रोल्पा, असार २४ । रोल्पाको सुनिलस्मृति गाउँपालिकाको एउटा वडाले एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ ।
गाउँपालिकाको ४ नम्बर वडाले आगामी आर्थिक वर्षदेखि वडाभित्रका ५० वर्ष उमेर कटेका एकल पुरुषलाई भत्ता दिने व्यवस्था गरेको हो । सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत वडाभित्र रहेका एकल पुरुषलाई मासिक १ हजार भत्ता दिइने वडाध्यक्ष गञ्ज क्षेत्रीले बताए । एकल महिला जस्तै एकल पुरुषहरु पनि समस्यामा पर्ने गरेकाले यस्तो कार्यक्रम ल्याइएको उनको भनाइ छ ।
यस्तै सोही वडाले वडाभित्र रहेका सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम समेत अघि सारेको छ । एकल पुरुषको सामाजिक सुरक्षा भत्ताका लागि १ लाख ३० हजार र निःशुल्क स्वास्थ्य बीमाका लागि ७ लाख २५ हजार बजेट विनियोजन गरेको वडाले जानकरी दिाएको छ ।
एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तर्गत उक्त वडामा १५ जनाले यो सेवा पाउने भएका छन् भने निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत २०७ जनाले सेवा पाउने वडा कार्यालयले जानकारी दिएको छ ।