अर्थतन्त्रका सबै अवयव शिथिल बनेका बेला अहिले एकथरीले शेयरबजारबाट राम्ररी कमाइरहेका छन् । शेयरबजार निकै माथि गएको देखेर अर्थशास्त्रीहरू चिन्तित छन् किनभने यो वृद्धिको फोका कुनै पनि बखत फुट्न सक्छ र ठूलो समस्या निम्तिन सक्छ । हुन पनि ४० लाख डिम्याट खाता र यसको आधा जति व्यक्ति शेयरबजारमा सक्रिय रहेका देखिन्छन् । लहैलहैका लागेर लगानी गर्नेदेखि कर्नरिङ तथा भित्री सूचनाका आधारमा लगानी गर्नेसम्मको थलो बनेको छ, शेयरबजार । कतिपय लगानीकर्ता त प्राविधिक विश्लेषण गरेर लगानी गर्नेहरू पनि छन् । घाटामा गएका कम्पनीको मूल्यसमेत निकै माथि गएको अवस्था छ । यस्तो बेला नेपाल राष्ट्र बैंकले शेयरबजारमा बैंकहरूको लगानीलाई कडाइ गर्न खोजेको छ ।
उदार अर्थनीति अपनाएको मुलुकले शेयरबजार घट्यो वा बढ्यो भनेर त्यसलाई रोक्न नीतिगत व्यवस्था नगरेकै राम्रो हुन्छ । बजारलाई स्वतन्त्र छाडिदिनु नै उपयुक्त हुन्छ । खरीद गर्ने मान्छे भएसम्म शेयरको भाउ बढ्छ । खरीद गर्ने मान्छे नभए त्यो आपैm घट्छ । यस्तोमा सरकारी अधिकारीहरूले टाउको दुखाउनुपर्ने विषय नै छैन । तर, अर्थमन्त्री स्वयं शेयरबजारका लगानीकर्ताको लगानी डुब्न नदिने अभिव्यक्ति दिन्छन् । सरकारले विकास बजेट खर्च गर्न नसकेर आयोजनाहरू मन्द गतिमा अघि बढिरहेका बेला अर्थमन्त्रीले त्यतातिर ध्यान दिनुपर्नेमा शेयरबजारका बारेमा चासो दिनुको अर्थ देखिँदैन ।
नेपाल राष्ट्र बैंकले शेयर खरीदका लागि लिइने कर्जा (मार्जिन प्रकृतिको कर्जा) मा नयाँ व्यवस्था गरेको छ । यसले शेयरबजारलाई नकारात्मक असर पार्ने चिन्ता लगानीकर्ताहरूमा छ । मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जा सीमा एउटा मात्रै बैंक वित्तीय संस्थाबाट ४ करोड रुपैयाँसम्म र एकभन्दा बढी बैंक वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म हुन पाउने व्यवस्था गरेको छ । ४ करोड र १२ करोडको सीमा ‘अनावश्यक र बेमौसमी बाजा’ हो । यो निर्देशन जारी हुनुपूर्व (मिति २०७८/५/८) कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रूपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा आगामी १ वर्षमध्ये जुन पहिले हुन्छ उक्त अवधिभित्र नियमित गरिसक्नु पर्नेछ भन्ने राष्ट्र बैंकको निर्देशन छ ।
राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा लगाउनु राज्यको प्राथमिकता वा नीति होला । तर, ४ करोड र १२ करोडको सीमा तोक्नु भेदभावपूर्ण छ । भदौ ८ गतेभन्दा अगाडि ४ करोड र १२ करोडको सीमाभन्दा बढी कर्जा लिएकाहरूले भुक्तानी अवधि वा १ वर्षमध्ये जुन पहिला हुन्छ उक्त अवधिभित्र नियमित गरिसक्नु भनेको भदौ ७ गते १ वर्षका लागि २० अर्ब रुपैयाँ मार्जिन प्रकृतिको कर्जा लिनेले १ वर्षसम्म यस्तो कर्जा उपभोग गर्न पाउँछ ।
तर, विभिन्न बैंकमा गरी २० करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा भदौ १० गते नै भुक्तानी अवधि पूरा हुने गरी लिएको व्यक्तिले भने ८ करोड रुपैयाँ घटाएर १२ करोड रुपैयाँ मात्रै लिनुपर्ने भयो । मार्जिन प्रकृतिको कर्जामा १–२ दिनको अन्तर हुँदैमा यस्तो फरक व्यवस्था गर्नु अन्याय हो ।
राजु अधिकारी
वनस्थली, काठमाडौं