प्रतिबन्धले विश्व नै आक्रान्त भएपनि रुसलाई केही फरक परेन, प्रतिबन्धमै जन्मिए २२ जना अर्बपति

मस्को (रुस) । पछिल्लो एक वर्षमा रुसी अर्थतन्त्र र रुसका औंलामा गन्न सकिने केही अति धनाढ्य र अर्बपतिहरुले यस अघि इतिहासमा कहिले नदेखेको प्रतिबन्धहरुको सामाना गरिरहेका छन् । पश्चिमी देशहरुले रुसी अर्थतन्त्रलाई गलाउने भनेर लगाएको प्रतिबन्धले सर्वसाधारण मारमा परेको भएपनि त्यहाँको अर्थतन्त्र र अति धनाढ्यहरुलाई भने असर नपरेको देखिएको छ ।  गएको एक वर्षमा रुसी अति धनाढ्यहरुको सम्पत्ति १ खर्ब ५२ अर्ब डलरले बढेको छ । कच्चा तेल (Crude Oil) लगायत प्राकृतिक संसाधनको मूल्य बढेसँगै समीक्षा अवधिमा रुसी धनाढ्यहरु झनै धनी बनेका हुन् । गएको वर्षको शुरुमा युक्रेनमाथि रुसले आक्रमण (Ukrainw War) गरेपछि उनीहरुले बेहोरेको क्षतिको पनि भर्पाइ भएको Forbes Russia को पछिल्लो तथ्यांकले छर्लङ्गै पारेको छ ।  यस वर्षको सूचीमा १ अर्ब डलर वा सो भन्दा धेरै सम्पत्ति भएका रुसी नागरिकको संख्या ११० जना छ । यो गएको वर्षको भन्दा २२ धेरै हो । फोर्ब्सको रुसी संस्करणमा अटाएका धनाढ्यहरुको कूल सम्पत्ति ५ खर्ब ५ अर्ब डलर रहेको छ । यो सन् २०२२ मा सूची घोषित भएको बेलाको भन्दा १ खर्ब ५२ अर्ब डलर बढी हो ।  अघिल्लो सूचिमा संलग्न अर्बपतिहरुको कूल सम्पत्ति ३ खर्ब ५३ अर्ब डलर थियो । पाँच रुसी अर्बपतिहरुले आफ्नो रुसी नागरिकता नत्यागेको भए यस पटकको सूचि झनै लामो हुने थियो । युक्रेनी युद्ध शुरु हुन अघि सन् २०२१ मा रुसी अर्बपतिहरुको कूल सम्पत्ति ६ खर्ब ६ अर्ब डलर  थियो । गएको वर्ष फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण गरेपछि अमेरिका र पश्चिमी देशहरुले रुस अनि त्यहाँका केही अति धनाढ्यहरुमाथि आधुनिक इतिहासकै सबैभन्दा कठोर प्रतिबन्ध लगाएका थिए ।  सन् २०२२ मा Russian Economy २ दशमलव १ प्रतिशतले खुम्चिएको थियो । तर पनि यसले विश्व बजारमा तेल, धातु र अन्य प्राकृतिक स्रोत बेच्न भने सकिरहेको छ । चीन, भारत र मध्य पूर्व यसको ठूला निर्यात बजार हुन् । सन् २०२२ मा रुसी अर्थतन्त्रको मुटु मानिएको उराल तेलको औसत मूल्य प्रतिब्यारेल ७६ डलर ९ सेन्ट थियो । सन् २०२१ मा यसको भाउ ६९ डलर मात्रै थियो । गएको वर्ष मलखाद (fertilizer)को भाउ पनि अकासियो ।  फोर्ब्सका अनुसार रुसका सबैभन्दा धनी व्यक्ति अन्द्रेई मेलनिचिन्को हुन् । मलखाद बेचेरै अति धनाढ्य भएका यिनको सम्पत्ति २५ अर्ब २० करोड डलर आसपास छ । अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा यिनको सम्पत्ति दोब्बर भएको छ । विश्वको सबैभन्दा ठूलो पालाडियम र प्रशोधिक निकेल उत्पादन गर्ने कम्पनी नोर्निकेका अध्यक्ष र सबैभन्दा ठूला शेयर धनी भ्लादिमिर पोतानिन रुसको दोस्रो धनी व्यक्ति हुन् ।  उनको नेटवर्थ २३ अर्ब ७० करोड डलर हाराहारी छ । गएको वर्ष रुसका सर्वाधिक धनी व्यक्ति स्टिल निर्माता कम्पनी एनएलएमकेका मालिक भ्लादिमिर लिसिन यो वर्ष सूचीको तेस्रो स्थानमा समेटिएका छन् । उनको नेटवर्थ २२ अर्ब १० करोड डलर छ । नव अर्बपति मध्ये अधिकांश स्न्याक्स निर्माता, सुपरमार्केट सञ्चालक, केमिकल निर्माता, फर्मास्युटिकल कम्पनीका मालिकहरु रहेका छन् । यसले प्रतिबन्धहरु रहेको भएपनि रुसको घरेलु माग भने बलियो रहेको देखाउँछ । एजेन्सी