आयल निगमको सरकारलाई प्रस्ताव : जोरबिजोर लागू गरौं, आइतवार पनि बिदा दिऔं

चैत १५, काठमाडौं । नेपाल आयल निगमले इन्धन मूल्य वृद्धिको मारबाट बच्न आइतवार सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ ।  निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै उक्त प्रस्ताव गरेको  हो । निगमले सार्वजनिक तथा सरकारी सवारी साधनको प्रयोग घटाएर इन्धनको खपत कम गर्ने उपायस्वरुप थप एक दिन बिदा दिन प्रस्ताव गरेको हो । साथै उसले अत्यावश्यक क्षेत्रबाहेक सरकारी र निजी सवारी साधनमा जोर बिजोर लागू गर्न पनि सरकारलाई सुझाव दिएको छ । सवारीमा जोर बिजोर प्रणाली लागू  हुँदा पेट्रोलियम पदार्थको खपत कम हुन गई निगमको घाटा र मुलुकको व्यापार घाटामा समेत सकारात्मक प्रभाव पर्ने निगमले बताएको छ । निगमले १० बुँदे लिखित मागमार्फत पेट्रोलियममा भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार विकास शुल्क घटाउन पनि माग गरेको छ । निगमले पेट्रोलियममा प्रतिलिटरमा १५ रुपैयाँ कर घटाउन र ग्याँसमा २०० रुपैयाँ कम गर्न माग गरेको छ । यसैगरी उसले  इन्धन खरीदको भुक्तानीका लागि थप रकमको व्यवस्था गर्न, बढेर आएकै मूल्य बराबरमा मूल्य बढाउनु पाउनु पर्ने माग  पनि गरेको छ । रुस र युक्रेन बीच जारी युद्धका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलरमाथि पुगेको छ । जसका कारण पनि आयल निगमको घाटा चुलिंदै गएको छ ।