काठमाडौं । कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले पुस १७ गतेदेखि एकीकृत कारोबार शुरू गरिसकेका छन् ।
कुमारी बैंकको नामबाट एकीकृत कारोबार गरेको बैंकले साविक एनसीसी र कुमारी बैंक लिमिटेड गाभिएपछि पुस १६ गतेसम्मको संयुक्त वित्तीय विवरण कम्पनीले मंगलवार नेप्सेमा सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरणअनुसार कुमारी र एनसीसी गाभिँदा बैंकको पुस १६ गतेसम्म खुद नाफा रू. २ अर्ब १२ करोड रहेको छ । जसमा कुमारीको नाफा रू. १ अर्ब ६० करोड र एनसीसी बैंकको नाफा रू. ५१ करोड ८६ लाख रहेको छ ।
कम्पनीले नेप्सेमा सार्वजनिक गरेको विववरणअनुसार एनसीसीभन्दा कुमारी बैंकका अधिकांश सूचकहरू सबल देखिएका छन् । सो अवधिसम्म कुमारीको खुद ब्याज आम्दानी रू. ३ अर्ब ५१ करोड र एनसीसीको रू. २ अर्ब २८ करोड रहेको छ । दुई बैंक एकआपसमा मर्जरमा गएपछि खुद ब्याज आम्दानी रू. ५ अर्ब ८० करोड रहेको छ ।
मर्जरपछि बैंकको कर्जा प्रवाह रू. २ खर्ब ८७ अर्ब नाघेको छ । जसमा कुमारी बैंकको मात्रै रू. १ खर्ब ७१ अर्ब रहेको छ भने एनसीसीको रू. १ खर्ब १५ अर्ब रहेको छ । त्यस्तै कम्पनीको निक्षेप रू. ३ खर्ब २ अर्बभन्दा बढी छ । जसमा कुमारी बैंकको रू. १ खर्ब ८० करोड र एनसीसी बैंकको रू. १ खर्ब २२ अर्ब रहेको छ ।
मर्जरपछि बनेको कम्पनीको चुक्तापूँजी रू. २६ अर्ब २२ करोड पुगेको छ । जसमा कुमारी बैंकको रू. १४ अर्ब ७१ करोड र एनसीसीको रू. ११ अर्ब ५१ करोड रहेको छ । त्यस्तै जगेडा कोषमा रू. १० अर्ब ४४ करोड जम्मा भएको छ । यसरी बैंकको कुल पूँजी कोष रू. ३६ अर्ब ७५ करोड पुगेको छ ।