डिजिटल भुक्तानीको माध्यम क्यूआर कोडको चर्चा र प्रयोग दुवै चुलिएको छ । गत साता नक्सालको तरकारी बजारमा नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले एक किलो अदुवा किनेर क्यूआर कोडमार्फत भुक्तानी सुरुवात गरेयता यसको चर्चा र प्रयोग बढेको छ । राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई तीव्र रूपमा अगाडि बढाएसँगै चिया पसलदेखि होटल, पसल, रेस्टुरेन्ट हुँदै ट्याम्पो चढ्दासमेत क्यूआर कोडमार्फ भुक्तानीको क्रम पनि सुरु भएको छ ।
हातमा स्मार्ट फोन र इन्टरनेटको पहुँच पुगेपछि नगद चाहिएन । एटीएम बुथ खोज्दै हिँड्ने र कोरोना लाग्ला कि भन्ने त्रासबीच नगद झिक्नु नपर्ने भएपछि त यसले देशको डिजिटाइजेसन प्रक्रियामा योगदान दिने आभास हुन थालेको छ । राष्ट्र बैङ्कले डिजिटल कारोबारलाई विस्तार गर्ने क्रममा पछिल्लो समय ‘क्यूआर कोड’को माध्यमबाट डिजिटल बैङ्किङका लागि अभियानकै रूपमा विस्तार गरिरहेको छ ।