नीति अस्पष्टताले विद्युत् विकासमा अन्योल

सरकारले भारतमा विद्युत् निर्यात हुनसक्ने सम्भावनालाई सधैं उच्च सफलता भनी चित्रण गर्ने गरेको छ । तर, यतिखेर भारतले नेपाली लगानीको परियोजनामा पनि कुनै तरीकाले अन्य देशको संलग्नता भेट्टाउन सकिन्छ कि भनेर सूक्ष्म अध्ययन गर्न थालेको छ । जसले निर्यातमा केही व्यवधान सृजना हुने संकेत देखाएको छ । यस्तो अवस्थापछि नेपालले जलविद्युत्को खपतका लागि आन्तरिक बजारमा ध्यान बढाउन जरुरी छ भन्ने कुरा स्पष्ट हुँदै गएको छ । आजको दिनसम्म नेपालमा आवश्यक पर्ने विद्युत् स्वदेशमा उत्पादन हुन सकेको छैन । बेला बेला बत्ती जाने समस्या त सामान्य भइहाल्यो । खपत बढाउने थुप्रै उपाय बाँकी छन् । यूरोप, अमेरिकाको स्तरअनुसार नभए पनि एशियाकै सम्पन्न मुलुकको हाराहारीमा विद्युत् खपत गर्ने अवस्था सृजना गर्दा पनि आन्तरिक रूपमा धेरै नै विद्युत् खपत हुन सक्छ । यसको अर्थ अझै केही वर्ष बाह्य बजार नखोजे पनि केही फरक पर्दैन भन्ने नै हो । तर, नेपालमा भने यस्तो वास्तविकतालाई बेवास्ता गरी सतही रूपमा विद्युत्को निर्यात गर्न पाइने भयो भनेर हल्ला बढी हुने गरेको छ । पक्कै पनि नेपालमा उत्पादित विद्युत् भारत मात्र नभई बंगलादेश, श्रीलंका, थाइल्यान्डलगायत मुलुकसम्म निर्यात गर्न सकिन्छ । तर, अहिले बाह्य निर्यातभन्दा पनि स्वदेशमै पुर्‍याउन थुप्रै काम गर्दा पुग्छ ।  हरेक नेपालीले गुणस्तरीय विद्युत्को उपयोग त्यो बेला गर्न पाउँछन्, जतिबेला साँच्चिकै सरकारले दृढसंकल्प लिएर काम गरेको हुन्छ ।  पछिल्लो समय निजीक्षेत्रको प्रवेशले गर्दा यो क्षेत्र केही चलायमान भएको हो । नेपालमा प्रशस्तै विद्युत् उत्पादन हुँदासम्म बरु नेपालका तर्फबाट कूटनीतिक प्रयास हुनुपर्छ । भारतलाई मनाएर अन्य मुलुकको बजारतर्फ आँखा लगाउनुपर्छ । तर, अहिलेसम्मको नेपालको कूटनीति कुख्यात छ । आफन्तलाई बुढेस कालमा विदेश बसोवासको रहर पूरा गर्ने माध्यम बनेको छ कूटनीतिक नियुक्ति । मुलुकको दीर्घकालीन हित र आवश्यकता हेरेर कूटनीतिज्ञहरूले काम गरेको पाइँदैन । अझ तिनले मुलुकको अर्थतन्त्रसँग प्रत्यक्ष साइनो राख्ने आर्थिक कूटनीतिमा ध्यानै दिएका छैनन् भन्दा हुन्छ । यस्तोमा बिजुली निर्यात गरेर धनी बन्ने सपना देख्नु दिवास्वप्न जस्तो मात्रै बन्ने देखिन्छ । हो, सही रणनीति र कूटनीति हुने हो भने यहाँको बिजुलीले दक्षिण एशियाकै समृद्धिमा ठूलो टेवा दिन सक्ने देखिन्छ ।  निर्यातमा रहेको अन्योलको अवस्थामा मुलुकभित्रै बिजुली खपत बढाउने नीति तीव्रताका साथ अघि बढाउनुपर्छ । घरायसी उपभोगदेखि उद्योग कलकारखानासम्म र यातायातमा समेत बिजुलीको प्रयोग पर्याप्त बढाउन आवश्यक छ र सकिन्छ पनि । उद्योगहरूले नियमित बिजुली नपाएको गुनासो गरिरहेका छन् । अहिले जति विद्युत् भारत निर्यात गरिएको छ त्यति बिजुली त केही उद्योगले यहीँ खपत गर्न सक्छन् । त्यस्तै विद्युत्को महसुल घटाउने हो भने खाना पकाउने ग्यासको प्रतिस्थापन गर्न सकिन्छ । विद्युतीय सवारीसाधनमा सरकारको दोधारे नीति छ । मध्यम वर्गले किन्न सक्ने तथा सार्वजनिक यातायातमा प्रयोग हुने सवारीसाधनमा कर बढाइएको छ । उता सम्पन्न वर्गले चढ्ने महँगो विलासी विद्युतीय कारको भने कर घटाइएको छ ।  जेहोस्, स्वदेशभित्रै ठूलो परिमाणमा बिजुली खपत बढाउन सकिन्छ । त्यो बढाउने खालका नीति बनाइनुपर्छ र त्यसअनुसार पूर्वाधार बनाइनुपर्छ । यतिखेर विद्युत् निर्यातका लागि भन्दा बढी समय स्वदेशमा खपत बढाउनेतिर जोड दिनुपर्छ । ट्रान्समिशन लाइनको विस्तार गर्नुपर्छ । देशैभरि विद्युतीकरण हुनुपर्छ । नेपाली जनताले पर्याप्त र गुणस्तरीय विद्य्त खपत गरेको देखे भने दिल्लीले जस्तो नीति लिए पनि नेपालसँग सिमाना जोडिएका भारतीय नागरिकको नेपालबाट विद्युत् लैजाने माग पूरा गर्न भारत बाध्य हुन्छ । यसका लागि महत्त्वपूर्ण कुरा हरेक नेपालीले गुणस्तरीय विद्युत् उपयोग गरेको भारतीय नागरिकले देख्नुपर्छ । हरेक नेपालीले गुणस्तरीय विद्युत्को उपयोग त्यो बेला गर्न पाउँछन्, जतिबेला साँच्चिकै सरकारले दृढसंकल्प लिएर काम गरेको हुन्छ । त्यसैले यो बेला रोइकराइ गर्नुभन्दा आन्तरिक रूपमा विद्युत् खपत बढाउन कटिबद्ध भएर काम गर्नुपर्छ ।

सम्बन्धित सामग्री

सूचना प्रविधिको विकास र प्रयोग उच्च प्राथमिकतामा : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको बताएकी छन् ।  नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २०औं वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित  समारोहमा उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार भएको उल्लेख गर्दै भनिन्, ‘सरकारको डिजिटल नेपालको अवधारणा कार्यान्वयन गर्न अप्टिकल फाइभर विस्तार गरी सूचना महामार्ग निर्माण गर्ने, मुलुकका सबै क्षेत्रमा दूरसञ्चार सेवाको पहुँच र गुणस्तर वृद्धि गर्नेतर्फ कम्पनीका कार्यक्रम परिलक्षित छन् ।’ उनले टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवालाई नमुना दूरसञ्चार सेवाका रूपमा विकास गर्नका लागि यस वर्ष १९ जिल्लालाई छनोट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार, सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको बताइन् । मन्त्री शर्माले भनिन्, ‘सबै राजमार्गमा पहुँच र गुणस्तरीय सेवा पु¥याउने विषयलाई कार्यक्रममा राखिएको छ । यस वर्षदेखि सस्तो दरमा इन्टरनेटको अन्तरराष्ट्रिय ब्याण्डविथ सेवा खरीद भएको छ ।’  साथै उनले हासिल हुन नसकेको बाँकी उपलब्धिको कारण पहिल्याई कमिकमजोरीमा सुधार गरी थप कार्ययोजना र ऊर्जाका साथ एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरिन् । उनले कम्पनीमा भइराखेका अनुत्पादक खर्च नियन्त्रण गर्न र कम्पनीको हालको अवस्थाअनुसार कम्पनीले आगामी दिनमा लिने पहलमा सुक्ष्म रूपमा अध्ययन गरेर बजारको अवस्था र आगामी दिनमा आइपर्ने कुरालाई ध्यानमा राखी प्रविधि, व्यापार, आर्थिक र सञ्चालन मोडेलबारे दीर्घकालीन व्यावसायिक योजना तयार गर्न आग्रह गरिन् ।  मन्त्री शर्माले भनिन्, ‘समग्र दूरसञ्चारको क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन मन्त्रालयले नीतिगत र प्रशासनिक दुवै खालका काम अघि बढाएको छ । लाइसेन्स खारेज भएका कम्पनीका सम्पत्ति व्यवस्थापन गर्ने कानुन संशोधनदेखि एनसेलको शेयर खरीदविक्री प्रकरणमा छानबिन गरी प्रतिवेदन लिनेलगायतका काम सरकारले गरेको छ ।’  यस वर्ष मात्रै नयाँ फ्रिक्वेन्सी नीति, २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्त्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी कार्यान्वयनमा ल्याएको जानकारी गराउँदै उनले अब जतिसक्दो चाँडो डिजिटलाइजेसनमा जानुपर्ने उल्लेख गरिन् । ‘त्यसका लागि डिजिटल पूर्वाधार अनिवार्य शर्त हो । दूरसञ्चार क्षेत्रको विकासले मात्र डिजिटलाइजेसनमा योगदान दिने भएकाले पनि यसलाई बढी प्राथमिकता दिनुपर्ने अवस्था छ,’ उनले भनिन् ।   दूरसञ्चारको राष्ट्रिय तथा अन्तरराष्ट्रिय व्यावसायिक क्षेत्रमा देखिएका वर्तमान चुनौतीको असर नेपाल टेलिकममा पनि देखा पर्न थालेको बताउँदै मन्त्री शर्माले यस्तो विषम परिस्थितिमा कर्मचारी, शेयर लगानीकर्ता, कम्पनी सबैको हित रक्षा गर्दै कम्पनी सञ्चालन गर्नुपर्ने अवस्था उल्लेख गरिन् । साथै उनले कर्मचारीको सेवा सुरक्षालाई व्यवस्थित गर्न व्यवस्थापनबाट पहलकदमी भएको उल्लेख गर्दै योगदानमा आधारित पेन्सन योजना कार्यान्वयनमा गएको बताइन् ।  कार्यक्रममा मन्त्रालयलका सचिव एवं टेलिकमका अध्यक्ष रामकृष्ण सुवेदीले टेलिकमले राष्ट्र र जनताका लागि पु¥याएको सेवाको सरहाना गर्दै प्रतिपर्धी युगमा आफ्ना सेवा थप गुणस्तरीय  र सुलभ बनाउने चुनौती रहेको बताए । साथै उनले टेलिकमले नाफासँगै सेवालाई पनि थप गुणस्तरीय बनाउँदै लैजानुपर्ने बताउँदै आफ्ना सेवाको विस्तारमार्फत सरकारको डिजिटल नेपालको अवधारणमा सहयोग गर्नुपर्ने उल्लेख गरे ।  सचिव सुवेदीले टेलिकमलाई आन्तरिक कार्यवातावरणलाई चुस्त बनाउन आग्रह गर्दै नेपाल सरकारका तर्फबाट टेलिकमललाई आवश्यक सहयोग हुने प्रतिबद्धतासमेत व्यक्त गरे ।  नेपाल दूरसञ्चार प्राधिकरणका कार्यबाहक अध्यक्ष नवराज अधिकारीले नेपालको दूरसञ्चार क्षेत्रको विकासमा टेलिकमको अहम भूमिका रहेको उल्लेख गर्दै प्रविधिमा छिटोछिटो हुने विकाससँगै देखा परेका चुनौतीको सामना गर्न तयार रहिरहनुपर्ने बताए । उनले यसका लागि क्षमता विस्तारलगायत कामको आवश्यकतामा जोड दिँदै नियामक निकाय दूरसञ्चार प्राधिकरणका तर्फबाट हुने आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । रासस

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : आर्थिक विकासमा निजीक्षेत्रको सहभागिता

निजीक्षेत्र भन्नेबित्तिकै कुनै व्यक्ति वा समूहद्वारा स्थापित र सञ्चालित व्यापारिक वा व्यावसायिक संस्थाहरू हुन् भनेर परिभाषित गरिन्छ । खासगरी निजीक्षेत्रको लगानीको उद्देश्य नाफा कमाउने नै प्रमुख हुने गर्छ । तर, कुनै पनि मुलुकको आर्थिक वृद्धिको आधारशिला निजीक्षेत्रले नै तयार गरेको हुन्छ । यो समूहसँग उद्यमशीलता, सृजनशीलता, नवीनतम प्रविधि, जोखिम वहन गर्ने क्षमता हुन्छ । यो नाफामुखी हुन्छ । तैपनि मुलुकको आर्थिक विकास र प्रगतिको प्रमुख आधार स्तम्भ उद्यमशीलतासहितको निजीक्षेत्र नै हुने वास्तविकता स्वीकार गर्नैपर्ने हुन्छ । आर्थिक विकास एउटा जटिल प्रक्रिया हो । यो बहुआयामिक तथा योजनाबद्ध रणनीतिको परिणाम पनि हो । त्यसैले मुलुकमा प्रतिव्यक्ति आयको सकारात्मक वृद्धिका साथै आमजनताको जीवनस्तरमा आएको बढोत्तरी नै त्यस मुलुकको आर्थिक विकास हो । आर्थिक विकासको कार्य सरकार एक्लैले गर्न, वर्तमान सन्दर्भमा सम्भव हुँदैन । यसैले मुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजीक्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसस्था, गैरसरकारी संस्था, नागरिक समाज, अन्तरराष्ट्रिय समुदाय र आम नागरिकको पनि उत्तिकै भूमिका रहन्छ । मुलुकमा गार्हस्थ्य उत्पादन, राष्ट्रिय उत्पादन, नागरिकको प्रतिव्यक्ति आयको वृद्धि गर्दै आमजनताको जीवनस्तरमा बढोत्तरी गर्नु सरकारको प्रमुख कर्तव्य हो । साथै आर्थिक विकासका लागि सामाजिक मूल्यमान्यता, नागरिकको सकारात्मक सोच, सार्वजनिक संस्थाहरूको सबलीकरण, प्राविधिक सुधार, विकासका विभिन्न पात्रहरूसँगको साझेदारी, मानव संसाधनको रणनीतिक परिचालन, प्रभावकारी आर्थिक कूटनीति, अन्तरराष्ट्रिय सम्बन्धलगायत बहुविषय र बहुपात्रसँग जोडिएको आर्थिक विकासको आधारहरूको परिचालनमा सरकार वा सार्वजनिक संस्थानको महत्त्वपूर्ण भूमिका हुन्छ ।  नेपालको संविधानले निजीक्षेत्रलाई मुलुकको आर्थिक विकासको संवाहकका रूपमा लिएको छ । संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता एवं स्वतन्त्र विकासमार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने परिकल्पना गरिएको छ । साथै अर्थतन्त्रमा निजीक्षेत्रको भूमिकालाई महत्त्व दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी समृद्धि प्राप्त गर्ने विषय स्पष्टसँग उल्लेख छ । यसबाट पनि मुलुकको आर्थिक विकासमा निजीक्षेत्रको भूमिका र महत्त्व चरितार्थ हुन्छ । खुला र उदारवादी अर्थव्यवस्थालाई आत्मसात् गरेको कुनै पनि मुलुकको आर्थिक विकासमा निजीक्षेत्रको भूमिका सर्वोपरि हुन्छ । मुलुकभित्र वा बाहिर आफ्नो दक्षताको क्षेत्रमा नाफा कमाउने ध्येयले वस्तु तथा सेवा उत्पादन र वितरण गर्ने क्षेत्र निजीक्षेत्र हो । सार्वजनिक क्षेत्रका निकाय सेवाग्राहीप्रति कम संवेदनशील, बोझिलो र कम उत्तरदायी देखिन्छन् । सरकार आपूmले दैनिक उपभोग्य र प्रयोगका वस्तु उत्पादन र विक्री गर्न सम्भव हुँदैन । त्यसैले पनि सरकार बाहिरको निजीक्षेत्रलाई बजार क्षेत्र पनि भनिन्छ । व्यक्तिगत वा सामूहिक लगानीमार्फत व्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त निजीक्षेत्र आर्थिक अवसर तथा रोजगारीको प्रमुख स्रोत पनि हो । यो नाफामुखी हुन्छ, तर मुलुकको राजस्वमा सबैभन्दा बढी योगदान गर्ने र मुलुकमा रोजगारी सृजना गर्ने प्रमुख पक्ष निजीक्षेत्र नै हुन्छ । निजीक्षेत्रसँग सीमित स्रोतसाधनको अधिकतम रूपमा सदुपयोग गरी आर्थिक गतिविधि सञ्चालन गर्ने, गुणस्तरीय वस्तु तथा सेवाको उत्पादन गरी विक्रीवितरण गर्ने, सरकारले प्राथमिकता राखेको क्षेत्रमा लगानी गर्ने, सार्वजनिक सरोकारका विषयवस्तुमा राज्यसँग सहकार्य तथा समन्वय, स्वच्छ प्रतिस्पर्धात्मक व्यावसायिक वातावरण निर्माण, रोजगारी तथा अवसर सृजना, वैदेशिक लगानी, शीप, प्रविधि आकर्षण तथा हस्तान्तरण, स्वदेशी तथा स्थानीय उत्पादनको विक्रीवितरण, उपभोग तथा निर्यातमा प्रोत्साहन, उद्योग, वाणिज्य तथा बजार व्यवस्थापनको विषयमा सरकारलाई आवश्यक सुझाव तथा सहयोग, व्यावसायिक सुशासन तथा नैतिकता कायम र दक्ष जनशक्ति उत्पादन गर्ने विषयमा महत्त्वपूर्ण विज्ञता रहेको हुन्छ । यी विषय मुलुकको आर्थिक विकासका लागि अपरिहार्य मानिन्छन् । साथै सार्वजनिक क्षेत्रका निकाय सेवाग्राहीप्रति कम संवेदनशील, बोझिलो र कम उत्तरदायी देखिने भएकाले अर्थतन्त्रमा निजीक्षेत्रको  महत्त्व हुन्छ । नेपालमा योजनाबद्ध विकास नेपालमा योजनाबद्ध विकासको खाका बनाउन शुरू गरिएका सातौं योजनापछि आठौं योजनादेखि मात्र आर्थिक विकासमा निजीक्षेत्रको भूमिकालाई समेटिने प्रयास गरी विकास प्रक्रियामा निजीक्षेत्रको संलग्नता र लगानीलाई प्रोत्साहन गरिएको पाइन्छ ।  निजीक्षेत्रले स्वतन्त्रतापूर्वक आर्थिक विकासमा कार्य गर्ने वातावरण भने अझै तयार भएको देखिँदैन । नेपालमा निजीक्षेत्रको विकासका धेरै चुनौतीहरू विद्यमान छन्, जसमा मुलुकभित्र राजनीतिक तथा सामाजिक अस्थिरता, भौतिक पूर्वाधारको विकासमा कमी, सार्वजनिक निकायमा न्यून पूँजीगत खर्च, ऊर्जासंकट, औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरण अझै तयार हुन नसक्नु, बृहत् आर्थिक स्थायित्वमा कमी मुद्रास्फीति बढेको, करका दरहरू अनिश्चित र अस्थिर, वैदेशिक विनिमय दर अस्थिर रहेको वित्तीय प्रणालीको अस्थिरता निजीक्षेत्रको बचत परिचालन तथा लगानीको सुनिश्चिततामा अन्योल, खुला सिमाना, प्रतिस्पर्धी बजार संयन्त्रको अभाव, एकाधिकार, कार्टेलिङ, कालोबजारी, कृत्रिम अभाव विद्यमान कानूनी प्रावधानको परिपालनाको कमी, नीतिगत निरन्तरताको अभाव, निजीक्षेत्रको विकासका लागि शिक्षा तथा तालीमको अभाव शीपमूलक व्यावसायिक तालीमहरूको अभाव, उद्योग व्यवसायमा उपयुक्त ज्ञान, शीप, भएको जनशक्तिको कमी कामदार र उद्यमीबीचको सम्बन्ध, निजीक्षेत्रप्रति सरोकारवाला निकाय र आम नागरिकको विश्वासको संकटजस्ता कैयौं चुनौती अहिले पनि कायमै छन्, जसलाई चिरेर सरकार, सार्वजनिक निकाय, नागरिक समाज तथा निजीक्षेत्रले सहकार्य गरेमा खुला र उदारवादी अर्थव्यवस्थालाई आत्मसात् गर्दै मुलुकको आर्थिक विकासमा निजीक्षेत्रको भूमिका फलदायी हुनेमा विश्वस्त हुन सकिन्छ । अब समयसापेक्ष रूपमा सरकारले विकासमा फड्को मार्ने हो भने निजीक्षेत्रलाई पूर्वाधार निर्माण, ठूलाठूला आयोजनामा सहभागी गराएमा ती पूर्वाधार खडा गर्न पूँजी निर्माणदेखि भौतिक निर्माणमा समेत छिटो भई निजीक्षेत्रले देशको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान दिन सक्नेछ । किनकि निजीक्षेत्रसँग रहेको विज्ञता, शीप र व्यावसायिक क्षमतालाई आर्थिक विकासमा सदुपयोग गर्नुपर्छ । निजीक्षेत्रको लगानीलाई रोजगारीमूलक उत्पादनको क्षेत्रमा सदुपयोग हुने नीति ल्याइनुपर्छ । निजीक्षेत्रको संलग्नताले निकासी प्रवद्र्धन गर्न सहज हुनेछ । समग्रमा भन्नुपर्दा देशको आर्थिक प्रगति एउटै क्षेत्रले गर्न सक्दैन । यसमा निजी, सहकारी तथा सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक हुन्छ । अधिकांश प्रजातान्त्रिक मुलुकहरूले आर्थिक विकासका लागि मिश्रित आर्थिक प्रणाली अँगालेका हुन्छन् । यस्तो आर्थिक प्रणालीमा निजी, सार्वजनिक तथा सहकारीले काम गर्न पाउँछन् । सार्वजनिक क्षेत्र भनेको सरकारी क्षेत्र हो । सरकारले सबै क्षेत्रमा लगानी गर्न सक्दैन । किनकि सरकारले लगानीका लागि जनताबाट कर उठाउनुपर्छ ।  करको बोझ बढी भएमा कर उठाउन कठिन हुन्छ । देशको आर्थिक स्थिति खराब हुन्छ । अति आवश्यक प्रतिरक्षाका सामान, यातायात, शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार आदि क्षेत्रमा सरकारले लगानी गरेकै हुन्छ । राज्यले यस्तो सेवा नाफा नलिई प्रदान गर्छ । सार्वजनिक क्षेत्रको उद्देश्य जनतालाई आवश्यक सेवा प्रदान गरी जीवनस्तरमा सुधार ल्याउनु हो । देशका जनतालाई अन्य दैनिक उपभोग्य वस्तुको आवश्यकता पर्छ । यस्ता क्षेत्रमा सरकारले निजीक्षेत्रलाई लगानी गर्ने वातावरण सृजना गर्नुपर्छ । निजीक्षेत्रले पनि देशकै स्रोतसाधन उपयोग गरी आवश्यक वस्तु र सेवाको उत्पादन गर्छ र जनतालाई सहज उपलब्ध गराउँछ । निजीक्षेत्रको उद्देश्य सेवा प्रदान गरी नाफा कमाउनु पनि हो । तर, सरकारले नियम बनाई अनुचित नाफा लिनबाट निजीक्षेत्रलाई रोक्न सक्नुपर्छ । देशमा जति निजी उद्यम बढ्यो, त्यति नै सरकारले बढी राजस्व प्राप्त गर्छ ।  बढी राजस्व प्राप्त गरेमा सरकारले जनतालाई बढी सेवा प्रदान गर्न सक्छ । सरकारले समुदायका मानिसलाई आय आर्जनका साथै समुदायलाई सेवा दिने उद्देश्यले सहकारी संस्था खोल्न इजाजत दिन्छ । यस्ता सहकारीले सानो बचत संकलन गरी स्वरोजगार प्रवद्र्धन गरी आर्थिक प्रगतिमा मद्दत पुर्‍याउँछन् । बढीभन्दा बढी मानिस रोजगारीमा लागेमा देशमा सामाजिक विकृति पनि घट्छ । साथै मानिसको जीवनमा सकारात्मक परिवर्तन आउँछ । यसैले देशको आर्थिक उन्नतिका लागि निजी सहकारी तथा सार्वजनिक क्षेत्रको साझेदारी आवश्यक पर्छ । त्यसैले मुलुकको आर्थिक विकासमा सरकारसँगै सहकारी र निजीक्षेत्रको भूमिका अति नै महत्त्वपूर्ण छ । (घिमिरे नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश अध्यक्ष हुन्)

सरकारी उदासीनताले अन्योलमा ढुंगा, गिट्टी, बालुवा निर्यात

काठमाडौं । सरकारले पर्यावरणमा असर नपर्ने गरी प्राकृतिक स्रोतसाधनको उपयोग गर्ने कुरा बारम्बार दोहोर्‍याई रहे पनि ढुंगा, गिट्टी, बालुवा निर्यात बारेको अन्योल कायमै छ । व्यापारघाटा कम गर्ने तथा राजस्वमा योगदान दिई देश विकासमा सहयोगी बन्ने यी स्रोतको निर्यातबारे उचित निर्णय लिन नसक्दा उपयोगको फाइदाबाट राज्य वञ्चित छ ।  नेपालको पूर्व–पश्चिम फैलिएको महाभारत शृंखलामा प्रचुर मात्रामा चट्टान रहेको विज्ञहरू बताउँछन् । यसबाट पर्याप्त मात्रामा ढुंगा, गिट्टी उत्पादन गर्न सकिने सम्भावना छ । खानी तथा भूगर्भ विभागका अनुसार अहिलेसम्म १४ जिल्लामा ९२ ओटा ढुंगाखानी मार्किङ गरिसकिएको छ । अन्य ठाउँमा खानी पत्ता लगाउने काम चलिरहेको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।  ‘महाभारत शृंखलामा पूर्वदेखि पश्चिमसम्मै ढुंगाखानी छन् । विभागले खानी पहिचान गर्ने काम निरन्तर गरिरहेको छ,’ उनले भने, ‘महाभारत क्षेत्रबाहेक चुरे एवं खोला र नदीबाट पनि व्यवस्थित तरीकाले ढुंगा, गिट्टी, बालुवा संकलन गर्न सकिन्छ ।’ सूचना अधिकारी बाँस्कोटाका अनुसार पहिचान भएका खानीबाट ५०० घनमीटर प्रतिदिनका दरले ढुंगा निकाल्न सकिन्छ । उत्पादन लागत खासै पर्दैन । स्थानीय तहले प्रतिघनमीटर २५ रुपैयाँका दरले राजस्व लिने गरेका छन् । ‘भारतको जुन क्षेत्रमा निकासी गर्ने हो, त्यही नजिकको खानीबाट उत्पादन गर्दा ढुवानी खर्च पनि धेरै लाग्दैन,’ उनले भने । यसरी निर्यात हुने ढुंगा, गिट्टी, बालुवाबाट राज्यले राम्रो राजस्व संकलन गर्न सक्ने बताउँदै सूचना अधिकारी बास्कोटाले अहिले भारतको उत्तर प्रदेश र विहारमा पर्याप्त निर्माण कार्य भइरहेकाले त्यहाँ माग धेरै रहेको जानकारी दिए । उनले समय सधैं एउटै कायम नरहने भएकाले बेलैमा विचार नपुर्‍याए पछुताउनुपर्ने अवस्था आउन सक्ने धारणा राखे ।  विगत केही वर्षदेखि चुरेक्षेत्रको पर्यावरणलाई असर गरेको भन्दै नेपालबाट गिट्टी, बालुवा निकासीमा प्रतिबन्ध लगाइएको छ । आर्थिक वर्ष (आव) २०७८/७९ को बजेट वक्तव्यमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ढुंगा, गिट्टी, बालुवा भारत निर्यात गरेर व्यापारघाटा कम गर्ने बताए पनि देशभित्रको व्यापक विरोध र सर्वोच्च अदालतले समेत रोक लगाउँदा प्रक्रिया अगाडि बढ्न सकेन ।  पर्यावरणवादी र चुरे संरक्षण अभियन्ताहरूले वातावरण विनाश र प्राकृतिक स्रोतको दोहन हुने भन्दै ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारी कदमको विरोध गरेका थिए । यसै सम्बन्धमा परेको रिटमा सुनवाइ गर्दै सर्वोच्च अदालतले पनि ‘प्राकृतिक स्रोतको दोहन गरी ढुंगा, गिट्टी, बालुवा आदि निकासी गर्ने सम्बन्धमा संविधानको भावना र मर्मअनुकूल हुने गरी विधायिकाद्वारा निर्मित कानूनले अन्यथा व्यवस्था नगरेसम्म त्यसअनुसारको निकासी गर्ने गराउने कार्य नगर्नू/नगराउनू’ भन्ने आदेश जारी गर्‍यो ।  आव २०७९/८० को बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले खानी विभागले पहिचान गरेका सम्भाव्य स्थानबाट वातावरणीय मूल्यांकनका आधारमा ढुंगा र चट्टानको उत्खनन तथा प्रशोधन गरी निर्यात गर्ने भने पनि कार्यान्वयन हुन सकेको छैन । सर्वोच्च अदालतको फैसलाअनुरूपको कानून नबन्दा उक्त योजना कार्यान्वयनमा आउन नसकेको देखिन्छ । आगामी आवको बजेट आउने मिति नजिकिँदै गर्दा पनि ढुंगा, गिट्टी, बालुवाको उत्खनन र निकासी सम्बन्धमा कुनै कानूनी व्यवस्था हुन सकेको छैन । वाणिज्य विज्ञ एवं पूर्वसचिव चन्द्र घिमिरे राज्यलाई फाइदा हुने विषयमा समेत कानून नबन्नुमा नीति निर्माताहरूमा तदारुकताको अभाव र उदासीनता जिम्मेवार रहेको बताउँछन् । ‘सरकार सञ्चालकहरूमा क्रियाशीलताको अभाव देखिन्छ । त्यही कारण कानून निमार्णमा ढिलाइ भइरहेको हो । ढुंगा, गिट्टी, बालुवा भारत र बगंलादेश निर्यात गरेर राम्रो फाइदा लिन सकिने खानी तथा भूगर्भ विभागको अध्ययनले देखाएको छ । त्यसै गर्नुपर्छ,’ उनले भने । आफूसँग भएको वस्तुको व्यापार विस्तार गरे मात्रै समृद्धिको बाटोमा अग्रसर हुन सकिने पूर्वसचिव घिमिरेको भनाइ छ ।

औद्योगिक कम्पोनेन्ट्स डाटाबेसको महत्त्व : डाटाबेसका लागि गर्नुपर्ने कार्यहरू

उद्योगको विकाससम्बन्धी नीति निर्माण, बजेट तर्जुमा र कार्यक्रमहरूको प्रस्ताव गर्दा सम्बद्ध उद्योगहरूमा प्रयोग हुने मेशिनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, कच्चापदार्थ, प्याकेजिङ, लेबलिङ तथा सपोर्टिङ मटेरियल, एक्सेसरिज र सम्बद्ध उद्योगका सहायक उद्योगहरूमा प्रयोग हुने उपर्युक्त सबै प्रकारका कम्पोनेन्टहरूको जानकारी हुन आवश्यक हुन्छ । यसैले उपरोक्त कम्पोनेन्ट्सका अतिरिक्त गुणस्तर, स्वास्थ्य, टिकाउपना, राजस्वका दरहरू र सम्बद्ध वस्तुहरूको एचएस वर्गीकरण अनुसार संकेत नम्बरहरू पनि समावेश गरी बृहत्तर खालका डाटाबेसहरू तयार गर्ने गरिन्छ । यस्ता जानकारीहरू सहज र वैज्ञानिक रूपमा प्राप्त हुँदा सम्बद्ध उद्योगको विकास गर्न केकस्ता सहयोग र समर्थनहरूको आवश्यकता पर्छ, उद्योगको सम्भाव्यता कस्तो छ भन्ने जस्ता विषयका बारेमा सम्बद्ध नीति निर्माणतहलाई स्पष्ट जानकारी प्राप्त हुन्छ । नेपालको सन्दर्भमा कुनै पनि उद्योगको विकास गर्ने प्रश्नमा सबैभन्दा पहिला चाहिने जानकारी कम्पोनेन्ट्स डाटाबेसको सर्वत्र अभाव महसूस गरिएको छ । नेपाल सरकारले उद्योगको विकास, वस्तु विकास, उद्योगलाई गर्नुपर्ने सहयोग, समर्थन, छूट र प्रवर्द्धनका वस्तुगत आँकडा निकाल्दा यस्तो डाटाबेसको कमीले गर्दा कहाँबाट कार्यारम्भ गर्ने भन्ने विषयदेखि नै अन्योलको वातावरण सृजना हुन जान्छ । यस्तो डाटाबेसको अभावमा उद्योगको विकास के कसरी गर्ने भन्ने विषयमा प्रशासनिक चरित्रको बाहुल्य रहेको नेपालको निजामती प्रशासनको नीतिनिर्माण तह र राजनीतिक तहमा स्पष्ट दिशाबोध हुन सकेको छैन । फलस्वरूप सम्बद्ध क्षेत्रमा सतही जानकारी राख्ने शाब्दिक जार्गनहरूको प्रभावमा सत्यतथ्य ओझेलमा पर्न जाने गर्छ । उद्योगको विकास र क्षमता अभिवृद्धि गर्ने सम्बन्धमा विषयवस्तुहरूको प्रवेश नै सही ढंगबाट हुन सकेको छैन । यस्तो डाटाबेसको अभावका कारण नेपाल सरकारबाट गरिने विभिन्न छलफल, अन्तरक्रिया र अध्ययनहरूमा पनि सम्बद्ध उद्योगी र नेपाल सरकारका सम्बद्ध अधिकारीबीच दोहोरो संवाद स्थापित हुन सकेको छैन । नेपाल सरकारका अधिकारीहरूमा उद्योगका कम्पोनेन्ट्सको डाटाबेसको अभावमा त्यससम्बन्धी प्रारम्भिक तहको जानकारी नहुँदा सम्बद्ध उद्योगहरूले प्रस्तुत गर्ने विषयवस्तुका बारेमा उनीहरूको मुखाकृतिमा बुझाइको अन्योल स्पष्ट अनुभव गर्न सकिन्छ । यसरी समग्र उद्योगको आधारभूत पक्षका बारेमा दोहोरो संवादको अभावको असर नीति निर्माणमा परिरहेको हुन्छ । नेपालको उद्योगको विकासमा विद्यमान खण्डित पहुँचमा यो पक्ष सबैभन्दा बढी जिम्मेवार रहेको छ । यस्तो डाटाबेसको कमीले गर्दा सम्बद्ध उद्योगले आफ्नो उत्पादनको प्रयोजनका लागि गर्ने आयातमा नेपाल सरकारबाट पाउने छूट र सुविधाबाट वञ्चित हुन परिरहेको छ । पाउनुपर्ने छूट र सुविधाबाट वञ्चित हुँदा उद्योगको समग्र प्रतिस्पर्धात्मक क्षमतामा गम्भीर प्रभाव परिरहेको हुन्छ । यसको असर आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन दुवै क्षेत्रमा समानान्तर रूपमा परिरहेको हुन्छ । उद्योगहरूमा प्रयोग हुने मेशिनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, कच्चापदार्थ, प्याकेजिङ, लेबलिङ तथा सपोर्टिङ मटेरियल, एक्सेसरिज र सम्बद्ध उद्योगका सहायक उद्योगहरूमा प्रयोग हुने उपर्युक्त सबै प्रकारका कम्पोनेन्टहरूको यथार्थ तथ्यांकको कमीले गर्दा यसको प्रत्यक्ष असर आन्तरिक राजस्वमा यस्ता उद्योगहरूले पाउने छूटमा पनि परिरहेको छ । यस्तो डाटाबेसको कमीका कारण नेपाल सरकारको वैदेशिक व्यापार व्यवस्थापनमा पनि समस्या देखिएका छन् । आयातमा नियन्त्रण गर्दा गरिने अपरिहार्य वस्तु र विलासिताका वस्तुहरूको वर्गीकरण पनि व्यावहारिक हुन सकेको छैन । समष्टिमा निर्णय गर्दा व्यष्टिमा उद्योगमा परिरहेको असर प्रावधानहरू लागू भइसकेपछि आउने प्रतिक्रिया पछि बोध हुने गर्छ । उदाहरणका लागि आर्थिक वर्ष २०७८/७९ मा नेपाल सरकारले तासको आयातलाई विलासिताको वस्तुको सूचीमा सूचीकृतमा गरी आयातमा प्रतिबन्धको घोषणा गरेको थियो परन्तु क्यासिनो व्यवसायको प्रमुख कम्पोनेन्टका रूपमा रहेको उक्त वस्तुको आयात प्रतिबन्धका असर के पर्दा रहेछन् भन्ने विषयमा सम्बद्ध व्यवसायीहरूले नेपाल सरकारका सम्बद्ध अधिकारीहरूलाई जानकारी गराएपछि मात्र विषयको बोध हुन सकेको एक प्रतिनिधि उदाहरणका रूपमा रहेको छ । सम्बद्ध उद्योगको क्षमता अभिवृद्धिका बारेमा हुने संगोष्ठीहरूमा समेत प्राविधिक विषयहरू आउँदा साथ ‘ए ⁄ यस्तो पो रहेछ’ भन्ने विस्मयादिबोधक भनाइ नेपाल सरकारका अधिकारीहरूबाट प्रशस्त मात्रा आउने गरेका छन् । उद्योगका कम्पोनेन्ट र कम्पोजिशनको डाटाबेस नहुँदा यस्तो अवस्था सृजना भएको हो । उद्योगको कम्पोनेन्ट र कम्पोजिशनको डाटाबेस नहुँदा यस सम्बद्ध उद्योगमा प्रवेश गर्न चाहने उद्यमीहरूलाई असर पर्ने गर्छ । उद्योग स्थापनाको प्रारम्भिक चरणमै चाहिने यस्तो जानकारीको कमीले गर्दा उनीहरूले आफ्नो तयारी चरणको सबैभन्दा बढी ऊर्जा र साधनस्रोत खर्च गरिरहनु परेको छ । खासमा यस्तो डाटाबेस उपलब्ध भएका देशहरूमा यस्तो ऊर्जा र साधनस्रोत बजारको अध्ययन अनुसन्धानमा खर्च हुने सुविधा प्राप्त हुन्छ । उद्योगको कम्पोनेन्ट र कम्पोजिशनको डाटाबेसको कमीको असर भन्सार अधिकारी र आयातकर्ताबीच वस्तुको परिभाषामा पर्ने गर्छ । उक्त वस्तु क्यापिटल गुड्स हो कि एक्सेसरिजभित्र पर्छ कि कच्चा पदार्थभित्र पर्छ कि भन्ने अन्योलका कारण औद्योगिक कच्चापदार्थ र मेशिनरी तथा एक्सेसरिजमा प्राप्त सहुलियत र छूटको प्रावधान आयातित वस्तुमा आकर्षित हुने वा नहुने भन्ने सम्बन्धमा यो अन्योलको अवस्था सृजना हुने गर्छ । यस्ता अन्योलले लामो प्रशासनिक र न्यायिक चरणहरू पार गर्नुपर्ने अवस्था सृजना हुन जान्छ । उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालले पनि उद्योगमा चाहिने कम्पोनेन्ट र कम्पोजिशनको डाटाबेस तयार गरी सर्च इन्जिनमार्फत सबैको सहज पहुँच स्थापना हुने व्यवस्था गर्नु जरुरी छ । एउटा क्लिकमा एचएसकोड एवम् कानूनी तथा नियमनकारी अनुपालनासहित सम्बद्ध उद्योगका लागि आवश्यक पर्ने मेशिनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक, कच्चापदार्थ, प्याकेजिङ, लेबलिङ तथा सपोर्टिङ मटेरियल, एक्सेसरिज र सम्बद्ध उद्योगका सहायक उद्योगहरूमा प्रयोग हुने उपर्युक्त सबै प्रकारका कम्पोनेन्टहरूको सूची एक्सेल शिटमा डाउनलोड हुने खालको डाटाबेस र सर्च इन्जिन बनाउन आवश्यक देखिन्छ । उदाहरणका लागि बाँसका टुथपिक बनाउने उद्योगलाई लिन सकिन्छ । यो उद्योगका लागि चाहिने कम्पोनेन्ट, कच्चापदार्थ, प्याकेजिङ र लेबलिङ मटेरियलको सूचीमा यस प्रकारको रहेको छ ः बाँस, बाँस काट्ने मेशिन, स्ट्रिपिङ मेशिन, बाँसको पाना काट्ने मेशिन, स्टिक बनाउने मेशिन, स्टिक काट्ने मेशिन, टुथपिक सेट साइज मेशिन, टुथपिक पालिस गर्ने मेशिन, टुथपिक क्रमबद्ध गर्ने मेशिन र प्याकेजिङ मेशिन । डाटाबेसको अभावमा यो सूची तयार गर्न टुक्राटुक्रामा छरिएर रहेका सूचना तयार गर्न समय र खर्च दुवैका हिसाबले झन्झटिलो र खर्चिलो हुन्छ । सर्चइन्जिनसहितको व्यवस्थित डाटाबेस तयार हुने हो भने टुथपिक शब्द इनपुट गर्नासाथ यस उद्योगका लागि चाहिने कम्पोनेन्ट र कम्पोजिशनका सबै पक्षका बारेमा गुणस्तर, स्वास्थ्य, टिकाउपना, राजस्वका दरहरू र सम्बद्ध वस्तुहरूको एचएस वर्गीकरण अनुसार संकेत नम्बरहरू एक्सेल शिटमा डाउनलोड हुने व्यवस्था हुने हो भने नेपालमा टुथपिक उद्योगको सम्भाव्यता अध्ययन, डीपीआर निर्माण, उद्योगको क्षमता अभिवृद्धिमा गर्नुपर्ने सहयोगका क्षेत्र र सहयोगको तहका बारेमा नीतिनिर्माण गर्न सहज हुने देखिन्छ ।   लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।

चीनको छिमेकी नीति

यतिबेला चीनको विदेश नीति खासगरी छिमेकी देशसँगको सम्बन्ध विकासमा अपूर्व रूपमा सक्रिय हुँदै गएको छ। चीनको अभूतपूर्व रूपमा बढ्दो विकास र नेपाललगायत एसियाली मुलुकमा विश्व महाशक्ति अमेरिकाको बढ्दो गतिविधिले पनि यो सक्रियता बढाएको देखिन्छ। अहिले चिनियाँ जनकङ्ग्रेसका अध्यक्ष तथा चीनकै तेस्रो वरीयताका नेता ली झान्सुको नेपाल भ्रमणलाई पनि निकै चासो र महत्वका साथ हेरिएको छ। स्मरणीय के छ भने आजभन्दा आठ वर्षअघि नेपाल राजनीतिक अन्योल र अस्थिरताका बीच नराम्रोसँग अल्झिरहेका बेला (अहिले पनि अर्को चरणमा त्यसरी नै अल्झिरहेको छ) विश्वको दोस्रो आर्थिक महाशक्ति बनिसकेको चीनले छिमेकी देशसँग कस्तो नीति अवलम्बन गर्ने भन्नेबारेमा बेइजिङमा एउटा निकै महìवपूर्ण कूटनीतिक सम्मेलन आयोजना गरिएको थियो।

ब्रोकर लाइसेन्सको अस्पष्टता

वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने योजना लामो समयदेखि अलपत्र छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७४/०७५ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरूलाई छुट्टै सहायक कम्पनी स्थापना गरी शेयर ब्रोकरको कारोबार गर्न पाउने व्यवस्था गरेको थियो  । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । सोही नीति अनुसार राष्ट्र बैंकबाट डेढ दर्जन बैंकहरूले अनुमति लिएका छन् । लगत्तै बैंकहरूलाई ब्रोकर लाइसेन्स दिनका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ‘वाणिज्य बैंकका सहायक कम्पनीलाई धितोपत्र सदस्य दलाल व्यवसायी अनुमतिपत्रको लागि सिफारिस कार्यविधि–२०७६’ पनि जारी गर्‍यो जसअनुसार ११ बैंकहरूले सहायक कम्पनी दर्ता गरेर आवेदन दिएका छन् । यति भइसक्दा पनि बैंकहरूलाई ब्रोकर लाइसेन्स दिने विषय टुंगोमा पुगेको छैन । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले पनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिए पहुँच राम्रो हुने बताएका छन् । उनले बैंकहरूको कर्पोरेट गभर्नेन्स सिस्टम राम्रो भएको धारणा राखेका छन् । तैपनि वाणिज्य बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिँदा रोजगारी घट्ने र विकास बैंक तथा अन्य वित्तीय संस्थालाई ब्रोकर लाइसेन्स दिनेबारे के गर्ने भन्नेमा उनी अन्योलमा देखिएका छन् । बैंकहरूको आवेदनमा नेप्सेले अध्ययन गरिरहेकै बेला साढे एक वर्षअघि व्यवस्थापिका संसद्अन्तर्गतको अर्थ समितिले ब्रोकर लाइसेन्स प्रक्रिया स्थगित गर्न निर्देशन दिँदै ‘मुद्रा तथा पूँजी बजार’ को अध्ययनका लागि सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमितिसमेत गठन गरेको थियो । समितिले एक वर्ष लगाएर अध्ययन गरी इन्साइडर ट्रेडिङ नहुने लगायतका विषयहरू सुनिश्चित गरी बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन सिफारिस गरेको थियो । हरेक सिक्काका दुई पाटा हुन्छन् भनेझैं बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा र नदिँदा पनि नाफा/घाटा हुने भइहाल्यो । त्यसैले यस विषयमा शुरूदेखि नै आआफ्ना धारणा रहँदै आएका छन् । यहाँनेर महत्त्वपूर्ण कुरा सरकारी तवरबाट हुने निर्णय बहुसंख्यकको हितमा हुन्छ वा हुँदैन भन्ने हो । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजारको विकास हुन्छ भने त्यस्तो निर्णय गर्नु हुँदैन भन्ने केही छैन । बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा इन्साइडर ट्रेडिङ हुँदैन भन्ने अवस्था नभएको सत्य हो  किनकि विद्यमान संरचनाले इन्साइडर ट्रेडिङका लागि ठूलै प्वाल छाडेको छ । विकसित मुलुकका बैंकहरूले नाफा र घाटाको प्रक्षेपण वर्षको शुरूमै गर्छन् । कथम्कदाचित् लक्ष्य पूरा हुन नसक्ने भयो भने तत्काल सर्वसाधारणलाई सूचना दिने गरिन्छ । तर, नेपालमा अझै यस्तो अभ्यास हुन सकेको छैन । त्यस्तै आन्तरिक रूपमा अन्य क्षेत्रभन्दा पारदर्शी र संरचनात्मक प्रणालीको विकास भए पनि नेपालका बैंक तथा वित्तीय संस्था विकसित मुलुकका वित्तीय संस्थाहरूको तुलनामा पारदर्शी छैनन् । प्रविधिको उच्चतम लाभ लिन नसकेको अवस्था छ जसले गर्दा वाणिज्य बैंकहरूप्रति आशंका गरिएको होला । अहिलेको मुख्य समस्या लाइसेन्स प्रक्रिया अघि बढाएको लामो समय भइसक्दा पनि त्यस्तो प्रक्रियामा कुनै निर्णय हुन नसक्नु हो । वाणिज्य बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा शेयर बजार र समग्र लगानीकर्ताको हितमा हुन्छ भने ढिला गर्नुको कुनै अर्थ छैन । साथै, बैंकहरूलाई ब्रोकर लाइसेन्स दिँदा थप समस्या आउँछ भने उनीहरूलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भन्ने होइन । त्यसैले जतिसक्दो चाँडो प्रक्रिया अघि बढेको बैंकहरूलाई शेयर ब्रोकर लाइसेन्स दिने वा नदिनेबारेको विवाद टुंगिनुपर्छ । निर्णयमा अलमल हुँदा यसले ब्रोकर लाइसेन्स लिन खोज्नेलाई मात्र नभई समग्र पूँजी बजार नै अन्योलमा परेको देखिन्छ । कुनै पनि देशको अर्थतन्त्र सबल हुन जसरी नीति, नियममा स्थायित्व आवश्यक हुन्छ, त्यसरी नै सरकारी तवरबाट हुने निर्णयमा पनि अलमल हुनु हुँदैन । यति मात्र नभई वर्षौंदेखि कमोडिटिज एक्सचेन्जको पनि छिनोफानो हुन सकेको छैन । यसको पनि प्रक्रिया अघि बढेर बीचमै रोकिएको छ । नेपाल विकासको क्रममा अघि बढ्दै गरेकाले पूँजी बजारको विस्तार हुने सम्भावना निकै छ । तर, सरकारी निकायबाट बेलाबेला हुने सानातिना लापरबाहीले यसको विकासमा अवरोध सृजना हुने गरेको छ । विगतका पाठ सिकेर कम्तीमा अब सरकारी निकायले गर्ने निर्णय छिटोछरितो, पारदर्शी र पूँजीबजारको हित गर्ने खालको हुनुपर्छ । यसका लागि सबैभन्दा पहिला कुन काम गर्ने र नगर्ने भन्ने प्रष्ट हुनुपर्छ । अहिले देखिएको अन्योल यही विषयमा प्रष्ट हुन नसक्नुको उपज हो ।

आर्थिक सुधारका लागि समाधानयोग्य सवालहरू

सरकारले देशको आर्थिक अवस्थाका बारेमा ‘आर्थिक जानकारी पत्र’ सार्वजनिक गरिसकेको छ । यो सरकारी जानकारी पत्रलाई हेर्दा अर्थतन्त्रका सूचकहरू सकारात्मक देखिँदैनन् । सँगै अर्थतन्त्रका समस्यालाई निकास दिन योजनाहरूको भने अभाव देखिन्छ । समस्याग्रस्त अर्थतन्त्रलाई सही बाटोमा ल्याउन सरकारले केही यस्ता सवालहरूको नीतिगत समाधान दिन जरुरी छ, जसको चर्चा यो आलेखमा गरिएको छ । हालै प्रधानमन्त्री, अर्थमन्त्री र ऊर्जामन्त्रीले पनि लगानीमैत्री नीतिगत व्यवस्थाको खाँचो औंल्याउनुभएको सन्दर्भमा यस विषयको सान्दर्भिकता अरू बढेर गएको छ । संविधानदेखि राजनीतिक दलका घोषणा र नीतिमा समाजवाद लेखिएको छ । संविधानमा समाजवाद त छ, तर त्यसको कार्यान्वयनमा दलहरूको फरक दृष्टिकोण छ । यसले निजीक्षेत्र सशंकित भएको छ । यसमा सरकारी दृष्टिकोण के हो ? योजनाको औचित्य प्रत्येक वर्ष बजेटले करीब ३ खर्ब रुपैयाँको हाराहारीमा विकास खर्च छुट्ट्याउने गरे पनि मुश्किलले ६०/७० प्रतिशतमात्र खर्च हुने गरेको छ । त्यो पनि असारे विकासमा बढी जान्छ । पूर्वाधारका योजना कहिल्यै समयमा पूरा हुँदैनन् । यस्ता योजनामा नयाँ प्रविधिको न्यून प्रयोगले गुणस्तर हुँदैन । दशकौंदेखिका योजनालाई गौरवका योजना भनिएको छ । योजनाको समय लम्बिँदा खर्चमात्र होइन, भ्रष्टाचार पनि बढेको छ । यस्ता योजनाको छनोट विकासमा योगदानको आधारमा भएको छ कि राजनीतिक आग्रह वा लोकप्रियतालाई हेरिएको छ ? के त्यस्ता योजनाको औचित्य आज पनि उस्तै छ ? सरकारले योजनाको औचित्यका आधारमा कस्तालाई अघि बढाउने र कुनलाई छोड्ने भन्ने स्पष्ट उद्देश्य राख्न सक्दछ ? राजनीतिक भागबन्डा राजनीतिमा चरम भागबन्डा छ । वर्तमान सरकार गठबन्धनमा आधारित भएकाले भागबन्डाको दबाब अझ बढ्ने सम्भावना छ । यसबाट कुनै पनि नीति कार्यान्वयनको तह मानिएको कर्मचारीतन्त्रमा दक्षता गौण विषय बनेको छ । कर्मचारीतन्त्रमा जिम्मेवारी बोध छैन । नियमअनुसार प्रशासनमात्र चलाउने उद्देश्य देखिन्छ । यसले विकासलाई सही तरीकाले अघि बढाउन सक्दैन । यसले विकासको उद्देश्य प्रभावित छैन ? के यो सरकारले यसमा विचार पु¥याउन आवश्यक ठानेको छ ? आयमा असमानता हाम्रो अर्थतन्त्र उपभोक्तावादमा गएको छ । आयको वितरणमा व्यापक असमानता छ । यसले धनी र गरीबबीचको खाडल बढाएको छ । राजनीतिमा पैसाको चलखेल बढेको छ । व्यापार राजनीतिसित जोडिएको छ । यो विकृतिको निकासका सकारी योजना के छन् ? समाजवादको अन्योल संविधानदेखि राजनीतिक दलका घोषणा र नीतिमा समाजवाद लेखिएको छ । संविधानमा समाजवाद त छ, तर त्यसको कार्यान्वयनमा दलहरूको फरक दृष्टिकोण छ । सरकार पनि उद्योग व्यापारमा सक्रिय हुन खोजेको देखिन्छ । बजारमा उदारवाद र नियन्त्रण दुवै खालको प्रभाव देखिन्छ । यसले निजीक्षेत्रको लगानी सशंकित भएको छ । यसमा सरकारी दृष्टिकोण के हो ? विनिमयका विरोधाभास   हाम्रो विदेशी विनियम नीति असान्दर्भिक भइसक्यो । यसलाई अहिले पनि भारतीय मुद्रासित आबद्ध गरेर राखिएको छ । आयात र उपभोगमुखी बजारलाई केन्द्रित गरिएको भान हुन्छ । भारतीय मुद्रासँगको विनयिम दर समायोजन हुन सकेको छैन । वैदेशिक मुद्राको विनियम दर समायोजन गर्दा निर्यात व्यापारलाई टेवा पुग्ने उद्देश्य हुनुपर्छ । हामीकहाँ त आयातित वस्तु सस्तो बनाउनेमात्र ध्येय भयो । मुद्रा अवमूल्यन गरेर भए पनि आयात कम गरी निकासी बढाउने उद्देश्यमा लाग्नु अनिवार्य भइसकेको छ । विदेशी मुद्रा ल्याउन जति सजिलो छ, लैजान पनि त्यति नै सहज पनि हुनुपर्छ । यसो नहुँदा बाहिरको लगानी संकुचित भएको छ । प्रत्यक्ष वैदेशिक लगानी अपेक्षित नआउनुको एउटा कारण यो पनि हो । यसमा सरकारको नीति के छ ? उत्पादनको अधिक लागत हामीकहाँ उत्पादन लागत बढी छ । यो सरकारले पनि स्वीकार गरेको विषय हो । पूँजीको लागत हामीकहाँ उच्च छ । भारत र चीनमा बैंकको ब्याजदर घटाउने प्रयास जारी छ । कुनै पनि वस्तुको दर घटाउन आपूर्ति बढाउनुपर्छ । न्यून सरकारी खर्च यसको प्रमुख कारण होइन । यसको दूरगामी उपाय चाहिन्छ । बैंकहरूले कमाएको पैसालाई एक निश्चित लाभांश दिएर बाँकी पैसा पुनः लगानीका रूपमा ल्याउने व्यवस्था मिलाउनुपर्छ । ३० वर्षअघि बाहिरबाट बैंक भित्रिए, अहिले किन आउन सकेका छैनन् ? मौद्रिक नीतिले अब बैंक ब्याज बढाउने संकेत मिलेको छ । पूँजी बजारलाई अझै वित्तीय स्रोतको प्रभावकारी माध्यम बनाउन सकिएको छैन । वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा नेपाल राष्ट्र बैंकको भूमिका सफल हुन सकेको छैन । यसका सरकारको सोच के छ ? प्रतिस्पर्धाका आधार हामीकहाँ अहिले पनि कृषि अर्थतन्त्रको मुख्य आधार हो । तर, यसको लागत अधिक छ । मल र सिँचाइजस्ता मुख्य सरोकारमै बढी समस्या छ । हामीकहाँ विद्युत् उत्पादनको सम्भाव्यता छ । तर, उत्पानलाई प्रतिस्पर्धी बनाउन सकिएको छैन । कम्तीमा चीन र भारतभन्दा हामीकहाँ बिजुली सस्तो हुनुपर्छ । सस्तो भए आन्तरिक खपत बढ्छ, निकासी पनि गर्नु पर्दैन । यसले कृषिको लागत घटाउन पनि सहयोग पुग्छ । भूपरिवेष्टित देश हुनुका कारण पारवहनको खर्च बढी छ । यसलाई कसरी घटाउने भन्नेमा आवश्यकताजति प्रयास भएको छैन । पूँजी, ऊर्जा र ढुवानीको खर्च घटाएर उत्पादनलाई प्रतिस्पर्धी बनाउने सन्दर्भमा सरकारको दीर्घकालीन रणनीति कस्तो हुनेछ ? अनुदानको यथार्थ सरकारले विभन्न भत्ता, अनुदान र चिकित्सा खर्चका नाममा नगद सहयोग बाँड्ने गरेको छ । बजेटको ठूलो अंश यसमा गइरहेको छ । कतिपय शीर्षकमा भइरहेको खर्च स्रोतको बर्बादीमात्रै बनेको छ । यसको सैद्धान्तिक पक्ष राम्रो भए पनि कार्यान्वयन प्रभावकारी छ त ? सरकारले यसको कार्यान्वयनमा कस्तो प्रणाली बनाउन खोजेको छ ? वैदेशिक रोजगारी विप्रेषण अर्थतन्त्रको मुख्य टेको बनेको छ । कोरोना महामारीमा पनि विप्रेषण घटेको छैन । तर, दक्षता पठाउने विषयमा ठोस काम हुन सकेको छैन । दक्ष जनशक्ति पठाउन सकियो भने बढी आय भित्र्याउन सकिन्छ । यस्तो आय औपचारिक माध्यमबाट आउने हो भने उपयोगिता बढ्छ । वैदेशिक रोजगारीलाई ग्लानिको विषय होइन, यसलाई बढी उपयोगी बनाउनेमा ध्यान दिनुपर्छ । यसमा सरकारको योजना के छ ? जनशक्तिको उपयोग जनसंख्या विकासको स्रोत हो । हामीकहाँ अहिले आर्थिक रूपमा सक्रिय हुन सक्ने संख्या बढी छ । तर, जनसंख्यालाई विकासको आधार बनाउन सकिएको छैन । चीन र भारतले यसलाई महत्त्व दिएर नीति बनाएका छन् । हामीलाई कुन दक्षताको कति जनसंख्या चाहिने हो, त्यसको कुनै प्रक्षेपण हुन सकेको छैन । हाम्रो विकास लक्ष्यमा पुग्न कुन भूगोलमा कति जनसंख्याको खाँचो छ भन्नेमा पनि योजना र रणनीतिको आवश्यकता छ । आवश्यक क्षेत्रमा जनशक्तिको आपूर्ति छैन, अर्कातिर शिक्षित बेरोजगारी बढेको छ । यो खाडल पूर्तिका लागि सरकारले कस्तो नीति लिने हो ? विकासका लागि सोच पनि आधुनिक चाहिन्छ । हाम्रो जनसंख्या त्यति आधुनिक छैन । हामीकहाँ विकासको सपना आधुनिक छ । तर, जनशक्ति परम्परागत छ । यो योजनाबद्ध जनसंख्या नीति नहुनुको परिणाम हो । आकांक्षा र यथार्थको खाडल समाधानमा सरकारले के योजना ल्याउँछ ? कोरोना संकट विश्व यतिखेर कोरोना महामारीसित सामना गरिरहेको छ । कोरोना महामारीका कारण आर्थिक र सामाजिक दैनिकी प्रभावित छ । उद्यम व्यापार रोजगारीलगायत आर्थिक उपक्रमहरू अवरुद्ध भएका छन् । यो क्रम अझै केही वर्ष चल्ने देखिन्छ । यस्तोमा महामारीबाट जनताको जीवन जोगाएर आर्थिक गतिविधिलाई सुचारु राख्न सरकारले कस्ता योजना तयार पारेको छ ? विकास र वातावरण अहिले विकासको कुरा गर्दा वातावरणलाई बिर्सिन मिल्दैन । विकाससँग वातावरण पनि जोडिएको हुन्छ । तर, यसमा आवश्यकता जति ध्यान दिइएको छैन । वातावरणलाई ध्यान नदिँदा अकल्पनीय विपद् आइलाग्न सक्छन् । आज विश्व जनमत वातावरण संरक्षणसहितको विकासप्रति सचेत बन्दै गएको अवस्थामा वातावरणसहितको विकासका लागि सरकारले कस्ता योजना ल्याउँछ ? उल्लिखित प्रश्नहरूको सापेक्ष समाधान नै आर्थिक विकासको स्पष्ट आधार बन्न सक्छ । अग्रवाल निम्बस समूहका अध्यक्ष हुन् ।

एमसीसी परियोजना झनै अन्योलमा

काठमाडौं । करीब ५५ अर्ब रुपैयाँको अमेरिकी अनुदान सहयोग बहुचर्चित मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता झन् अन्योलमा फस्दै गएको छ । विघटित संसद् पुनःस्थापना भएसँगै पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको ३ साता बितिसकेको छ । तर, उक्त सम्झौता अनुमोदन गर्नेबारे गठबन्धनभित्रै चर्को मतभेद हुँदा अहिलेसम्म कुनै सहमति जुटेको छैन । प्रधानमन्त्री एवम् नेपाली कांग्रेस सभापति देउवा एमसीसी पारित गर्न इच्छुक देखिए पनि गठबन्धनभित्र रहेको चर्को मतभेदका कारण तत्काल एमसीसीलाई यथास्थितिमै राख्न चाहेको प्रधानमन्त्री निकट स्रोत बताउँछ । एमसीसी सम्झौतालाई अहिलेकै अवस्थामा अनुमोदन गर्ने पक्षमा प्रधानमन्त्री देउवा देखिएका छन् । तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने कुनै हालतमा यो सम्झौता जस्ताको तस्तै पास हुन नहुने अडानमा रहेका छन् । यसले सत्ता गठबन्धनभित्रै एमसीसीमा सहमति जुटाउन हम्मेहमे परेको हो । अहिले गठबन्धन सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिन थालिएको छ । तर, यसमा एमसीसी सम्झौताका बारेमा कुनै बुँदा नै नराखिएको स्रोतको दाबी छ । स्रोतका अनुसार कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव गरिएको छ । कार्यदलका एक सदस्यका अनुसार परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने र ती नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न राष्ट्रिय सहमतिको पहल गर्ने भन्नुको अर्थ एमसीसीलगायत मुद्दा तत्काल अगाडि बढ्दैन भन्ने नै हो । सत्ता गठबन्धनभित्रको प्रमुख दल माओवादी केन्द्र मात्रै नभई जनता समाजवादी पार्टी पनि एमसीसी सम्झौता यथास्थितिमा अगाडि बढाउन नहुने पक्षमा खुलेरै देखिँदै आएको छ । सत्तामा रहँदा एमसीसीको पक्षमा रहेको केपी शर्मा ओली नेतृत्वको एमालेसमेत अहिले एमसीसीको पक्षमा लागेको देखिँदैन । उसले पर्ख र हेरको नीति लिएको देखिन्छ । एमाले विदेश विभाग उपप्रमुख विष्णु रिजालका अनुसार विगतमा एमसीसी सम्झौता अनुमोदनका लागि सरकारले संसद्मा प्रस्ताव दर्ता गराए पनि त्यसलाई राजनीतिक दाउपेचको विषय बनाइएको बताउँछन् । उनले भने, ‘एमसीसी पारित भएमा अमेरिकी सेना आइहाल्छ भन्ने साथीहरू अहिले सरकारमा हुनुहुन्छ । उहाँहरूले प्रस्ताव कसरी अघि बढाउनुहुन्छ, हामीले हेरिरहेका छौं ।’ अघिल्लो वर्षको असार १६ गते नै संसद्बाट अमेरिकी अनुदान सम्झौता एमसीसी अनुमोदन गराउनुपर्ने समयरेखा सकिइसकेको छ । दलहरूबीच सहमति नजुट्दा लामो समयदेखि एमसीसी सम्झौता संसद्मा प्रस्तुत हुन सकेको छैन । तत्कालीन प्रधानमन्त्री ओलीले पटकपटक संसद् विघटन गर्दा संसद्मा छलफल हुन पाएको थिएन । अहिले संसद् चले पनि सभामुखले यसलाई कार्यसूचीमा राखेका छैनन् । राजनीतिक सहमतिविना एमसीसी प्रस्ताव अघि नबढाउने आडानमा सभामुख देखिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा बीच एमसीसी संसद्मा अघि नबढाए भन्दै सार्वजनिक रूपमै आरोपप्रत्यारोप चलेको थियो । एमसीसी अघि नबढाएको भन्दै ओलीले सभामुखप्रति कडा आपत्ति जनाएका थिए । पूर्व अर्थमन्त्री डा.रामशरण महतले एमसीसीबारे निर्णय लिन नेपालले धेरै ढिला गरिसकेको बताउँछन् । एमसीसी परियोजनाबारे लामो समय अन्योल रहँदा २००७ सालदेखि नेपालको विकासमा ठूलो सहयोग गर्दै आएको अमेरिकासँगको सम्बन्ध नै अप्ठ्यारोमा पर्ने खतरा रहेको उनको भनाइ छ । उनका अनुसार एमसीसी बारेमा नेपालले निर्णय लिन ढिलाइ गरेकै कारण अब परियोजना अघि बढाइए पनि त्यसको लागत ह्वात्तै बढ्ने खतरा छ । २०७४ भदौ २९ मा नेपाल सरकार र मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बीच हस्ताक्षर भएको सम्झौता अनुमोदनका लागि सरकारले गतवर्ष असार ३० मा संघीय संसद्मा प्रस्ताव दर्ता गराएको थियो । वाशिङटनमा एमसीसी सम्झौतामा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गरेका थिए । उनी अहिले नेपाल सरकारका कानून मन्त्री पनि हुन् । एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपालको विद्युत् प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका लागि ५० करोड अमेरिकी डलर अर्थात् करीब ५५ अर्ब रुपैयाँ नेपाललाई अनुदानका रूपमा दिने उल्लेख छ । सम्झौताअन्तर्गतको सहयोग कार्यान्वयन भएको मितिबाट ५ वर्षमा परिचालन गरिसक्नुपर्ने शर्त छ र त्यसो हुन नसकेमा बाँकी अनुदान फिर्ता जाने प्रावधान छ । दलहरूबीचको चर्को मतभेदले एमसीसी सम्झौता झन्झन् जोखिममा फस्दै गएको देखिएको छ । श्रीलंकामा पनि यस्तै मतभेद देखिँदा एमसीसी परियोजनाबाट अमेरिकाले गतवर्ष हात झिकेको थियो ।