महाकाली नदीमा दुईओटा झोलुंगे पुल सञ्चालनको तयारी

दार्चुला । महाकाली नदीमा निर्माण भएका दुई ओटा झोलुंगे पुल सञ्चालनको तयारी गरिएको छ । नेपालमा भइरहेको स्थानीय तह निर्वाचनलगत्तै झोलुंगे पुल सञ्चालनमा ल्याउन लागिएको हो । पुल निर्माण भएको तीन महीनापछि दार्चुलाको व्याँस गाउँपालिका–४ स्थित मलघट्ट झोलुंगे पुल र मालिकार्जुन गाउँपालिका–६ बाँकुस्थित बाकु झोलुंगे पुल सञ्चालनको तयारी गरिएको हो । पूर्वाधार विकास तथा कृषि सडक विभागअन्तर्गत सस्पेन्सन ब्रिज डिभिजनले झोलुंगे पुल नियमित सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । ‘पुल निर्माण सकिएकोबारे हामीलाई पत्र आइपुगेको छ,’ उनले भने, ‘निर्वाचनलगत्तै पुल नियमित सञ्चालनका लागि गृहकार्य अघि बढाउँछौं ।’ झोलुंगे पुल निर्माण भएका स्थानमा दुवैतर्फ सुरक्षा व्यवस्थापन गर्ने विषयमा खलंगामा भएको नेपाल–भारतका सुरक्षा अधिकारीबीचको बैठकमा छलफल भएको थियो । प्रजिअ उपाध्यायले पुल नियमित सञ्चालनका लागि दुवै देशका अधिकारी सहमत भएको भन्दै आवश्यक सुरक्षा प्रबन्धको व्यवस्था मिलाएर चुनावपछि नियमित गराइने बताए । झोलुंगे पुल निर्माण भए पनि पुल हस्तान्तरण र नियमित भएको पत्र नआउँदा स्थानीयवासीले अहिले तुइनकै सहारामा महाकाली वारपार गर्नुपरेको छ । व्याँस गाउँपालिका–२ का नरेन्द्रसिंह धामीले पुल सञ्चालनमा नआउँदा स्थानीयवासीले जोखिम मोलेर तुइन प्रयोग गर्नुपरेको बताए । महाकाली नदीमाथि तुइन र ट्युब विस्थापन गर्न सस्पेन्सन ब्रिज डिभिजनले चार ठाउँमा एकैपटक झोलुंगे पुल निर्माण गरेको थियो ।  मलघट्टे तथा मालमा रू. २ करोड ७३ लाखको लागतमा र बाकु तथा बडुगाउँमा रू. २ करोड ५५ लाख ६४ हजार लागतमा पुल निर्माण गरिएको हो । निर्माण भएका पुल सञ्चालनका लागि भारतको तर्फबाट कुनै समस्या नभएको धार्चुलाका एसडीएम नन्दन कुमारले बताए । ‘नेपालका तर्फबाट आधिकारिक पत्र आएलगत्तै पुल नियमित सञ्चालनका लागि हामी तयार छौं,’ उनले भने । पुल नियमित सञ्चालन भएपछि त्यहाँ त्यसमा सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुन्छ । पुललाई चाँडो सञ्चालनमा ल्याउन सके स्थानीयवासीलाई समेत नियमित आवतजावतमा सहज हुने मालका बासिन्दा दानसिंह कार्कीले बताए । ‘अहिले त खोला सानो छ, अब बर्खा लाग्दै छ । नदीको सतह पनि दिनदिनै बढ्दै गएको छ । निर्माण भएका पुल झोलुंगे छिटो सञ्चालन गर्नुपर्छ,’ उनले भने । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा दार्चुलामा तुइन विस्थापन कार्यक्रमका लागि ११ स्थानमा झोलुंगे पुल निर्माण गर्न जिल्लाबाट प्रस्तावसहित माग गरिएकोमा व्याँस ५ को तिगरम र लेकमको लालीमा पुल निर्माण भएर सञ्चालनमा आइसकेका छन् । रासस