काठमाडौं । दुगड स्पाइसेस एन्ड फुड प्रडक्टस प्राइभेट लिमिटेडले (Dugar Spices and Food Products Private Limited) एक वर्षमा नै २ अर्ब ३३ करोड रुपैयाँ बढी सञ्चालन नाफा गरेको छ । कम्पनीको कुल नाफाको ३५ प्रतिशत हिस्सा भने मिक्स मसालाको रहेको छ ।
रेटिङ कम्पनी केयर रेटिङ्स नेपाल (Care Ratings Nepal) का अनुसार कम्पनीको सञ्चालन नाफा एक वर्षमा नै करीब २२ प्रतिशत (२१ दशमलव ९८ प्रतिशत)ले बढेको हो । कम्पनीले वित्तीय वर्ष २०२१ मा १ अर्ब ८८ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।
कम्पनीले रेटिङ कम्पनी केयर रेटिङ्स नेपालबाट ५० करोड ५० लाख रुपैयाँको दीर्घाकालीन कर्जा र ४९ करोड ४१ लाख रुपैयाँको अल्पकालीन कर्जा गरी कुल १ अर्ब कर्जाको लागि रेटिङ गराएको थियो । कम्पनीले दीर्घकालीन कर्जाको लागि डबल बी र अल्पकालीन कर्जाको लागि ए फोर रेटिङ पाएको छ ।
सन् १९९९ बाट सञ्चालनमा आएको दुगड स्पाइसेस एन्ड फुड प्रडक्टसको उद्योग विराटनगरमा छ । कम्पनीको अध्यक्षमा मोतिलाल दुगड छन् । उनी केपी ओली नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री बनेका थिए ।
कम्पनीले ३०० भन्दा बढी डिलरका साथै विभिन्न होटेल र रेष्टुरेन्टहरूमा कम्पनीको उत्पादनहरू विक्री गर्दै आएको छ । कम्पनीले मसला, स्न्याक्स, स्वादिष्ट नमकीन, अचार, फलफूलको जाम, जेली, ड्राई फ्रुट्स, नट्स, सीटीसी चिया लगायतका ५० बढी प्रडक्टहरू उत्पादन गर्दै आएको छ । यस्तै कम्पनीले सेन्चुरी (Century) ब्राण्ड अन्तर्गत विभिन्न प्रडक्टहरू स्वदेशी र विदेशी बजारहरूमा विक्री वितरण गर्दै आएको छ ।
केयर रेटिङ्सका अनुसार वित्तीय वर्ष २०२२ मा कम्पनीको कुल आयको १ दशमलव २२ प्रतिशत आयअन्य मुलुकमा भएको निर्यातबाट भएको छ ।