अभावमा ठिमाहा बीउ रोप्दै कृषक

मौसममा आएको फेरबदलसँगै गहुँबाली भित्र्याएका कृषक अहिले मकै रोप्न व्यस्त भएका छन् । कोरोनाको त्राससँगै ‘लकडाउन’को पालना गर्दै यहाँका कृषकले आफ्नो खेतीपातीको कामलाई गति दिएका हुन् । मानो रोपेर मुरी उब्जाउने समयलाई सदुपयोग गर्दै जाजरकोट र रुकुम पश्चिमका कृषक अहिले मकै रोप्न व्यस्त भएका हुन् । आफ्नो खेतबारीमा गोठेमल राख्नेदेखि गोरुको सहायताले मकै रोप्ने काम शुरु भइसकेको कुशे गाउँपालिका–६ का गोपाल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कोरोनाको त्रासले घर बाहिर नआउने हो भने पशुचौपाय भोकभोकै हुन्छन्, खेतबारी बाँझै हुन्छ ? लक डाउनको पालना गर्दै सबै काम गर्नुको विकल्प छैन ।”