एक सातामै भित्रियो रू. २ करोड ४७ लाखको गुलाबको फूल

काठमाडौं । प्रेम दिवसका लागि एक सातामै करीब साढे २ करोड रुपैयाँको गुलाब भित्रिएको छ । नेपाल फ्लोरिकल्चर एशोसिएशनको तथ्यांक अनुसार प्रेम दिवसका लागि भारतबाट २ करोड ४७ लाख रुपैयाँ बराबरको २ लाख ६० हजार स्टिम गुलाबको फूल आयात भएको हो । प्रेम दिवसको अवधिभर नेपालमा २ लाख ८० हजार स्टिम गुलाब फूल (डचरोज तथा लोकल)को कारोबार हुने अनुमान गरिएको छ । यसमध्ये काठमाडौं उपत्यकामा १ लाख ६८ हजार स्टिम र १ लाख १२ हजार स्टिम उपत्यका बाहिरका शहर बजारमा खपत हुने अनुमान छ । गतवर्ष प्रेम दिवसको अवसरमा नेपालमा २ लाख ७ हजार स्टिम गुलाबको कारोबार भएको थियो । एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङका अनुसार यसपटक आन्तरिक उत्पादनले गुलाबको कुल बजार मागको ७ प्रतिशत धान्नेछ । ९३ प्रतिशत माग भारतबाट आयात गरी पूरा गर्ने लक्ष्य लिइएको छ । यसअघि सामान्य अवस्थामा प्रेम दिवसका लागि आवश्यक पर्ने ६५ प्रतिशत गुलाब भारतबाट आयात हुने र ३५ प्रतिशतसम्म नेपालको आन्तरिक उत्पादनले धान्ने अवस्था थियो । तर कोरोना महामारीका कारण कतिपय पुष्प व्यवसायी पलायन भएको र कतिपयले लगानी घटाएकाले यस वर्ष गुलाबका फूल बढी आयात गर्नुपरेको अध्यक्ष तामाङले बताए । यद्यपि आगामी वर्षदेखि भने आन्तरिक उत्पादन बढ्ने अपेक्षा गरिएको छ । गतवर्ष प्रतिस्टिम मूल्य ८० देखि १०० रुपैयाँसम्म रहेको गुलाब अहिले ८० देखि १२० रुपैयाँसम्ममा विक्री भइरहेको छ । नेपालमा चाडपर्व बाहेकका सामान्य दिनमा पनि करीब १० हजार स्टिम गुलाबको माग हुने गरेको छ । नेपालमा गुलाब फूलको व्यावसायिक खेती काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र काभ्रेमा हुने गरेको छ भने अन्य जिल्लामा पनि यसको खेती विस्तार हुन थालेको नेपाल फ्लोरिकल्चर एशोसिएशनले बताएको छ ।