काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले यात्रुलाई भरिया बनाएर सुन तस्करी गर्ने गिरोहको जालो तोड्न २५ ग्रामसम्म मात्रै महसुल छूट हुने व्यवस्था गरिएको बताएका छन् ।
बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा डा. अर्थमन्त्री महतले यात्रुहरू भरिया नबनुन् भनेर ५० ग्रामलाई घटाएर २५ ग्रामसम्म मात्रै महसुल छूटमा ल्याउन पाउने व्यवस्था गरिएको बताए ।
सुन तस्करीमा संलग्न व्यक्तिहरुले सोझा साझा नागरिकहरूलाई भरियाको रुपमा प्रयोग गरि गहना आकार बनाई सुन तस्करी गर्ने गरेको पाइएकाले विगतमा भएको व्यवस्था परिवर्तन गरिएको उनको भनाइ छ ।
‘साविकमा यात्रुले ५० ग्रामसम्म सुनका गहना विदेशबाट ल्याउन पाउने व्यवस्था भएकोमा सोलाई परिवर्तन गरि पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म महसुल छूटमा ल्याउन सक्ने व्यवस्था गरिएको हो,’ उनले भसने ।
त्यस्तै सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तुलाई गहनाको रूपमा मान्यता नदिने व्यवस्थासमेत गरिएको महतले बताए ।
भारतमा समेत पुरुषको हकमा २० ग्राम र महिलाको हकमा ४० ग्रामसम्म मात्र महसुल छूटमा ल्याउन सक्ने व्यवस्था रहेको पनि उनले जानकारी दिए ।