पर्वतमा महसुल नबुझाउने ३०५ ग्राहकको लाइन काटियो

फागुन १४, पर्वत । नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रले महसुल नबुझाएका ३०५ जना ग्राहकको लाईन काटिदिएको छ । मिटर रिडिङ गरेको ६० औं दिनसम्म पनि विद्युत् महसुल नबुझाएका ग्राहकलाई सूचनामार्फत विद्युत् महसुल बुझाउन कार्यालयले सूचना जारी गरेपनि महशुल नबुझाएपछि लाईन काटिएको हो ।  तर पटक–पटक सूचना जारी गर्दा पनि ६०औं दिनसम्म महसुल नबुझाएका ग्राहकहरूको विद्युत् लाइन जुनसुकै समयमा वितरण केन्द्रले काट्न शुरु गरेको थियो । कार्यालय प्रमुख शिव नारायण गोशलीका अनुसार केही महीना अगाडिदेखि शुरु गरिएको यो अभियान अन्तर्गत फागुन मसान्तसम्म असुल गर्न बाँकी रहेकोमध्ये रू. ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ । उक्त रकम असुलीका लागि ३०५ जना ग्राहकहरूको लाइन काटिएको हो ।  ‘समयमा नै विद्युत् महसुल नबुझाएका ३०५ जनाको लाइन काटिएको थियो । फागुनको मसान्तसम्म रू. ४८ लाख २६ हजार रुपैयाँ असुल गरिएको छ,’ उनले भने, ‘अझै पनि ग्राहकहरुलाई समयमै महसुल बुझाएर छूट सुविधा लिनुहुन अनुरोध गरेका छौं । तर नियमानुसार गर्नुभएन भने हामी विद्युत् लाइन काट्न बाध्य हुनेछौँ ।’ कार्यालय प्रमुख गोशलीले विद्युत् महसुल संकलन विनियमावली २०७८ को विनियम ८ को उपविनियम २ मा मिटर रिडिङ गरेको ३१ औं दिनदेखि ४० औं दिनसम्म विद्युत् महसुल बुझाएमा १० प्रतिशत थप दस्तुर लाग्ने र ४० औं दिनपछि महसुल बुझाएमा थप २५ प्रतिशत दस्तुर लाग्ने बताए ।   यस्तै, विनियमावलीको विनियम १० मा मिटर रिडिङ गरेको ६० औं दिनसम्म विद्युत् महसुल नबुझाएमा बिना सूचना जुनसुकै समयमा पनि विद्युत् लाइन काटिने व्यवस्था रहेअनुसार पर्वतमा पनि सोही नियममा टेकेर बाँकी रहेको महसुल असुल गरिएको उनको भनाइ छ ।  पर्वत वितरण केन्द्रले ६० औं दिनभन्दा बढी समय हुँदा पनि विद्युत् महसुल नबुझाएकाहरूको विद्युत् लाइन दैनिक रूपमा काट्दै आइरहेको छ । लाइन काटिएपछि महसुल बुझाएमा पुनः जडान गरिने तथा महसुल नबुझाउँदा सम्म अँध्यारोमा नै बस्नुपर्ने बाध्यता छ । यही बाध्यताका कारण केन्द्र छोटो अवधिमा पनि धेरै बक्यौता असुल गर्न सकेको हो । लाइन काटिएर पनि बक्यौता नतिरेमा त्यस्ता ग्राहकहरूलाई कालो सूचीमा राखेर कारबाही गर्ने कार्यालय प्रमुख गोशलीले बताए ।   चालू आर्थिक वर्षको फागुन मसान्तसम्म लाइन काटिएका ३०५ जनामध्ये २५३ जनाले बक्यौता तिरेकाले उनीहरूको लागि पुनः विद्युत् जडान गरिएको छ । तर, लाइन काटिएकामध्ये ५२ जनाले अझै पनि बक्यौता नतिरेका कारण उनीहरूको लागि विद्युत् आपूर्ति दिएको छैन । उनीहरूलाई पनि बक्यौता तिर्नको लागि ताकेता गरिएको र अटेर गरेमा कालो सूचीमा राखेर कारबाही गरिने गोशलीको भनाइ छ ।