पशुजन्य उत्पादनमा नेपाल आत्मनिर्भर, मल कारखाना खोल्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । सरकारले दूध, बटर (घ्यू), अण्डा र मासुमा नेपाल आत्मनिर्भर भएको घोषणा गरेको छ । सरकारले आज विशेष कार्यक्रम गरी यी वस्तुहरुमा आत्मनिर्भर भएको जनाएको हो । पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा हुँदा देशलाई अगाडि बढाउन सफल भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभयो । हरेक दिन नयाँ उपलब्धी हासिल गर्दै नयाँ उचाइ लिएर अगाडि बढिरहेको पनि प्रधानमन्त्री ओलीले दाबी गर्नुभयो । यद्यपी सरकारले पशुजन्य वस्तुमा आत्मनिर्भर भएको घोषणा गरेपनि तथ्यांकले भने नेपालमा अझै पनि सोही प्रकृतिका वस्तु आयात भइरहेको देखाएको छ । भन्सार तथ्यांकअनुसार १ अर्ब ३३ करोड १८ लाखको दूध र अण्डा आयात भएको छ । एक करोड ८५ लाखको मासु आयात भएको छ । यी वस्तुहरुको निर्यात भने नगन्य अवस्थामा छ। साथै कुखुरा तथा गाईभैँसीलाई आवश्यक पर्ने दाना (आहार) समेत नेपालमा उत्पादनभन्दा आयात नै धेरै हुने गरेको छ । मल कारखाना खोल्ने प्रतिवद्धता प्रधानमन्त्री ओलीले नेपालमा रासायनिक मल कारखाना खोल्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री ओलीले अब नेपालमा मल कारखाना पनि खोल्ने भन्दै विद्युतबाट सञ्चालन हुने मल कारखाना खोल्ने सम्बन्धमा छलफल भइरहेको जानकारी दिनुभयो । कृषि मन्त्रालयले मल उत्पादनका लागि किसानहरुलाई तालिम दिन जरुरी रहेको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपालमै मल कारखाना खोल्ने र एउटा सबभन्दा हामीलाई सजिलो हुने कुरा विद्युतबाट मल कारखाना, यस सम्बन्धमा छलफल भइरहेको छ। हामी महंगो पर्छ भने पनि केही छैन, एउटा प्रोजेक्ट नै डेडिकेटेड गरीदिन सक्छौँ मल कारखानाका लागि । प्रोजेक्ट नै डेडिकेटेड गरिदिएपछि त्यसमा नाफा, नोक्सान भन्नेकुरा भएन त्यो प्रोजेक्ट सञ्चालन गरेर मल कारखानाको लागि खपत गर्ने हो। कृषि मन्त्रालयले मल उत्पादन तर्फपनि किसानहरुलाई तालिम दिन जरुरी छ ।’