जेठ ३, पेचिङ (चीन) । चीनको कारखाना गतिविधि सुस्ताएको छ । अप्रिलमा कारखाना गतिविधि सुस्ताउनुको साथै खुद्रा विक्री पनि अपेक्षा गरिएको भन्दा निकै कम भएपछि चीनको अर्थतन्त्रमा आइरहेको पुनर्बहालीमा नयाँ समस्या देखिएको चेतावनी अधिकारीहरुले दिएका छन् ।
चिनियाँ निर्यातकर्ताहरुकहाँ सुदृढ माग आइरहेको भएपनि विश्वको आपूर्ती शृङ्खलामा आएको अवरोध र कच्चा सामग्रीको बढ्दो लागतका कारण उत्पादन दबाबमा आएको बताइएको छ ।
फलतः गत वर्ष कोभिड–१९ का कारण देखिएको सुस्तीबाट भइरहेको आर्थिक पुनर्बहाली पनि सुस्तायो । गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा कारखाना गतिविधि ९ दशमलव ८ प्रतिशतले मात्रै बढेको राष्ट्रिय तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
यो अर्थशास्त्रीहरुले अनुमान गरे जत्तिकै भएपनि मार्चको तुलनामा भने निकै कम हो । मार्चमा कारखाना उत्पादन १४ दशमलव १ प्रतिशतले बढेको थियो ।
सोही अवधिमा खुद्रा विक्री १७ दशमलव ७ प्रतिशतले मात्रै बढेको छ । अप्रिलमा खुद्रा विक्री २४ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । मार्चमा भने यसमा ३४ दशमलव २ प्रतिशतको वृद्धि देखिएको थियो । चीनको अर्थतन्त्रमा अप्रिलमा निरन्तर सुधार देपखएको भएपनि नयाँ समस्याहरु विशेषगरी अन्तरराष्ट्रियस्तरमा कमोडिटीको मूल्य बढ्न थालेको एनबीएसका प्रवत्ता फु लिङहुईले बताए । घरेलु आर्थिक पुनर्बहालीको आधार अहिलेसम्म सुरक्षित नभएको फुले पेचिङमा पत्रकार सम्मेलनमा सोमवार भने ।
अप्रिलमा चीनको कारखाना मूल्यवृद्धि सन् २०१७ को अक्टोबरयताकै उच्च विन्दुमा उक्लिएको थियो । केन्द्रीय बैंकले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनअनुसार दोस्रो र तेस्रो त्रैमासमा यो झन् बढ्न सक्नेछ ।
सन् २०२० को शुरुमा कोरोना भाइरसको महामारीका कारण चीनमा कठोर लकडाउन गरिएको थियो । त्यतिबेला कारखाना गतिविधि ह्वात्तै घटेको थियो । फलतः गत वर्षको तुलनामा यस वर्षको ‘बेस इफेक्ट’ फिक्का हुँदा पनि अप्रिलमा वृद्धिदर सुस्त भएको हो । एजेन्सी