होला त सुनचाँदी व्यवसायमा सक्रिय दुई महासंघबीच एकता ? पेशागत सुरक्षाकालागि एकजुट हुन आग्रह

माघ ३, काठमाडौं। सुनचाँदी व्यवसायीहरुले व्यवसायीक सुरक्षाका लागि व्यवसायीहरु बीच एकता हनुपर्ने खाँचो रहेको औंल्याएका छन् । व्यवसायीबीच एकता हुन नसके त्यसको असर समग्र सुनचाँदी व्यवसायमा पर्ने भन्दै एकै प्रकृतिका संस्थाहरु आपसमा मिलेर अगाडि बढ्नु पर्ने खाँचो रहेको उनीहरुले बताएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीहरुको सम्मानमा सोमबार काठमाडौंमा आयोजना गरेको वधाई तथा स्वागत कार्यक्रममा सहभागी व्यवसायीहरुले दुई महासंघवीच आपसी एकताको खाँचो रहेको बताएका हुन् ।  कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ अध्यक्ष माणिक रत्न शाक्यले व्यवसायीहरु एकजुट भएर अगाडि बढ्न सके जस्तो सुकै अप्ठ्यारा र चुनौतिहरुलाई पनि सहजै चिर्न सकीने बताएका छन् ।  सुनचाँदी व्यवसायीले कच्चा पदार्थको अभाव देखि अन्य धेरै समस्या झेल्नु परेको उल्लेख गर्दै यसका समाधानका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघबीच कम्तिमा पनि साझा मुद्धामा एकता हुनुपर्ने उनले बताए ।  त्यस क्रममा रत्न तथा आभूषण व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष सुरेश मान शाक्यले सवै सुनचाँदी व्यवसायीका मुद्धा एउटै भएकोले सवै मिलेर अगाडि बढ्नुपर्ने खाँचो रहेको बताए । महासंघका बिशिष्ट सदस्य मणिरत्न शाक्यले दुई महासंघवीच कम्तिमा पनि कार्यगत एकता हुनुपर्ने खाँचो रहेको बताए ।  कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तर्फवाट नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारीलाई स्वागत तथा सम्मान गरिएको महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।