१० औं राष्ट्रिय कर दिवसमा चन्द्रपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया

मंसिर ७, रौतहट । स्वेच्छिक करमा सहभागितामा अभिवृद्धि : सुशासन, विकास र समृद्धि नाराको साथ चन्द्रनिगाहपुरमा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।  १० औं राष्ट्रिय कर दिवसको उपलक्ष्यमा करदाता सेवा कार्यालय चन्द्रपुरको आयोजना तथा चन्द्रपुर नगर उद्योग बाणिज्य संघको सहआयोजनामा कार्यक्रम भएको हो । आन्तरिक राजस्व कार्यालय सिमराका प्रमुख कर अधिकृत नारायण प्रसाद भण्डारीले व्यवसायीहरुलाई करका बारेमा प्रकाश पार्दै समस्याका समाधानका बारेमा प्रशिक्षण दिएका थिए ।  उनले कारोबारको लेखा कसरी राख्ने, बिल, बिजक कसरी जारी गर्ने, कति कारोबार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका साना तथा ठूला करदाता उद्योगी व्यवसायीहरुले करका बारेमा विभिन्न किसिमका जिज्ञासा राखेका थिए । चन्द्रपुर नगर उद्योग वाणिज्य संघका महासचिव सुनिल साहले यस्ता कार्यक्रम आयोजनाले व्यवसायीहरुले विभिन्न कर छूट तथा परिवर्तित कर प्रणालीलगायतको विषयमा ज्ञान हासिल गर्न सहयोग पुग्ने बताए । आगामी दिनमा व्यवसायीको मागलाई ध्यानमा राखी व्यवसायीलाई फाईदा पुग्ने किसिमका विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने पनि बताए ।