वैशाख २२, टोकियो (जापान) । जापान सरकारले टोकियोसमेत केही मुख्य शहरी क्षेत्रमा लगाएको आपतकाल लम्ब्याउने बारे विचार गरिरहेको छ ।
यसबारे विविध स्रोतहरुलाई उद्धृत गर्दै स्थानीय र अन्तरराष्ट्रिय पत्रपत्रिकाहरुले बुधवार समाचार छापेका छन् । यसो भएमा जुलाईको अन्त्यतिर गर्ने भनिएको टोकियो ओलम्पिक्स यस पटक पनि नहुने हो कि भन्ने शंका बढ्नेछ ।
अधिकारी टोकियो, ओसाका, क्योटो र ह्योगोमा लगाएको आपतकाल मे ११ पछि पनि लम्ब्याउने सुरमा छन् । कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने लडाई जारी रहेकै बेलामा अधिकारीहरु आपतकालको म्याद थप गर्ने बारे विचार विमर्श गर्न पट्टीलागेको तीन स्रोतको भनाइ उद्धृत गर्दै रोयटर्सले समाचार छापेको छ । सरकारले छिटोमा शुक्रवारसम्ममा यसबारे निर्णय गर्ने बताइएको छ ।
बुधवार पनि प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना महामारी नियन्त्रणको जिम्मा पाएका मन्त्री र स्वास्थ्य मन्त्रीसमेतको टोलीसँग भेटवार्ता गरेका थिए ।
टोकियो ओलम्पिक शुरु हुन तीन महीनाभन्दा कम समयमात्रै बाँकी रहेको अवस्थामा आपतकालको समय थपगर्न लागिएको हो । यसले प्रतियोगिता यस पटक पनिभनेको समयमा होला कि नहोला भन्ने चासो उत्पन्न हुन थालेको छ ।
गत वर्ष पनि महामारीकै कारण प्रतियोगिता एक वर्ष पछाडि सारिएको थियो । संक्रमण बढ्दै गएपछि जनस्तरबाट पनि प्रतियोगिता रद्द गर्न वा स्थगित गर्न अनुरोध आउन थालेको छ । एजेन्सी