सिम्ता गाउँपालिकामा सोमवार पुन: मतदान

कर्णाली । सुर्खेतको सिम्ता गाउँपालिका–१ भगवती मावि खनेटा केन्द्रमा सोमवार पुन: मतदान हुने भएको छ । मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएको विषयमा तनाव सृजना हुँदा शुक्रवार मतदान स्थगित भएको थियो । स्थगित चुनाव सोमवार विहान सात बजेदेखि ५ बजेसम्म हुने भएको हो । निर्वाचन अधिकृत नारायण सापकोटाले मुख्य निर्वाचन अधिकृत र प्रदेश निर्वाचन कार्यालयबाट मतदान अधिकृतसहितको कर्मचारी, मतपत्रलगायतका आवश्यक सामग्री मतदान केन्द्रमा पुगेको जानकारी दिए । पुन: मतदान हुने भएपछि यसअघि नियुक्त मतदान अधिकृत र अन्य निर्वाचन कर्मचारी हटाइएका थिए । त्यस्तै, जिल्ला निर्वाचन सुरक्षा समन्वय समितिले थप सुरक्षाकर्मी पनि पठाउने तयारी गरेको छ । पूर्वी सुर्खेतमा पर्ने उक्त मतदान केन्द्रमा ८३९ मतदाता छन् । यहाँ मतदान स्थगित हुँदा सिम्ता गाउँपालिकामा आइतवार साँझसम्म पनि मतगणना शुरू भएको छैन । रासस