नेपाली परम्परागत खाजा : जुन यात्राको समयमा बोकेर जान सकिन्छ

यात्रा मानवबस्ती भएको ठाउँमा वा पूरा प्राकृतिक क्षेत्रमा पनि हुन सक्छ । हिँड्‍दै जाँदा खाजा खाने ठाउँ नै भेटियो भने पनि आफूले भने अनुकूलको खाना खान पाइँदैन । यस्तो अवस्थामा आफूले खाजा बोकेर लैजानु नै उपयुक्त हुन्छ । तर खाजा के लैजाने ? छोटो तथा लामो यात्रामा निस्कँदा धेरै दिनसम्म नबिग्रने खानेकुरा के बोकेर जानु पर्ने […]

सम्बन्धित सामग्री

समनको यात्रा संस्मरण : रुबी भ्याली साइक्लिङमा जे देखें...

बिहानको ७ बजे केही खानेकुरा र अत्यावश्यक औषधी झोलामा राखेर काठमाडौंबाट शुरू भएको यात्रा १०५ किमीको साइक्लिङपछि रसुवाको धुन्चे पुगियो ।  बेलाबेला बाटोकै वरपर रूखको छहारीमा विश्रामबाहेक दिनभरको यात्राको थकाइले गलेको र पसिनाले भिजेको शरीरलाई त्यस दिन धुन्चेमै आराम दिने निर्णय लिएँ ।  कतै बाइरोड त कतै अफरोड, त्यो यात्रा रोमाञ्चक थियो । फागुन महीना भएकाले पसिनाचाहिँ आएको थियो । म पहिलो पटक साइक्लिङ गएको भने थिएनँ । यद्यपि धेरै स्थानमा घुम्न गएको छु । रुबी भ्यालीमा अन्नपूर्ण ट्रेलमा जस्तो बस्दै–खाँदै हिँड्न भने नपाइने रहेछ । त्यसैले त्यो यात्रामा यस अगाडिको भन्दा भिन्न अनुभव रह्यो ।   नाम बाहुन डाँडा, बस्ती तामाङको    भोलिपल्टको यात्रा सोमदाङको थियो । सोही अनुसार बिहान सबेरै उठेर यात्रा शुरू भयो । धुन्चेबाट अगाडि बढ्दा ठूलो बजार भनेको स्याप्रुबेसी हो । यो आफैमा एउटा व्यापारिक ‘हब’ रहेछ । त्यो नै मेरो गन्तव्य रूबी भ्यालीको शुरूआती बिन्दु थियो । त्यहाँबाट दायाँ लाग्दा लाङटाङ र सिधा अगाडि बढ्दा चाइना बोर्डर पुगिन्छ । बायाँतर्फ हिँडे बाहुन डाँडा पुगिन्छ । चिलिमे हाइड्रोपावर जान पनि यहीबाट लाग्नुपर्छ ।  बाहुन डाँडा (बायाँ)। र, त्यहाँस्थित पसलमा रहेका 'बालक साहुजी' । स्याप्रुबेसीबाट अगाडि बढ्दा आउने एउटा सानो गाउँ हो बाहुन डाँडा । उक्त गाउँमा ‘बाहुन’ बस्छन् जस्तो कतिपयलाई लाग्न सक्छ । तर, त्यहाँ त्यस्तो छैन । त्यहाँ तामाङ जातिको बसोबास छ । त्यहाँ केही सामान्य होटल छन् । . बाहुन डाँडा पर्यटकीय हब भएकाले प्रशस्त विदेशी पर्यटक पनि आउने रहेछन् । जसमध्ये ९५ प्रतिशत पर्यटक भने लामटाङतर्फ जाने रहेछन् । म भने सोमनाङतर्फ मोडिएँ ।  गत्लाङ (बायाँ)। र, गत्लाङ पुग्नुअघिको देखिएको दृश्य ।  त्यहाँबाट गत्लाङ हुँदै अगाडि बढ्दा बीचमा पार्वती कुण्ड पर्छ । यो करिब २ हजार ५०० मिटरमा अवस्थित छ । झट्ट हेर्दा रारा तालजस्तै लाग्ने उक्त कुण्डमा अधिकांश मानिस जनैपूर्णिमामा मात्रै पुग्ने स्थानीयले बताए । त्यहाँबाट करिब १ हजार २५० मिटर माथि जाँदा पाङसाङ पास पुगिन्छ । त्यहाँबाट भने लहरै हिमालको दृष्य देखिँदो रहेछ ।  पार्वती कुण्ड (बायाँ)। र, नुहाउने स्थान ।  पार्वती कुण्डमा केहीबेर समय बिताएपछि यात्रा अगाडि बढ्यो । बीचमा पानी पर्यो, असिनाले चुट्यो । त्यहाँ लामो समयदेखि हिउँ नपरेको रहेनछ । त्यस दिन भने मज्जैले पर्‍यो । सोमदाङ पुग्न करिब ४ घण्टाको यात्रा तय गर्नुपर्ने थियो । समय धेरै घर्किसकेको थियो ।  धुन्चेदेखि करिव ५० किमीको १० घण्टे उकालो साइकल यात्रापछि सोमदाङ पुगिँदो रहेछ । सोमदाङबाट उकालो बढी रहेछ । यो सानो बजार हो । त्यहाँको बसाई विस्मृत बन्यो मेरा लागि । किनकि त्यो गाउँभरिमा त्यस दिन म मात्रै एउटा अतिथि थिएँ । गाउँभरिका मान्छे काम, अध्ययन लगायतका कारण अन्य स्थानमा बस्ने भएकाले त्यहाँ मुस्किलले १० जना मानिस थिए होलान् ।  भञ्याङ पर्ने भएकाले त्यहाँ पुग्न केही समस्या छ । ट्रेकिङ खासै नफस्टाएकाले त्यहाँ चहलपहल छैन ।   सोमदाङ पुग्दा अति नै ढिलो भइसकेको थियो । यताउता कोही नदेखेपछि ‘कोही छ’ भन्दै चर्को स्वरले चिच्याएँ । एक–दुई घरमा त ढोका ढकढक गरें । कोही आएनन् । बाहिर हेर्दा डसना सुकाएको देखें । त्यसैले त्यहीं रात कटाउने निधो गरें । मान्छे देखिएनन्, कुकुरहरू भने झम्टिनै आए । सोमदाङ (बायाँ)। र, त्यहाँको होटलमा खाएको खाना ।  त्यसपछि २ जना महिला ‘को हो’ भन्दै आउनुभयो । मैले होटल चाहिएको बताएपछि उहाँहरूले केही तल एउटा होटल रहेको र आफूले खबर गरिदिने बताउनुभयो ।   त्यहाँ एउटा सामान्य होटलमा बस्ने व्यवस्था भयो । पर्यटक नआउने भएर होला, होटल भनिएजस्तो थिएन । बास बसेको होटलको सुतेकाे काेठा (बायाँ)। र,भान्सा कोठा ।  होटलमा पनि साहुनी मात्रै बस्नुहुँदो रहेछ । उहाँले आफ्नो लागि बनाउनुभएको खाना दुई जनाले बाँडेर खायौं ।  गाउँमा एक्लै किन भन्ने मेरो जिज्ञासा थियो । यसबारे बुझ्दा उहाँको श्रीमान काठमाडौंतिर र छोराछोरी शहरमा पढ्ने रहेछन् । त्यहाँ नेटवर्कसमेत छैन । तर, पुरानै प्रविधिको वायरलेस फोन चल्ने रहेछ । त्यसैबाट ममीलाई फोन गरें ।  त्यहाँको आम्दानीको स्रोत भनेको पर्यटक र यार्चा रहेछ । उहाँ (होटलकी साहुनी)ले वैशाखमा आउनू, यार्चा टिप्न जाउँला भन्नुभयो । मैले पनि हुन्छ भनें ।  रुबी भ्यालीमा पर्ने भएकाले सोमदाङमा आर्थिक उपार्जनको अर्को वस्तु रूबी रहेछ । त्यहाँ यसको उत्खनन् पनि गरिँदो रहेछ । यसबारे मलाई खासै जानकारी भने दिएइन । यार्चा भने एजेन्टले प्रतिगोटा सय रूपैयाँमा खरीद गर्ने रहेछन् । यहाँ सुदूरका जिल्लामा जस्तो सिन्डिकेट भने रहेनछ ।  सोमदाङबाट बिहान ८ बजे मेरो यात्रा पाङसाङ हुँदै तिप्लिङतर्फ शुरू भयो । बाटैभरि हिउँ परेको थियो । बाटोमा याकसँग तस्वीर खिच्दै अगाडि बढें । सोमदाङमा परेको हिउँ (बायाँ) र पाङसाङतर्फको बाटोमा भेटिएको याक ।  पाङसाङमा एउटा राम्रो पेन्टिङ देखें, त्यसले मलाई आकर्षित गर्याे । त्यो पेन्टिङ बनाउने कलाकारसँग पनि भेट्ने मौका मिल्यो । ती स्थानीय कलाकार रहेछन् ।  पाङसाङमा रहेको पेन्टिङ । केही समयको यात्रापछि म तिप्ल्याङ पुगें । त्यहाँका अधिकांश मानिस क्रिस्चियन रहेछन् । डाँडाबाट देखिएको तिप्लिङको दृश्य ।  धर्मका बारेमा खासै चासो नराख्ने मलाई यत्रतत्र गुम्बा नै गुम्बा र बौद्धमार्गी भएको गाउँ कसरी क्रिस्चियन बन्यो होला भन्ने लाग्यो । यस्तो लाग्नु स्वभाविक नै हो । स्थानीयहरू क्रिस्चियन भएपछि ‘रोग हटेको’ विश्वास गर्दा रहेछन् ।  त्यहाँ खाजा खाएपछि मेरो गन्तव्य धादिङबेसीको थियो । त्यसदिन मेरो बसाई झार्लाङ भन्ने स्थानमा भयो । सामान्य किराना पसल जस्तो पसलमा बस्ने निधो गरें ।  झार्लाङमा भेटिएका फ्रान्सेली गोठालो  यात्राकै क्रममा फ्रान्सका एक नागरिक भेटिए । टम नाम गरेका ती व्यक्ति नक्साको भरमा यात्रा गर्दा रहेछन् ।   चिया पिउन होटलमा राेकिएका फ्रान्सेली नागरिक टम र चिया दिँदै हाेटल साहुनी ।   उनी नेपालमा पहिलोपटक भने आएका थिएनन् । १० वर्षअघि पनि आएका थिए । उनले नेपालका धेरै ठाउँ घुमिसकेका छन् । मेरो हिँडाइ देखेर उनले मलाई पनि विदेशी नै सोचेका रहेछन् । मैले आफू नेपाली हो भनेपछि उनी अचम्म परे । केही बेर कुराकानी गरेपछि उनी गाई फर्ममा काम गर्नै रहेछन् भन्ने थाहा भयो । साथै उनी हरेक वर्ष कुनै न कुनै देशको भ्रमणमा निस्कने रहेछन् भन्ने पनि जानकारी भयो ।  उनको यात्रा मेरोजस्तो हतारको थिएन । न उनको यात्राको निश्चित गन्तव्य नै । उनी हरेक दिन छोटो दूरी तय गर्छन् । र, फरक–फरक पहाड उक्लिन्छन् । मोबाइलसमेत नबोक्ने उनी सामाजिक सञ्जालमा समेत सक्रिय छैनन् । उनी सामाजिक सञ्जालमा आफ्ना तस्वीर पोस्ट गर्नसमेत मनपराउँदैनन् । यही भएर होला, सामाजिक सञ्जालमा पोस्ट नगर्ने सर्त राखेर उनले आफूसँग तस्वीर खिँच्ने अनुमति दिए ।  झार्लाङ नजिकै दक्षिण एसियाकै ठूलो दाबी गरिएको पहिरो छ । त्यो छुटाउने कुरै भएन । भोलिपल्ट त्यही रूटतर्फ लागें ।  प्रहरी पनि नजाने ‘रि’ गाउँ त्यसको पारिपट्टि ‘रि’ गाउँ छ । यहाँको कहानी भने अनौठो छ । झार्लाङका स्थानीयले सुनाए अनुसार ठाउँमा काटमार अत्यधिक हुने भएकाले बाहिरका मानिस जान डराउँछन् । भौगोलिक हिसाबले पनि त्यहाँ जान निकै अप्ठेरो रहेछ । यतिसम्म कि त्यहाँ प्रहरी पनि नजाने गरेको स्थानीयले सुनाए । त्यसैले स्थानीयले मलाई त्यहाँ नजान सुझाए ।  करिब ५ घण्टाको साइकल यात्रापछि म धादिङबेसी आइपुगें । मलाई भोलिपल्टको कार्यालय भेट्टाउनुपर्ने भएकाले गल्छीदेखि बसको यात्रा हुँदै काठमाडौं फर्किएँ ।