वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको रजत महोत्सव : विद्युतीय गाडीको भन्सार घटाउने ऊर्जामन्त्री घोषणा

काठमाडौं (अस) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सवारीसाधनको भन्सार शुल्क घटाउने बताएकी छिन् । विद्युतीय सवारीको भन्सार शुल्क घटाउनेगरी छलफल भइरहेको उनको भनाइ छ । मंगलवार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । ‘यसबापतको भन्सार शुल्कबाट पनि सरकारलाई फाइदा हुन्छ । तर, त्यसबाट भन्दा पनि विद्युतीय सवारीसाधनको प्रयोग बढाएर विद्युत् खपत बढाउँदा र पेट्रोलियम गाडी विस्थापित गर्दा बढी फाइदा हुने देखियो,’ उनले भनिन्, ‘त्यसैले विद्युतीय गाडीको भन्सार शुल्क घटाउनुपर्छ । साथै, पेट्रोलियम गाडीलाई पनि विस्थापित गर्नुपर्छ ।’ मन्त्री भुसालले खाना पकाउने एलपी ग्यासलाई पनि पूर्णरूपमा विस्थापित गर्नुपर्ने बताएकी छिन् । ‘जहाँ ऊर्जा प्रयोग हुन्छ, ती सबै ठाउँमा विद्युत्को प्रयोग हुनुपर्छ,’ उनले भनिन्, ‘त्यसका लागि पहिलो चरणमा भान्साबाट एलपी ग्यास विस्थापित गरेर इन्डक्सन चूलो राख्नुपर्छ ।’ मन्त्री भुसालले सिँचाइमा विद्युत् निःशुल्क गरिने उद्घोष समेत गरेकी छिन् । २ वर्षभित्र सबै नेपालीको घरमा विद्युत् सुविधा पुर्‍याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ । केन्द्रीय प्रसारण लाइन पुग्न नसक्ने स्थानमा वैकल्पिक ऊर्जाको माध्यमबाट विद्युत् सुविधा प्रदान गरी आधुनिक ऊर्जाको पहुँचबाट कोही पनि नागरिक वञ्चित हुनु नपर्ने बताइन् । ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले वैकल्पिक ऊर्जाको माध्यमबाट देशका दुर्गम भेगमा बसोवास गर्ने जनतालाई ऊर्जा प्रदान गर्न सकिएको बताए । नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले नेपालले नवीकरणीय ऊर्जाका विकास र प्रवद्र्धनमा उल्लेख्य प्रगति हासिल गरेको बताइन् । केन्द्रका कार्यकारी निर्देशक डा. मधुसूदन अधिकारीले केन्द्रमार्फत २५ वर्षको अवधिमा नवीकरणीय ऊर्जा प्रविधिमार्फत करीब ३५ लाख घरधुरीका बासिन्दा लाभान्वित भएको जानकारी दिए । नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नेपालमा वैकल्पिक ऊर्जाको विकास र विस्तारमा निजीक्षेत्रको ठूलो योगदान रहेको बताए ।