काठमाडौं (अस) । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकका लागि अनलाइनमार्फत खरिदमा नगद फिर्ता योजना ल्याएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकै बेला ग्राहकलाई लाभ दिन यो योजना ल्याइएको बैंकले जनाएको छ ।
योजनाअन्तर्गत घरमै बसेर सस्तोडिल, ग्यापु, इन्फी, खानपिन फुड्स एन्ड टुर्स, रिचार्जरजस्ता विभिन्न अनलाइनमार्फत ०७८ वैशाख ३१ सम्म अत्यावश्यक सामग्री खरिद गर्दा बैंकका ग्राहकले १५ प्रतिशत वा अधिकतम रु. ५०० सम्म नगद फिर्ता पाउनेछन् ।
कोरोना भाइरसको महामारीकाकारण असहज परिस्थिति सिर्जना भएका बेला ग्राहकको किनमेल सहज बनाउने उद्देश्यले यो योजना ल्याइएको बैंकले बताएको छ । डिजिटल कारोबारमा ग्राहकलाई प्रोत्साहन गर्न ई–कमर्स कम्पनीबाट सामग्री खरिद गर्दा नगद फिर्ता योजना ल्याइएको हो । यसका लागि ग्राहकले बैंकको कार्डमार्फत ई–कमर्स तथा पीओएस भुक्तानी एवं मोबाइल बैंकिङ प्रयोगकर्ताले क्यूआर भुक्तानी गरी योजनामा सहभागी हुन सक्नेछन् ।
आफ्नो कार्डमा ई–कमर्स भुक्तानी सुविधा नलिएका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको वेबसाइट तथा मोबाइल बैंकिङ एपमा रहेको आइसर्भमार्फत सहज रूपमा आफ्नो कार्डमा ई–कमर्स सुचारु गरी योजनाको फाइदा लिन सक्ने बैंकले जानकारी दिएको छ ।