अतिरिक्त रकम काटिएपछि दुग्ध सहकारीले बुझाए ज्ञापनपत्र

विराटनगर । दूधमा पाइने अतिरिक्त रकम (टीएस)मा कटौती गरेपछि प्रदेश १ का दुग्ध उत्पादक सहकारी संस्थाहरूले विराटनगरस्थित दुग्ध वितरण केन्द्रमा ज्ञापनपत्र बुझाएका छन् । दुग्ध विकास संस्थान (डीडीसी)ले देशभरका दुग्ध उत्पादक सहकारीलाई दूध संकलन गरेबापत प्रतिलिटर ३ रुपैयाँका दरले दिँदै आएको टीएस कटौती गरेपछि प्रदेश १ का दुग्ध सहकारीहरू आन्दोलित भएका हुन् । विगतमा झैं निरन्तर टीएस भुक्तानी नगरे चरणबद्ध आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन् । धनकुटाकाका दुई दर्जन दुग्ध उत्पादक सहकारीका पदाधिकारी आइतवार दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनामा पुगेर ज्ञापनपत्र बुझाएका छन् । कटौती गरेको टीएस यथावत् राख्नुपर्ने माग उनीहरूले गरेका छन् । दुग्ध उत्पादक जिल्ला सहकारी संघका अध्यक्ष नरबहादुर कटवालले सरकारी स्वामित्वको संस्थानले किसानले पाउँदै आएको रकममा मनलाग्दी कटौती गर्न नहुने बताए । ‘घटाएको टीएस रकमलाई निरन्तरता दिइनुपर्छ, त्यसलाई निरन्तरता दिइएन भने चरणबद्ध आन्दोलन गर्न बाध्य हुनेछौं,’ उनले भने । संस्थानले २६ माघमा टीएस कटौती भएको भन्ने जानकारी सहकारीहरूलाई पठाएको थियो । दुग्ध उत्पादक सहकारीहरूले पाउँदै आएको टीएस रकम कटौती भए सहकारी सञ्चालनमा कठिनाइ भई दूध संकलन नै बन्द हुने अवस्था आउने भन्दै उनीहरूले संस्थानमाथि दबाब बढाएका हुन् । डीडीसीले प्रदेश १ का २७२ ओटा दुग्ध उत्पादक सहकारीबाट दैनिक १४ हजार ५०० लिटर दूध संकलन गर्दै आएको छ । दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजना प्रमुख गणेशकुमार यादवले सरकारले दूधको मूल्य वृद्धि गरेपछि टीएस कटौती भएको र त्यसको जानकारी पनि आफूले माथिबाट पाएको बताए । ‘यहाँबाट कटौती भएको होइन,’ उनले भने, ‘दूधमा पाइने अतिरिक्त रकम कटौती गरेको परिपत्र केन्द्रबाट आएको हो ।’