जेठ १९, वीरगञ्ज । वीरगञ्ज महानगरले कोरोना महामारीको समयमा सञ्चालन गरेको राहत कार्यक्रमलाई शिवशक्ति उद्योगले खाद्यान्न सहयोग गरेको छ ।
सो उद्योगले महानगरपालिकालाई पौने ७ लाख रुपैयाँभन्दा बढीको खाद्यान्न सहयोग गरेको हो ।
कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञामा विपन्न परिवारलाई निःशुल्कखाना कार्यक्रममा महानगरले सहयोग पु¥याउँदै आएको छ । यो कार्यक्रमका लागि उद्योगले महानगरलाई खाद्यान्न सामग्री हस्तान्तरण गरेको हो ।
उद्योगका प्रतिनिधि महेशजंग पाण्डेले महानगरका प्रमुख विजयकुमार सरावगीलाई नौ मेट्रिक टन चामल, एक मेट्रिकटन दाल, १०० लिटर तेल हस्तान्तरण गरेका छन् । नगरप्रमुख सरावगीले महामारीले निम्त्याएको अहिलेको संकटमा अरूको मुख ताकेर नहुने बताए । सबैले आफूले सकेको सहयोग गरेमा महामारीको सामना सहज हुने उनको भनाइ थियो ।
महानगर क्षेत्रमाविभिन्न संघसंस्थाले निःशुल्क भोजन वितरण गर्दै आएका छन् । महानगरले ती संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराइरहेको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए ।
स्वयमसेवी संस्थाहरूलाई खाद्यान्न अभाव हुन नदिन महानगरपालिकाले आवश्यक खाद्य सामग्री उपलब्ध गराउँदै आएको उनले बताए ।