प्रधानमन्त्रीको आसन्न चीन भ्रमण: पोखरा विमानस्थलको ऋण मिनाहा प्रस्ताव चीन लैजाने सरकारको तयारी

काठमाडौं। चिनियाँ लगानीको पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट राज्य सशंकित देखिएको छ । २२ अर्ब रुपैयाँ चिनियाँ ऋण लगानी रहेको उक्त विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा ल्याउन मुश्किल परेपछि राज्य संशकित बनेको हो ।  त्यसैले सरकारले ऋण मिनाहाका लागि चीन सरकारसामु प्रस्ताव लैजाने गृहकार्य गरेको छ । उक्त ऋण मिनाहाका लागि सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न चीन भ्रमणका बेला प्रस्ताव लैजान गृहकार्य गरिरहेको उच्च स्रोतले जानकारी दिएको छ । ‘भ्रमणका क्रममा हुने दुईपक्षीय उच्चस्तरीय बैठकहरूमा ऋण मिनाहाका लागि प्रस्ताव गर्ने गृहकार्य भएको हो,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एकजना उच्च अधिकारीले भने । यससँग सम्बद्ध प्रस्ताव परराष्ट्र, पर्यटन र अर्थ मन्त्रालयको समन्वयमा बनाउने तयारी छ । प्रधानमन्त्रीको चीन भ्रमणका बेला हुने उच्चस्तरीय बैठकहरूमा सरकारी अधिकारीहरूले यससम्बन्धी प्रस्ताव गर्ने तयारी भएको स्रोतको भनाइ छ । अपेक्षाअनुसार अन्तरराष्ट्रिय उडान नहुँदा पोखरा विमानस्थलको ऋणको साँवाब्याज सरकारले नै भुक्तानी गर्नुपर्ने देखिएको छ ।  सन् २०१६ मा उक्त विमानस्थल निर्माणका लागि चीनको एक्जिम बैंकले २२ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसलगत्तै निर्माण शुरू भएको विमानस्थल गतवर्ष पुस १७ बाट सञ्चालनमा आएको हो । पहिलो ७ वर्षसम्म ऋण तिर्न नपर्ने र त्यसपछि २० वर्षमा तिरिसक्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार सरकारले पहिलो किस्ता २०७९ चैतमा ५ करोड ३० लाख २८ हजार ४६५ युआन (करीब ८५ करोड रुपैयाँ) बुझाएको थियो । सम्झौताअनुसार आउने असोज १ गते दोस्रो किस्ता बुझाउनुपर्छ । कुल ऋण रकममध्ये २५ प्रतिशतमा ब्याज मिनाहा छ, साँवामात्रै फर्काए हुन्छ । ७५ प्रतिशतको साँवाब्याज दुवै बुझाउनुपर्छ । वार्षिक करीब पौने २ अर्ब रुपैयाँ साँवाब्याज चीनको एक्जिम बैंकलाई बुझाउनुपर्छ । २०९२ सालसम्म हरेक ६ महीनामा साँवाब्याजको किस्ता बुझाउनुपर्छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने अहिलेको स्थितिमा पोखरा विमानस्थलको कमाइबाट साँवाब्याज तिर्ने अवस्था नभएको बताउँछन् । ‘यस्तै अवस्था रहने हो भने विमानस्थलको कमाइबाट तिर्न सक्ने स्थिति रहँदैन,’ उनले भने, ‘अरू विमानस्थलको कमाइको सहारा लिर्नुपर्छ ।’  उनी पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई व्यावसायिक रूपमा अघि बढाउनुको विकल्प नभएको बताउँछन् । तर, सञ्चालनमा आएको ८ महीना भइसक्दा नियमित अन्तरराष्ट्रिय उडानको टुंगो छैन । उक्त विमानस्थलबाट हालसम्ममा जम्मा दुईपटक अन्तरराष्ट्रिय उडान भएको छ । पछिल्लोपटक भदौ २३ मा अन्तरराष्ट्रिय उडान भएको छ । भुटानको पारो विमानस्थलबाट तीन जना यात्रु लिएर पोखरा विमानस्थलमा जहाज अवतरण गरेको थियो । त्यसको केही समयपछि ४२ अमेरिकी पर्यटक बोकेर उक्त जहाज भुटान फर्किएको थियो । यसअघि असार ६ गते फेवातालमा हुने ‘ड्रागन बोट रेस फेस्टिभल’मा भाग लिने ८४ जना चिनियाँ बोकेर सिचुआन एयरलाइन्सको जहाज पोखरा ओर्लेको थियो ।  पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई चीनले दिएको ऋणबारे पनि द्विविधा छ । चीनले यसलाई उसको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ सहयोगको प्रमुख परियोजना भनेको छ । नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ताले विमानस्थल उद्घाटनकै दिन नेपाल सरकार र नेपाली जनतालाई बधाई दिँदै भनेका थिए, ‘पोखरा अन्तरराष्ट्रिय विमानस्थल नेपाल–चीन बीआरआई सहयोगको प्रमुख परियोजना हो । नेपाल सरकार र नेपाली जनतालाई हार्दिक बधाई ।’ तर, नेपालका अधिकारीहरूले त्यसो नभएको बताउँदै आएका छन् ।  उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा थन्केर बसेका चिनियाँ जहाजको किस्ता मिनाहाको लागि पनि प्रस्ताव गर्ने तयारी छ । आसन्न चीन भ्रमणलाई लिएर प्रधानमन्त्री दाहालले आइतवार सर्वदलीय बैठक बोलाएर छलफल गर्नुभएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा पूर्वप्रधानमन्त्रीसहित संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता, परराष्ट्रमन्त्री, पूर्वपरराष्ट्रमन्त्रीलगायत सहभागी थिए । बैठकमा उनीहरूले सन्तुलित छिमेक नीति र विकासका मुद्दामा ध्यान दिन सुझाएका छन् । छलफलमा प्रधानमन्त्रीले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा जोड दिँदै त्यसका लागि आवश्यक गृहकार्य गरिएको जानकारी दिनुभयो ।