‘मेरो धरहरा : म बनाउँछु’ भन्ने अभियानअन्तर्गत सुरु भएको धरहरा निर्माण कार्य सम्पन्न भएको छ । सरकारको सम्पूर्ण लगानी रहेको धरहरा निर्माणमा हरेक नेपालीको श्रम र पसिनाको स्वामित्व छ । त्यसैले सबै नेपालीले गौरवका साथ भन्न सक्छौँ, “हामीले बनायौँ,
हाम्रो धरहरा ।”
सुनको जलपले टिलिक्क टल्किने गजुरसहितको धरहरा २०७२ सालको भूकम्पले ढलेको ठ्याक्कै छ वर्षपछि ठडिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको धरहरा उहाँले नै शनिबार उद्घाटन गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले २०७४ फागुन ४ गते धरहराको ठूटो छेउमा उभिएर ऐतिहासिक धरोहर पुनर्निर्माण सङ्कल्पअन्तर्गत ‘मेरो धरहराः म बनाउँछु’ भन्ने अभियानको घोषणा गर्नुभएको थियो । अभियानमा मुलुकभित्र र बाहिर रहेका सम्पूर्ण नेपालीलाई सहयोग गर्न आह्वान गर्नुभएको थियो ।