आगामी असारदेखि सञ्चालनमा आउँदै सबैभन्दा ठूलो सबस्टेसन, लकडाउनमा पनि काम धमाधम

नियमित काम हुन पाएको भए देशकै सबैभन्दा ठूलो सबस्टेसन गत चैतको अन्तिम सातादेखि नै सञ्चालनमा आइसक्ने थियो । देश तथा विदेशमा कोरोना कहर फैलिएपछि काम रोकियो । निर्माण सामग्री आउन पाएन, चिनियाँ प्राविधिक आफ्नै मुलुकमा रोकिए । सोही कारण मुलुकको हालसम्मकै सबैभन्दा ठूलो सबस्टेसन निर्माणको काममा समेत गत्यावरोध पैदा भयो । पछिल्ला दिनमा सरकारले सामाजिक दूरी कायम गरेर निर्माणाधिन आयोजना सञ्चालनमा ल्याउन दिने विधि बनाएपछि धनुषामा निर्माणाधीन ४००/२०० केभी क्षमताको ढल्केबर सबस्टेसन आयोजनाको काम धमाधम अगाडि बढेको छ । कोरोना कहरकाबीचमा पनि स्वास्थ्य सुरक्षासम्बन्धी प्रावधानहरुको पूर्ण रुपमा पालना गरी स्थानीय सरकार र प्रशासनसँगको समन्वय र सहयोगमा आयोजनाको निर्माण भइरहेकोछ । आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको जानकारी प्राप्त भएको छ ।