काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीद्वारा स्थापित गैरनाफामूलक संस्था लक्ष्मी केयर्सले ‘अरेन्ज भाइब्स २०२३’ नामक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौंमा शनिवार आयोजित उक्त कार्यक्रममा दिपक वज्राचार्य एन्ड द रिदम ब्याण्डको सांगीतिक प्रस्तुतिका साथै विभिन्न स्थान तथा संस्कृतिको प्रतिनिधित्व गर्ने मौलिक परिकार प्रदर्शन गरिएको थियो । कार्यक्रममा विख्यात सेफ सन्तोष साहको समेत उपस्थिति थियो ।
कार्यक्रमबाट संकलित रकम संस्थाको वातावरण संरक्षण तथा नवीकरणीय ऊर्जा प्रवर्द्धन लगायत विविध सामाजिक कार्यमा उपयोग गरिने जानकारी दिइएको छ । यसअघि बागमती पुल, पाटन दरबार स्क्वायर, भद्रकाली–सिंहदरबार सडक, बाराको गढिमाई मन्दिर र बनेपाको चण्डेश्वरी मन्दिर परिसरमा सौर्य बत्ती जडान गर्नुका साथै संस्थाले विभिन्न स्थानमा वृक्षरोपण गरेको थियो ।