संघीयताबाटै समृद्धि हासिल हुन्छ : मन्त्री कार्की

विराटनगर । प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीयताको कार्यान्वयनबाटै मुलुकले विकास र समृद्धि हासिल गर्ने बताएका छन् । बेलायतमा कांग्रेसको जनसम्पर्क समितिद्वारा हालै आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने काम शुरू भएको बताएका छन् । नेपालमा संघीयता सफल हुँदै गएको उनको भनाइ छ । ‘प्रदेश सरकारले सबैभन्दा चाँडो सेवा दिन सक्छ । प्रदेशमा राम्रो गरेकै कारण भारतको गुजरात राज्यका मुख्यमन्त्री नरेन्द्र मोदी देशकै प्रधानमन्त्री बन्नुभयो,’ उनले भने । संघीयताको सफलतापछि भारतको गुजरात र विहार राज्यले गरेको विकास हेरेर नेपालले पाठ सिक्नुपर्ने समेत उनले बताए । भारतको विकासमा गैरआवासीय भारतीयको ठूलो भूमिका रहेको भन्दै उनले बेलायतका गैरआवासीय नेपालीलाई पनि नेपालको विकासमा हातेमालो गर्न आग्रह गरे । विदेशबाट पैसा मात्र नभई शीप र ज्ञान नेपालमा भित्र्याउनुपर्नेमा उनले जोड दिए । गैरआवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले सरकारले नीति तथा कार्यक्रम र बजेटमा ल्याएका नयाँ प्रावधान गैरआवासीय नेपालीको हितमा रहेको बताए । बजेटमा गैरआवासीय नेपालीका लागि एक दर्जनभन्दा बढी सुविधा घोषणा गरिनु स्वागतयोग्य भएको भन्दै अध्यक्ष आचार्यले मुलुकको समृद्धिका लागि योगदान दिन गैरआवासीय नेपाली सधैं तयार रहेको बताए । गैरआवासीय नेपाली संघका पूर्वसल्लाहकार एवं कांग्रेस नेता विश्वआदर्श पण्डितले चुनौतीका बीच सरकार स्थानीय निर्वाचन गर्न सफल भएको बताए ।