नेपाल–यूएई श्रम समझदारी : नेपालको जोड श्रममैत्री वातावरण, यूएईको चासो घरेलु कामदार

काठमाडौं । चार वर्षपछि नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीच श्रम समझदारी नवीकरण गर्ने सहमति भएको छ । बुधवार काठमाडौंमा दुई देशका अधिकारीबीच यस्तो सहमति भएको हो । बुधवार नै चार वर्षअघि भएको श्रम समझदारीको अवधि सकिएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहायक प्रवक्ता तथा उपसचिव कविराज उप्रेतीका अनुसार यसअघि भएका समझदारीलाई आगामी ४ वर्षका लागि नवीकरण गर्ने सहमति भएको छ । बैठकमा नेपालले स्वच्छ तथा मर्यादित भर्ना प्रक्रियामा जोड दिएको छ भने यूएईले घरेलु कामदार खुलाउन आग्रह गरेको छ । आगामी दिनमा दुवै मुलुकबीच हुने संयुक्त कार्यसमितिको बैठकमा उक्त विषयमा छलफल गरी टुंगोमा पुगिने बताइएको छ । बैठकमा नेपालले यूएई जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाताले बेहोर्नुपर्ने विषय समेत उठाएको थियो । हाल उक्त मुलुक जाँदा लाग्ने सम्पूर्ण खर्च श्रमिकले बेहोर्दै आएका छन् ।  त्यसैगरी रोजगारदाताको कमीकमजोरीका कारण कामदार बेरोजगार हुनुपर्ने अवस्था आएमा कामदारले वैकल्पिक रोजगारीको खोजी गर्न सक्ने विषयमा छलफल भएको छ । अन्य विदेशी श्रमिकसरह नेपाली श्रमिकलाई समान व्यवहार, महिला श्रमिकका लागि श्रमिक कल्याण र सुरक्षाका विशेष उपायको सुनिश्चितता, व्यक्तिगत परिचयसम्बन्धी कागजात श्रमिकले साथमा राख्न पाउने तथा श्रमिक र रोजगारदाताबीच विवाद उत्पन्न भई अदालतमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा कामदारलाई कुनै लागत वा शुल्क नलाग्ने गरी कानूनी उपचारको प्रत्याभूति हुनुपर्ने विषय समेत नेपालले उठाएको छ ।  बैठकमा सहभागी अधिकारीहरूले यसपटक पनि यूएईले घरेलु श्रमिक पठाउन आग्रह गरेको बताए । यूएईको त्यस्तो मागबारे सरकारको उच्च तहमा छलफल गरी कूटनीतिक माध्यमबाट जानकारी दिने बताइएको छ । स्वदेशमा रोजगारीका अवसर नहुँदा पछिल्लो समयमा वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ । केही वर्षदेखि यूएई पनि नेपालको प्रमुख रोजगार गन्तव्यको रूपमा रहेको छ ।