गत वर्षभन्दा यस वर्ष रसुवागढी हाइड्रोपावरको नोक्सानी घट्यो

जेठ १२, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सानी गत वर्षभन्दा यस वर्ष घटेको छ ।  कम्पनीले बुधवार प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले  रू. २ करोड ४६ लाख ४३ हजार नोक्सानी व्यहोरेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख २६ हजार नोक्सानी व्यहोरेको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले खर्च नियन्त्रण गर्दा नोक्सानी घटेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ७ लाख ६१ हजार ऋणात्मक रहेको छ ।  चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख रहेको उक्त कम्पनीको रिटेन्ड अर्निङ रू. २२ करोड ६४ लाख ऋणात्मक छ ।   रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको  हालसम्म करीब ८० प्रतिशत भौतिक प्रगति  रहेको छ ।  ५० प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय व्यवस्थापन गरिएमोमा स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक शेयरधनी र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी हुने गरी व्यवस्था गरेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।