साना तथा मझौला उद्यमी सम्मेलन हुँदै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी सोमवार साना तथा मझौला उद्यमी (एसएमई) सम्मेलन गर्ने भएको छ । महिला उद्यमीलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले सम्मेलन गर्न लागिएको महासंघको विज्ञप्तिमा उल्लेख छ ।   सम्मेलनमा यस क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायतका विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुति तथा सामूहिक छलफल हुनेछ । अर्थतन्त्रको महŒवपूर्ण हिस्सा लघु, घरेलु, साना तथा मझौला उद्यमलाई मानिन्छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग क्षेत्रको योगदान ५ दशमलव ६ प्रतिशत छ, जसमा साना तथा मझौला उद्योगको अंश ९० प्रतिशत छ । यस क्षेत्रबाट करीब १७ लाखले रोजगारी पाएका छन् । सम्मेलनको प्राविधिक पहिलो सत्र ठूला तथा साना उद्योगबीच व्यावसायिक सम्बन्ध, दोस्रो सत्र वित्तीय पहुँच, तेस्रो सत्र वस्तु बजारीकरण/निर्यात/अतिकम विकसित मुलुकबाट स्तरोन्नति/युवा उद्यमशीलता विषयमा सामूहिक छलफल हुनेछ । सम्मेलनमा आ–आफ्ना क्षेत्रका स्थापित उद्यमी व्यवसायीका अनुुभव आदानप्रदानको सत्रसमेत राखिएको छ । वित्तीय पहुँचका लागि आवश्यक मापदण्ड, कागजात एवं प्रक्रियागत विषयमा विज्ञले जानकारी दिनुका साथै विदेशी राष्ट्रमा एमएसएमई क्षेत्रको विकास एवं प्रवर्द्धनका लागि भए/गरेका प्रयासहरूबारे समेत सम्मेलनमा छलफल हुने महासंघले जानकारी दिएको छ । साना उद्योगीले प्रतिष्ठित उद्योग र उद्योगीले आफ्नो क्षेत्रमा प्राप्त गरेको सफलता र अनुभव आदानप्रदान गर्ने अवसरसमेत पाउने छन् । सम्मेलनबाट एमएसएमई उद्योग प्रवर्द्धन गर्न बनेका नीति, ऐन, नियम एवं कार्यविधिमा भएका व्यवस्थाबारे सहभागीले जानकारी प्राप्त गर्नेछन् । सम्मेलन एमएसएमई क्षेत्रले सामना गर्नुपरेका समस्या पहिचान गर्दै सम्बन्धित निकायमा समस्या समाधानका लागि पहल गर्न सहयोगी हुने अपेक्षा गरिएको छ । महासंघको घरेलु तथा साना उद्योग समिति र महिला उद्यमी विकास समितिको अग्रसरतामा आयोजना गरिने उक्त कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमीलगायतका सरोकारवाला निकायका करीब तीन सय प्रतिनिधिको सहभागिता रहने महासंघको भनाइ छ ।

सम्बन्धित सामग्री

एसएमईज सम्मेलन आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले काठमाडौंमा आज (सोमवार) एसएमईज सम्मेलन गर्ने भएको छ । महिला उद्यमलगायत लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसाय क्षेत्रको विकास, विस्तार एवं प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम गर्न लागिएको महासंघले जानकारी दिएको छ । सम्मेलनमा एसएमईज (साना तथा मझौला उद्यम) क्षेत्रका लागि आवश्यक नीतिगत व्यवस्था, वित्तीय पहुँच, बजार प्रवर्द्धन, निर्यात प्रवर्द्धन, अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभावलगायत विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुुति र सामूहिक छलफल हुने महासंघले जानकारी दिएको छ । कार्यक्रममा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरीय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका सम्बन्धित निकायका प्रतिनिधि, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायत करीब ३०० जनाको सहभागिता रहने महासंघले बताएको छ ।

सुरक्षित कारोबार र कर्जा विविधीकरण विषयक कार्यक्रम सम्पन्न

जेठ १८, काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) र अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी/ विश्व बैंक) को संयुक्त आयोजनामा सुरक्षित कारोबार र कर्जा विविधिकरण विषयमा मंगलवार काठमाडौंमा कार्यक्रम आयोजना गरिएको छ ।  नेपालमा निजी क्षेत्र–विशेषगरी घरेलु, लघु, साना तथा मझौला उद्यमहरुलाई वित्तीय साधनको पहुँचमा कठिनाइ हुनुले उनीहरुको विकास एवं विस्तारमा बाधा पुगिरहेको गुनासो आइरहेको सन्दर्भमा कर्जा विविधिकरणलाई प्रोत्साहन गर्न एवं वित्तीय पहुँच अभिवृद्धिका गर्ने उद्धेष्यका साथ कार्यक्रम आयोजना गरिएको हो । नेपालमा लघु, घरेलु, साना तथा मझौला उद्यमहरुको क्रेडिट ग्याप करीब ३ शमलव ६ अर्ब रुपैयाँ रहेको विश्व बैंकको तथ्याङ्कले देखाएको छ । विकास निर्माणको करीब ९८ प्रतिशत हिस्सा ओगटेको र करीब ५७ प्रतिशत श्रमशक्तिलाई रोजगारी प्रदान गरिरहेको यस क्षेत्रको महत्वपूर्ण योगदान रहँदा रहँदै पनि घरजग्गा धितोको अभावका कारण कर्जा र वित्तीय पहुँचमा समस्या झेल्न परिरहेको छ ।  कार्यक्रममा आईएफसी तथा विश्व बैंकका नेपालकालागिआवासीय प्रतिनिधि बाबाकर एस. फायले अहिलेको उन्नत बजारमा चलसम्पत्तिलाई बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्राप्तिका लागि धितोको प्राथमिक आधारको रुपमा प्रयोग गर्ने गर्ने गरिएको बताए । यसैगरी सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले चलधितो सम्पत्तिको अवधारणाले लघु, साना तथा मझौला उद्यमी तथा व्यवसायी, कृषि व्यवसायी कारोबारी एवं पूर्वाधार विकास कम्पनीहरुको वित्तीय पहुँचसहित विकास एवं विस्तारमा महत्वपूर्ण सहयोग गर्ने बताए । उनले लघु, घरेलु, साना तथा मझौला उद्यम(एमएसएमई) र संस्थागत क्षेत्रको वित्तीय पहुँच बढाउन एवं वित्तीय समावेशीकरण र आयात प्रतिस्थापनको वृहत उद्देश्य प्राप्त गर्न देशका सम्पूर्ण सरोकारवाला निकायले एकजुटभएर चलधितो सम्पतिको अवधारणालाई प्रोत्साहन गर्नुपर्ने पनि बताए । कार्यक्रममा अन्तरराष्ट्रिय वित्त निगमका विषयविज्ञहरुले सुरक्षित कारोबार र वित्तीय पहुँच विस्तारका व्यवसायिक उदाहरणहरु प्रस्तुत गर्दै नेपालमा धितो दर्ताको भूमिका र सुरक्षित कारोबार तथा वित्तीय पहुँचलाई अझ प्रभावकारी र सुदृढ बनाउन के गर्न सकिन्छ भन्ने विषयमा कार्यपत्रहरु प्रस्तुत गरेका थिए ।  कार्यक्रमा विभिन्न बैंक तथा वित्तीय संस्थाको प्रतिनिधिहरु सहभागिता रहेको थियो ।

साना तथा मझौला उद्यमका लागि महासंघ र कोस्मेबीच समझदारी

काठमाडौं (अस) । नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया एसएमईज एण्ड स्टार्टअप्स एजेन्सी (कोस्मे)बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्यका लागि समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोस्मेका उपाध्यक्ष मुन ह्वान किमले हस्ताक्षर गरेका छन् । विशेषगरी अन्तरराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यावसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ । साना तथा मझौला व्यवसायलाई युग सुहाउँदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुर्‍याउन सकिने अपेक्षा गरिएको छ । एसएमईज र स्टार्टअपको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्क्युबेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमी र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्नेगरी क्षमता विकासमा जोड दिइनेछ । समझदारीपत्रमा हस्ताक्षर कार्यक्रमलाई संम्बोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअपको विकासमा यो समझदारीले एउटा महत्त्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गरे । साथै यसको अक्षरश: कार्यान्वयनमा महासंघको प्रतिबद्धता पनि उनले व्यक्त गरे । अध्यक्ष गोल्छाले महासंघले ‘५० स्टार्टअप ५० लगानीकर्ता’ कार्यक्रम शुरुआत गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप र एसएमईज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह गरे । कोस्मेका उपाध्यक्ष मुनले महासंघसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमईज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदानप्रदान र सहकार्यका लागि महासंघसँगको उक्त समझदारीले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।