वालिङ नगरपालिकामा माटो परीक्षण प्रयोगशाला सञ्चालन

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले डिजिटल माटो परीक्षण मिनिल्याब स्थापना गरेको छ । नगरपालिकाले कार्यालय परिसरमै आधुनिक प्रविधिसहितको माटो परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए । यससँगै माटो परीक्षणका लागि पोखरा लगायतका ठाउँमा रहेका प्रयोगशालामा लैजानुपर्ने बाध्यता हटेको छ ।      माटोमा रहेको उर्वराशक्तिमा ह्रास आउन नदिन र उर्वराशक्ति जोगाइराख्न प्रयोगशालाले महत्त्वपूर्ण टेवा पुग्नेछ । ‘पछिल्लो समय माटोमा विभिन्न किसिमका रासायनिक मल तथा विषादीको प्रयोग गर्ने क्रम बढेको छ,’ उनले भने, ‘जथाभावी रासायनिक मल तथा विषादीको प्रयोगका कारण माटो बिग्रिए। उत्पादन घट्दै छ । माटोको उपचार तथा संरक्षणका लागि आधुनिक प्रविधिको प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएका हौं ।’       नगरपालिकाले प्रयोगशालामा प्रयोग हुने औजार, उपकरण तथा रसायन खरिद गरेर ल्याएको छ । सोमवारदेखि सञ्चालनमा आएको प्रयोगशालामा किसानले ल्याएको माटोको नमूना निःशुल्क परीक्षण गरिदिने व्यवस्था मिलाइएको छ । डिजिटल माटो परीक्षण मिनिल्याब सञ्चालनमा आएसँगै माटोमा रहेको पीएच, ईसी, प्रांगारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, सल्फर, जिंक, आइरनलगायत १४ प्रकारका खाद्य तत्त्वको जाँच गरिने कृषि विकास शाखा प्रमुख सुभासचन्द्र अर्यालले बताए ।  रासस

सम्बन्धित सामग्री

बेंसीसहरमा माटो परीक्षण प्रयोगशाला सञ्चालनमा आउने

लमजुङको बेंसीसहरमा माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपाल र ग्रामीण साुमदायिक विकास केन्द्र (आरसीडीसी) लमजुङले प्रयोगशाला सञ्चालनका लागि बेंसीसहर नगरपालिकालाई मेशिन हस्तान्तरण गरेको छ ।