहरू आफ्नो विचार नडराई अभिव्यक्त गर्छन् । जुन कुरा आजको डिजिटल मिडियामा महत्त्वपूर्ण हुन्छ । प्रिन्ट मिडियाबाट डिजिटलमा स्थानान्तरण भइरहेको समयमा डिजिटल प्लेटफर्मको पर्याप्त अध्ययन गर्नु पनि आवश्यक छ ।
महिला उद्यमीले अहिले कस्ता अप्ठ्यारा सामना गर्नुपरिरहेको छ ?
मेरो व्यक्तिगत अनुभवमा भन्नुपर्दा महिला भएर मैले भोग्नुपरेको समस्या केही छैन । लैंगिक भेदभावको सामना गर्नुपरेको छैन । अन्य महिलाले लैंगिकतासम्बन्धी भेदभावको सामना गरेका पनि होलान् । तर म बजारलाई लैंगिक दृष्टिले हेर्दिनँ । म समानतामा विश्वास गर्छु । अहिले महिलालाई बैंकले विशेष सुविधा दिन्छन् । महिला उद्यमीले आफ्नो व्यापार दर्ता गर्दा छूट लगायतका सुविधा पाउँछन् । व्यापारिक व्यक्तिको रूपमा भने मैले धेरै चुनौतीको सामना गरेको छु । आजको हाम्रो अर्थतन्त्रको असहज अवस्था, तरलता अभाव, घट्दो माग जस्ता समस्या हाम्रा साझा समस्या हुन् । यसबाट महिला उद्यमी मात्र होइन, सबै उद्यमी व्यवसायी समस्यामा छन् ।
नेपालमा व्यापार व्यवसाय गर्न कस्ता चुनौती छन् ?
नगद प्रवाहमा धेरै चाप बढेको छ । हाम्रा उत्पादन बजार सहज हुँदा मात्र बिक्छन् । अहिले हाम्रा सामान थन्केर बसेका छन् । हामी यस प्रकारका चुनौती हटाउन चाहन्छौं । हामी दुनियाँका दुई महाशक्ति राष्ट्रको बीचमा छौं । तर हाम्रो अर्थतन्त्र कमजोर अवस्थामा छ । हामीलाई सरकारबाट धेरै समर्थन चाहिएको छ । करका दर घटे भने हाम्रा उत्पादन सबैको पहुँचमा पुग्छन् ।
महिला उद्यमीलाई विशेष किसिमको व्यवहार आवश्यक छ ?
यो प्रश्नको उत्तर दिन निकै कठिन छ । मेरो विचारमा हामीले उनीहरूलाई शिक्षा र अधिकारमा समानता दिनुपर्दछ । संसद्मा महिलाको ३३ प्रतिशत आरक्षणको व्यवस्थाले उनीहरूको प्रतिनिधित्व बढाउनुपर्ने आवश्यकता स्पष्ट पार्छ । नत्र यस्तो किसिमको आरक्षण दिनुपर्ने नै थिएन । उनीहरूलाई अतिरिक्त सहयोग दिनुपर्छ । निर्णायक तहमा समान हैसियत प्राप्त भएपछि महिलालाई थप विशेष खालको आरक्षण आवश्यक पर्छ जस्तो लाग्दैन । त्यसपछि उनीहरूको क्षमता तथा नेतृत्व विकास, सशक्तीकरण लगायत पक्षमा जोड दिनुपर्छ । करीब २२ वर्ष पहिले म जब व्यापारमा प्रवेश गरेँ, त्यतिबेला व्यावसायिक क्षेत्रमा महिलाको सहभगिता खासै थिएन । बैंकिङ क्षेत्रमा केही महिलाको उपस्थिति थियो । पहिला व्यापार व्यवसाय गर्न निकै चुनौतीपूर्ण थियो । अहिले अवस्था फेरिएको छ । बिजनेश पढ्ने महिलाको संख्या बढ्दो छ । धेरै महिला व्यवसायमा लागेका छन् । तर अझै धेरै गर्नु छ । लामो यात्रा अझै हिँड्न बाँकी छ ।
अहिले महिला उद्यमीका संघसंगठन पनि छन् । तथापि, महिला उद्यमीको संख्या भने निकै कम देखिन्छ । यसमा के कारण देख्नुहुन्छ ?
धेरै महिला उद्यमी साना तथा मझौला उद्योगका क्षेत्रमा कार्यरत छन् । जस्तै– आचार बनाउने, सिलाइ बुनाइ आदि । ठूला उद्यममा धेरै महिला पाइँदैन । तर यो प्रवृत्ति परिवर्तन भइरहेको छ । कल्पना गर्नुस् त, केही दशक पहिला कति महिलाले आफ्नो व्यवसाय गरेका थिए ? तर हामी परिवर्तनको चरणमा छौं । हाम्रो प्रगति विस्तारै अघि बढेको छ । महिलाले आफ्नै स्टार्टअप व्यवसाय शुरू गरेको देखेको छु । उनीहरूमा व्यवसाय गर्ने दृढता र जाँगर छ । महिला भएकै कारण व्यवसायमा आउन उनीहरू डराएको वा अघि बढ्न नसकेको भन्ने मलाई लाग्दैन ।
उद्यमी बन्न चाहने महिला वा महिला उद्यमीलाई परिवार र करिअरबीच सन्तुलन बनाउन कस्तो सल्लाह दिनुहुन्छ ?
सबैलाई मेरो सल्लाह छ– जोखिम लिन नडराउनुस् । जब तपाईं यो संसारमा आउनुहुन्छ, तपाईंले चुनौतीको सामना गर्नैपर्दछ । यी समस्या र चुनौतीलाई सहर्ष स्वीकार गर्नुपर्छ । प्रभाकारी रूपमा समय व्यवस्थापन गर्नु पनि महत्त्वपूर्ण हुन्छ । जस्तो म बिहान ६:०० बजे उठ्दछु । मेरो बिहानी क्रियाकलाप गर्दछु, अनि कार्यालय जान्छु । परिवारका जिम्मेवारी सधैं पूरा गर्दछु । बच्चा सानो हुँदा धेरै गाह्रो हुन्थ्यो । अहिले उनीहरू हुर्किसकेकाले अलि सजिलो भएको छ ।
व्यवसाय विस्तारका लागि भविष्यमा गोल्छा समहूका योजना के छन् ?
विस्तारविना संगठनको विकास हुन सक्दैन । म अहिले संगठनका योजनाको बारेमा खुलाउन असमर्थ छु । छिट्टै तपाईंहरूले आफै देख्न सक्नुहुनेछ । गोल्छा समूहले धेरै क्षेत्रमा लगानी विस्तार गर्दै छ । अहिले हामी बजारको गति र अवस्था हेरिरहेका छौं । बजारको गतिविधि विश्लेषण गर्दै छौं । मेरो छोराले अब व्यापारको मुख्य बागडोर सम्हाल्दै छ । मेरो बुहारी पनि सक्रिय रूपमा संलग्न छिन् । यसले आगामी योजना कार्यान्वयनका लागि ‘स्टेज सेट’ गरेको छ ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ ?
म नवयुवा र जुझारु महिलालाई अघि बढ्न, अग्रसर हुन र व्यापार शुरू गर्न आग्रह गर्दछु । तपाईं आफ्नो विचार राख्न पछि नपर्नुस् । धेरै पटक हामीमा राम्रा विचार आउँछन् । यस्तोमा अरूले के भन्छ भनेर नसोच्नुस्, कार्यान्वयनमा लाग्नुस् । जीवन भनेकै निरन्तरको सिकाइ हो । सिक्दै अघि बढ्दा समस्या र चुनौतीहरूको सामना गर्न सकिन्छ । यसबाट आत्मविश्वास बढ्छ । अनगिन्ती अवसर हामीलाई पर्खेर बसिरहेका हुन्छन् । प्राप्त अवसर सदुपयोग गर्दै महिलाहरू दृढताका साथ अघि बढ्नुपर्छ ।
स्टार्टअप अहिलेको आवश्यकता हो
गोविन्दप्रसाद ढकाल
प्रमुख कार्यकारी अधिकृत, गरिमा विकास बैंक
यो कार्यक्रमलाई अझै केही वर्ष निरन्तता दिनुपर्छ । स्टार्टअप अहिले नेपालको आवश्यकता हो । पत्रकारिता क्षेत्रबाट यस किसिमको कार्यक्रम हुनु आफैंमा ठूलो उपलब्धि भएको ठान्छु । यसलाई अब सरकार तथा सरोकारवाला निकायले बुझ्न जरुरी छ । यसरी अघि बढ्दा केही परिवर्तन हुन सक्छ भन्नेमा हामी आशावादी छौं । अहिले एउटा समस्या कहाँनिर छ भने स्टार्टअप तथा नवउद्यमी निकै उत्साहका साथ आउनुहुन्छ । तर, उहाँहरू थोरै असफल हुँदा पनि निरुत्साहित बनेर फर्किने प्रवृत्ति छ, यसलाई अन्त्य गर्नुपर्छ । सबै बिजनेश सफल हुँदैनन् । स्टार्टअप भनेको नयाँ भिजन र आइडिया लिएर आउने कुरा हो । नयाँ कुरा आउँदा सबै सफल हुन्छन् भन्ने हुँदैन । यति भन्दैमा असफल भइयो भनेर पछि हट्नुहुँदैन । यसमा बैंक सहयोग गर्न तयार छ । अहिले एउटा बिजनेस ल्याउने तर त्यसलाई दीर्घकालीन नबनाउँदै अर्काे बिजनेशमा हाम फाल्दा पनि समस्या देखिएको छ । बैंक तथा वित्तीय संस्थाका पनि समस्या होलान् । कतिपय कुरा नियामक निकायको निर्देशनमा बसेर काम गर्दा सहयोग नभएको पनि हुन सक्छ । बैंक तथा वित्तीय संस्थाले अप्ठेरो पार्ने नियत राख्दैनन् ।
स्टार्टअप एक लेभल ‘ग्रो’ भएपछि बैंक आउने हो
मनोज ज्ञवाली
नायब महाप्रबन्धक,
नबिल बैंक
स्टार्टअप के हो भन्ने विषयमा धेरै मानिस स्पष्ट नभएको अवस्थामा यो कार्यक्रमले यसबारे सचेतना जगाइदिएको छ । यो कार्यक्रमले मानिसलाई स्टार्टअपका विषयमा झक्झकाउने काम गरेको छ । स्टार्टअपमा जोखिम जहिले पनि हुन्छ भने इनोभेसन जोखिम हो । यसमा बैंक तथा वित्तीय संस्थाभन्दा पनि नीतिगत रूपमा सरकारले सघाउनुपर्छ । अर्काेपल्ट कार्यक्रम गर्दा असफल भएका स्टार्टअप तथा तिनका कथाहरू पनि समावेश गरिनुपर्छ । असफल भएकालाई पनि ल्याउँदा त्यसमा सरकार, बैंक तथा वित्तीय क्षेत्र कसले सहयोग गर्न सक्छन् भन्ने विषयमा जानकारी हुन्छ । स्टार्टअपलाई बैंक तथा वित्तीय क्षेत्रले कर्जा प्रवाह गरेका छैनन् । किनभने, स्टार्टअपमा जोखिम छ, बैंकमा बसेर बिजनेस रिक्स लिन सकिँदैन । अन्तर्राष्ट्रिय अभ्यासमा पनि एन्जल इन्भेस्टर, रियल इन्भेस्टर, प्राइभेट इक्विटी इन्भेस्टरहरू स्टार्टअपमा सामेल भएका हुन्छन् । जोखिम भएका क्षेत्रमा लगानीकर्ताले लगानी गर्ने हो, फाइनान्सियल क्षेत्रले होइन । बैंकिङले सहयोग गरेर स्टार्टअप सफल भएको छैन । फाइनान्स क्षेत्रले एक लेभल माथि आएपछि मात्रै कर्जा दिने हो । सुरुमा एञ्जल, भेञ्चर क्यापिटल आउनुपर्छ । दोस्रो चरणमा मात्रै बैंकले सहयोग गर्ने हो ।
कार्यक्रमले स्टार्टअप व्यवसायमा लाग्न प्रोत्साहन
ईश्वर गुरुङ
प्रमुख, एसएमई डिपार्टमेन्ट, कुमारी बैंक लिमिटेड
‘न्यूबिज स्टार्टअप
समिट एण्ड अवार्डस’ कार्यक्रमको प्रमुख प्रायोजक बन्न पाउँदा हामीलाई धेरै खुशी लागेको छ । अहिले स्टार्टअप बिजनेशलाई प्रोत्साहन गर्नेगरी राज्यले नीति लिइरहेको छ । बैंकहरूले समेत सोही अनुसार कर्जा प्रवाह गर्नुपर्ने अवस्था छ । तर स्टार्टअपबारे धेरैले बुझिरहनुभएको छैन । त्यसबारे बुझाउन पनि यस्तो खालको कार्यक्रम महŒवपूर्ण भएकाले कुमारी बैंकले यो कार्यक्रमलाई मुख्य प्रायोजन गरेको हो । गत शुक्रवार सम्पन्न अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी थियो । यसले नवउद्यमीहरूलाई स्टार्टअप व्यवसायमा लाग्न ठूलो प्रोत्साहन मिल्नेछ । स्टार्टअप बिजनेश गर्दा पैसा वा आइडिया मात्रै भएर नहुने प्रशिक्षकहरूको प्रस्तुतिबाट देखियो । खासगरी पूँजीको कसरी जोहो गर्ने र आइडियालाई कसरी प्रयोग गर्ने भन्नेबारे प्रशिक्षकहरूले खुलस्त पार्नुभएको छ । त्यसकारण पनि यो कार्यक्रम आफ्नो उद्देश्य पूर्तिमा सफल भएको छ ।
निर्यातमूलक स्टार्टअपलाई सरकारले प्राथमिकता दिनुपर्छ
अशोकमान कपाली, हिमालयन लस इन्डष्ट्रिज, झापा
इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश १
यस कार्यक्रमले हामीलाई व्यावसायिक रूपमा अगाडि बढ्न हौसला गरेको छ । हामीले झापामा सुपारीको पातबाट प्लेट बनाउने काम गर्दै आएका छौं । हामीले आफ्नो उत्पादन निर्यात समेत गर्दै आएका छौं । अब स्टार्टअप व्यवसाय प्रवद्र्धन गर्न निर्यातमूलक कम्पनीलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।
नयाँ स्टार्टअप उद्यमीका लागि जानकारीमूलक
आशिष शाह
नमस्ते रिसाइकल ट्रेडर्स, जनकपुर
इमर्जिङ स्टार्टअप कम्पनी, प्रदेश २
पछिल्लो समय स्टार्टअप उद्यममा धेरैजना आएका छन् । आउन खोजेका पनि छन् । तर, उनीहरूलाई यस सम्बन्धमा सरकारी नीति लगायत विषयमा जानकारी छैन । यस अवस्थामा यो कार्यक्रम उनीहरूका लागि जानकारीमूलक भएको छ । साथै, प्रेरणादायी पनि रह्यो । म पनि यस कार्यक्रमबाट थप प्रोत्साहित भएको छु । साथै, इमर्जिङ स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुदाँ खुशी पनि लागेको छ ।
स्टार्टअपले इकोसिस्टमलाई उजागर गरेको छ
अजय पाण्डे
आइटी म्यानेजर, ग्लोकल प्रालि
इमर्जिङ स्टार्टअप, बागमती प्रदेश
उदाउँदो स्टार्टअपको अवार्ड पाउँदा निकै उत्साहित छौं । अर्काेतर्फ यो अवार्डले आफूले गरिरहेको क्षेत्रमा काम गर्न थप हौसला मिलेको अनुभूति गराएको छ । हामीले गरिरहेको कामलाई न्यु बिजनेशको कार्यक्रमले सम्मान गर्दा उत्साहित छौं । स्टार्टअप आइडियाले सम्मान पाएको छ । ग्लोकल प्रालिले २०१५ देखि समाजमा सकारात्मक काम गर्नेलाई सम्मान गर्दै आएको छ भने भारत र श्रीलंकामा फ्रेन्चाइज बेच्ने हामी पहिलो नेपाली स्टार्टअप कम्पनी हौं । कार्यक्रममा आउनुभएका सरकारी तथा निजीक्षेत्रका जिम्मेवार पदाधिकारीले उठान गरेका विषयले नेपालमा स्टार्टअपले इकोसिस्टमलाई उजागर र प्राथमिकता दिएजस्तो देखिएको छ । सरकारबाट व्यक्त विचार निकै राम्रा भए पनि कार्यान्वयनमा सधैं समस्या देखिन्छन् । अहिले भएका नीति नियमबाट जसले फण्ड जुटाउन सक्दैन, काठमाडौंमा आएर केही गर्न खोज्नेलाई निकै गाह्रो छ । केही राम्रो भइरहे पनि यो सुस्त गतिमा छ । यसलाई तीव्रताका साथ अघि बढाउन लाग्नुपर्छ ।
स्टार्टअपलाई प्रोत्साहन मिलेको छ
निराजन घिमिरे
एक कल होम सोलुसन्स प्रालि
इमर्जिङ स्टार्टअप, गण्डकी प्रदेश
यो कार्यक्रमले स्टार्टअपलाई प्रोत्साहन मिलेको छ । प्रोत्साहनले थप काम गर्न ऊर्जा दिएको छ । स्थानीय तहमा काम गर्दा निकै चुनौती सामना गर्नुपर्छ । अहिले पनि धेरै स्टार्टअप बाहिर नदेखिएका होलान् । यस्ता कार्यक्रमले तिनलाई पनि थप प्रेरणा मिलेको हुनुपर्छ । काम गरेपछि केही सफलता मिल्छ भन्ने सन्देश यो कार्यक्रमबाट जान्छ । स्टार्टअप बिजनेस सुरु गर्दा कानुनी अड्चन धेरै सामना गर्नुपर्छ । अहिले श्रम कानुनअनुसार भएको व्यवस्थाले केही समस्या पारेको छ ।
सिक्ने अवसर पनि भयो
रमेश क्षेत्री, निन्जा इन्फोसिस प्रालि, नेपालगञ्ज
इमर्जिङ स्टार्टअप कम्पनी, लुम्बिनी प्रदेश
यो कार्यक्रमबाट सम्मान हुन पाउँदा उत्साह र प्रेरणा पनि मिलेको छ । हामीे शुरुआती चरणको उद्यमी हौं । हामीलाई उद्यमशीलताको विषयमा धेरै जानकारी पनि थिएन । यहाँ आएर यससम्बन्धी धेरै सिक्ने अवसर मिल्यो । अब अझै बलियो भएर अगाडि बढ्ने आँट आएको छ ।
कार्यक्रमले विषयगत ज्ञान बढाइदिएको छ
चन्द्रबहादुर खड्का, ज्वाला कृषि तथा पशुपालन उद्योग,
दैलेख इमर्जिङ स्टार्टअप कम्पनी, कर्णाली प्रदेश
हामी मुलुकको संघीय राजधानीभन्दा धेरै टाढा आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छौं । हामीलाई व्यवसायको बजारीकरण कसरी गर्ने भन्ने विषयमा पर्याप्त ज्ञान थिएन । यस कार्यक्रमले हाम्रो व्यावसायिक क्षमता बढाएको छ । साथै, सम्मानित हुन पाउँदा व्यवसायमा अझै सफल रूपमा अघि बढ्न आत्मविश्वास पनि मिलेको छ ।
टिम नै निकै उत्साहित छ
चन्द्रप्रकाश साउद, फारवेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर
इमर्जिङ स्टार्टअप, सुदूरपश्चिम प्रदेश
इमर्जिङ स्टार्टअपको रूपमा पुरस्कृत हुँदा टिम नै निकै उत्साहित छ । हाम्रो आइडिया र इनोभेसन देशलाई परिवर्तन गर्न एक चरण माथि उठ्न सफल भएको ठान्छु । २०७६ साउनदेखि बिजनेस शुरू गरेका हौं । हाम्रो समूह चार जनाको छ । हामीले अहिले बिजनेशका साथै ई–गभर्नेन्समा अनुसन्धान र डिजिटल साक्षरता लक्षित कार्यक्रम गरिरहेका छौं । केन्द्रमा हाइटेक प्रविधि छ । हामी आफ्नो ठाउँमा ग्रामीण क्षेत्रमा प्रविधिको भरपूर प्रयोग गर्दै छौं । आइटी कम्पनी भएकाले यसमा ६ लाख रुपैयाँ लगानी गरेका छौं । प्रविधि र डिजिटल साक्षरतामा पछि परेको सुदूरपश्चिम प्रदेशको धनगढीबाट हाम्रो प्रतिनिधित्व भएको हो । हामीले त्यहाँ प्रविधिको विकासलाई नै प्राथमिकता दिएका छौं । इन्टरनेटको पहुँच नभएका २ स्थानमा निःशुल्क इन्टरनेट जोडिएको छ । स्थानीय तहका पदाधिकारीसँगको सहकार्यमा डिजिटल साक्षरताका विषयमा पनि काम गरिरहेका छौं । कर्मचारीलाई साइबर अपराध र डिजिटल साक्षरताका विषयमा तालिम दियौं । कम्पनीले सफ्टवेयर विकास र खासगरी ग्रामीण क्षेत्रलाई लक्षित गरेर प्रविधिको सहज पहुँच पु¥याएर स्थानीय बजारमा यसको प्रयोगका विषयमा सचेतना जगाउने काम गर्छ ।
जिम्मेवारी बढेको छ
विनय खड्का
सीईओ, जानकी टेक्नोलोजी (खल्ती) स्टार्टअप सक्सेस सम्मानप्राप्त कम्पनी
कार्यक्रमबाट सफल स्टार्टअप कम्पनीको रूपमा सम्मानित हुँदा खुशी लागेको छ । यसका लागि आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्दछौं । यो सम्मानले हामीलाई उत्साहसँगै कम्पनीलाई राम्रो बनाउने जिम्मेवारी पनि बढेको महसूस भएको छ । स्टार्टअप व्यवसायको क्षेत्रमा हामी पनि युनिकर्न बन्न चाहन्छौं । सोहीअनुसार हामी अगाडि बढ्छौं ।