काठमाडौं । यति पोलिकेम प्राइभेट लिमिटेड (Yeti Polychem Private Limited ) ले वित्तीय वर्ष २०२२ मा १ अर्ब ४९ करोड रुपैयाँ सञ्चालन नाफा गरेको छ । अघिल्लो वित्तीय वर्षको तुलनामा कम्पनीको नाफा २२ दशमलव ७१ प्रतिशतले बढेको हो ।
रेटिङ कम्पनी इक्रा नेपाल (ICRA Nepal) का अनुसार कम्पनीले वित्तीय वर्ष २०२१ मा एक अर्ब २१ करोड रुपैयाँ सञ्चालन नाफा गरेको थियो । यति पोलिकेम प्राइभेट लिमिटेडले नेपालमा पिभिसी कार्पेट (PVC Carpet) को एक मात्र उत्पादक भएकाले कम्पनीलाई लाभ भएको इक्राले जनाएको छ ।
कम्पनीले २३ करोड १६ लाख रुपैयाँको दीर्घाकालीन कर्जा र ४८ करोड ५० लाख रुपैयाँको अल्पकालीन कर्जाको लागि रेटिङ गराएको थियो । कम्पनीले दीर्घाकालीन कर्जाको लागि ट्रिपल बी माइनस र अल्पकालीन कर्जाको लागि ए थ्री रेटिङ पाएको छ ।
यती कार्पैटमा केडिया अर्गनाइजेसन (Kedia Organisation) र रिलायन्स ग्रुप (Reliance Group) को ५०/५० प्रतिशत लगानी रहेको छ । कम्पनीले हेटौंडामा उत्पादन केन्द्रबाट पीभीसी कार्पेट (PVC Carpet) , पीभीसी कोइल म्याट (PVC Coil Mat) र रेक्सिन-कोटेड कपडा (Rexine-Coated Fabric) उत्पादन गर्दै आएको छ ।
वित्तीय वर्ष २०२२ मा कुल विक्रीको ८० प्रतिशत हिस्सा गलैंचाको, १५ प्रतिशत हिस्सा रेक्सिन-कोटेड कपडाको र बाँकी ५ प्रतिशत हिस्सा कोइल म्याटको रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।
२०७४ मा यति कार्पेट उद्योगमा आगलागी हुँदा ४० करोड रुपैयाँ बराबरको क्षति बेहोरेको उद्योगले ३ वर्षपछि २०७७ मा नयाँ प्रविधि सहित उद्योग सञ्चालन गरेको थियो । त्यतिबेला मासिक ५ देखि ६ करोड रुपैयाँको कारोबार हुने अनुमान गरेको कम्पनीले अहिले भने मासिक १० देखि १२ करोड रुपैयाँसम्मको कारोबार गरिरहेको छ । सञ्चालनमा आएको ३ वर्ष नपुग्दै उद्योगको वार्षिक कारोबार डेढ अर्ब रुपैयाँ पुगेको छ ।