पानी नचुहिँदै महाकाली सिँचाइमा अर्बौं खर्च

महेन्द्रनगर । झन्डै डेढ दशकअघि कञ्चनपुरमा सुरु भएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको मूल नहर निर्माणमा अर्बांै रुपैयाँ खर्च भए पनि पानी अझै बग्न सकेको छैन । पछिल्लो समय राष्ट्रिय गौरवको आयोजनामा समेटिएको महाकाली सिँचाइ आयोजनाले डेढ दशकमा २५ किलोमिटर मूल नहर पनि तयार गर्न सकेको छैन । आयोजनाको सुरुयता अहिलेसम्म ४ अर्ब ९२ करोड खर्च भइसकेको आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर शम्भु पण्डितले जानकारी दिए । हालसम्म १३ किलोमिटर मूल नहर निर्माण सकेर आयोजनाले २ अर्ब ३२ करोडको लागतमा थप १५ किलोमिटर मूल नहर निर्माण गरिरहेको छ । नेपाल–भारत सिमानाभन्दा वर (भीमदत्त नगरपालिका–९) मा छुटेको २२० मिटर मूल नहर पनि ठेक्का भएर निर्माणको चरणमा रहेको आयोजनाले जनाएको छ । मुआब्जा वितरणको सकस, वनको रुख कटानलगायत समस्या झेल्दा ढिलासुस्ती हुनाका साथै आयोजनाले आर्थिक अभावसमेत हुँदै आएको छ । ‘आगामी असार मसान्तसम्म २५ किलोमिटर मूल नहर निर्माण सकिन्छ’, इञ्जिनियर पण्डितले भने, ‘आगामी वर्षभित्रै शाखा नहर बनाएर मूल नहर बनेको क्षेत्र वरपर सिँचाइ पुर्‍याउने गरी काम गर्दै छौं ।’ शाखा नहर निर्माणका लागि मुआब्जा दिनुपर्ने जग्गाको सर्वेक्षणलगायत काममा भएको ढिलाइका कारण बनाइएको नहर पनि उम्रेको घाँसगायतले कतिपय ठाउँ पुर्न थालेको भीमदत्त नगरपालिका–८ तिलाचौरका स्थानीयको भनाइ छ । कञ्चनपुर र कैलालीको ३५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको आयोजनाअन्तर्गत महाकाली नदीबाट १ हजार २०० मिटर लामो मूल नहर भारतले बनाइदिनुपर्ने थियो । आयोजनाअन्तर्गत अहिले शुक्लाफाँटाको फुलेली गाउँसम्म मूल नहर निर्माण भइरहेको छ । सोही क्रममा महाकाली नदीमा हेडरेगुलेटरलगायत नहरको काम भारतले बनाइसके पनि नेपालतर्फ पानी छोड्दा त्यसको उपयोगितामा ध्यान दिन आवश्यक देखिन्छ । ‘कञ्चनपुरमा २२ शाखा नहर निमार्णका लागि गृहकार्य भइरहेको छ’, इञ्जिनियर पण्डितले भने, ‘करिब ५० किलोमिटर शाखा नहर बनेपछि सिँचाइ सुरु हुन्छ ।’  रासस