मोफसलका व्यापारी तीनै तहका सरकारबाट उपेक्षित

धरान । कोरोना महामारीले आहातमा परेका मोफसलका व्यापारी तथा उद्योगी तीनै तहका सरकारबाट उपेक्षामा परेका छन् । कोरोना जोखिम न्यून हुँदै गएपछि दुई महिनादेखि बजारमा चहलपहल बढ्दै गएको छ । तर, कोरोनाका बेला भएको क्षतिबारे अझै पनि सरकारले राहत दिन नसक्दा उनीहरु मर्कामा परेका हुन् । राजधानीमा रहेका उद्योगी, व्यापारीले सरकारले उपलब्ध गराएको सुविधा उपयोग गर्न पाए पनि मोफसलमा नगराइँदा राज्यले उपेक्षा गरेको गुनासो गर्न थालेका छन् । कोरोना कालमा भएको क्षति पूर्ति गर्न सरकारले राजस्वलगायत करमा छुट दिने घोषणा गरेको थियो । तर, मोफसलका उद्योगी, व्यापारी राहत पाउन नसकिएको गुनासो गर्छन् । कोरोना महामारी सुरु भएसँगै घोषणा भएको बन्दाबन्दीका कारण करोडौंको स्टक सामग्रीमा क्षति पुगेको छ । पछिल्लो दुई महिनायता कोरोना खुकुलो भएकाले व्यापार सुरु गर्न खोजिरहे पनि कुनै सरकारबाट राहत पाउन नसकिएको धरानका व्यापारी पितरुमल अग्रवाल बताउँछन् । कोरोनाकालमा दिने भनिएको कर तथा बैंक ब्याज छुट पनि नपाएको उनको गुनासो छ । ‘राजधानीमा पहुँच पुग्नेहरुले सुविधा लिए । बैंकबाट थप ऋण लिन सफल भए । तर, बाहिरका व्यापारीले कुनै राहत पाएका छैनन्,’ अग्रवाल भन्छन् । लामो समयदेखि बन्द रहेका व्यापार व्यवसाय सञ्चालनको तयारी गरिए पनि चालू वर्षमा राजस्व बढ्दा थप असर पुगेको उनको भनाइ छ । भन्सारका कर वृद्धि हुँदा बजार मूल्य बढ्दै गएको उनको बुझाइ छ । उनले भने, ‘राजस्व ठीकै छ तर भन्सारतिर मूल्यांकन बढेको छ, जसले  सामानको मूल्य बढाएको छ । यसबाट उपभोक्तालाई मर्का परेको छ ।’ धरानका व्यावसायी तथा व्यापारीलाई घर भाडा र बैंकको किस्ता तिर्न समस्या हुँदै गएको उनले सुनाए । अग्रवालले भने,  ‘व्यापारीलाई किस्ता तिर्न गाह्रो भएको छ । सोही कारण धेरै व्यापारी पलायन हुने अवस्थामा पुगेका छन् । सरकारले दिएको सुविधा पाउन सकेका छैनन् ।’ सुनसरी उद्योग वाणिज्य संघका अनुसार धरानमा दैनिक २५ करोड रुपैयाँको कारोबार हुने गरेको छ । तर, यस वर्षको दशैंमा पनि त्यति कारोबार हुन सकेन । बजारमा चहलपहल बढे पनि कारोबार भने ७ देखि ८ करोडसम्मको मात्रै भएको संघ अध्यक्ष गिरिधारी सापकोटाले बताए । व्यापारीले आफ्नै जिम्मेवारीमा बजार सञ्चालनमा ल्याउन थाले पनि सरकारले कुनै सहयोग नगरेको उनको गुनासो छ । उनी भन्छन्, ‘राजधानी बाहिरका व्यापारीले स्थानीय, प्रदेश सरकार कतैबाट पनि सहयोग पाएका छैनन् । त्यसकारण अबको ६ महिनामा व्यापारी पलायन हुने वा अन्य विकल्प खोज्ने अवस्थामा पुग्ने अवस्था आएको छ ।’ कोरोनाकालमा थन्किएका सामान सस्तो मूल्यमा बिक्रीमा राख्नुपर्ने बाध्यताले पनि बजार कारोबार कम भएको उनको भनाइ छ । धरानका प्रायः व्यापारीले पुराना लत्ताकपडाको सेल लगाएका छन् । सेलमा सस्तो मूल्यमा कपडा बिक्री गरिने हुँदा कारोबारमा पनि कमी आएको उनको अनुमान छ । घर भाडादेखि लिएर करमा सरकार वा स्थानीय सरकार कसैले छुट दिएको पाइँदैन । सरकारले घर भाडा बहाल कर, राजस्व छुट दिने घोषणा गरे पनि यहाँका व्यवसायी तथा व्यापारीले हालसम्म पाएका छैनन् । । तीनै तहका सरकारसँग एक वर्षको  छुटका लागि पहल गरे पनि सुनुवाइ नभएको संघ अध्यक्ष सापकोटाले बताए । धरान उपमहानगरले भने व्यवसाय करमा २५ प्रतिशत छुट घोषणा गरेको छ ।