भारतमा कम गहुँ उत्पादन हुँदा नेपालमा असर

विराटनगर । भारत (India) मा यस वर्ष ११ करोड २१ लाख टन गहुँ (Wheat) उत्पादन हुने अनुमान गरिएकोमा त्यसअनुरूप नभएपछि यसको निकासी हुन नसक्ने फूड कर्पोरेशन अफ इन्डिया  (FCI)का अध्यक्ष तथा प्रबन्ध निर्देशक आशोक के मीनाले भारतीय सञ्चार माध्यमलाई बताएका छन् । गतवर्ष भारतमा १० करोड ६८ लाख मेट्रिक टन गहुँ उत्पादन भएको थियो ।  टाइम्स अफ इन्डिया र एनडीटीभीको अनलाइन संस्करणसँग कुरा गर्दै मीनाले फूड सेक्युरिटी एक्टअन्तर्गत ३ करोड ४२ लाख टन गहुँ भारतको आन्तरिक खपतका लागि सञ्चित गर्नुपर्नेमा अहिलेसम्म १० प्रतिशत मात्र संकलन भएको बताए । उक्त परिमाणमा गहुँ भण्डारण नभएसम्म निकासीका विषयमा सोच्न नसकिने उनले बताए ।  भारतीय किसान (farmer)ले पाउने गहुँको मूल्य क्विन्टलको भारतीय रुपया २१ सय ५५ तोकिदिएपछि किसानले सरकारलाई नभई स्थानीय बजारमा विक्री गरिरहेका छन् । स्थानीय बजारमा सरकारले तोकेको मूल्यभन्दा बढीमा गहुँ विक्री भइरहेको छ । व्यापारीले किसानसँग प्रतिक्विन्टल भारतीय रुपया २३ सयमा गहुँ किनिरहेका छन् । सरकारले तोकेको मूल्य कम भएपछि अहिले एफसीआईले मूल्य केही बढाउने संकेत गरेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।  सरकारले केही मूल्य बढाएर गहुँ खरीद गर्न थाले र किसानले सरकारले तोकेको मूल्यमा गहुँ विक्री गरे एफसीआईको कोटा ३ करोड ४२ लाख टन पुग्न ४ महीना लाग्छ । तत्कालै गहुँ किनेर भण्डारण गर्न गहुँमा चिसोपना बढी भएका कारण नसकिने एफसीआईको भनाइ छ । भारतका धेरै प्रान्तमा बेमौसमी वर्षा भएकाले गहुँको फसल भिजेको थियो ।  छिमेकी मुलुकलाई समेत गहुँ दिन सकिँदैन त ? भन्ने जिज्ञासामा मीनाले भनेका छन्, ‘जबसम्म आन्तरिक खपतका लागि पर्याप्त मात्रामा मौज्दात हुँदैन तबसम्म निर्यातका विषयमा सोच्न पनि सकिँदैन ।’  नेपाल (Nepal)का मैदा उद्योगीहरूले वैशाखबाटै ३ लाख मेट्रिक टन गहुँ आवश्यक पर्ने भन्दै नेपालमा निर्यात गर्ने अनुमतिका लागि पहल गरिदिन भारतीय दूतावासमा पत्र बुझाएका छन् । भारतीय पक्षबाट त्यस विषयमा आधिकारिक धारणा आउन बाँकी छ ।  गत वर्ष २ लाख टन गहुँ माग भएकोमा भारतले ५० हजार टन मात्र दिएको थियो । त्यसमध्ये उद्योगलाई ३२ हजार टन, साल्ट ट्रेडिङ कर्पोरेशनलाई ६ हजार ८०० टन र व्यापारीलाई ११ हजार २०० टन ल्याउने अनुमति दिइएको थियो । व्यापारी र उद्योगीले गहुँ ल्याइसकेका छन् ।  वैशाखदेखि नेपालमा उत्पादित गहुँसमेत बजारमा आउँछ । यसपटक समयमा वर्षा नभएकाले नेपालमा गहुँ उत्पादन आधा घटेको किसानले बताएका छन् । नेपाली गहुँको मूल्य अहिले पूर्वी नेपालमा प्रतिक्विन्टल ४ हजार ६०० रुपैयाँ, मध्य नेपालमा ४ हजार ४०० र पश्चिममा ४ हजार २०० रुपैयाँ छ । गत वर्ष स्वदेशमा २ लाख मेट्रिक टन गहुँ उत्पादन भएकोमा यो वर्ष घटेर १ लाख ५० हजार टनमा सीमित भएको किसानको अनुमान छ । नेपालमा वार्षिक १० लाख मेट्रिक टन गहुँ आवश्यक पर्छ ।  अपुग गहुँमा भारतको भर पर्नुपर्ने अवस्था रहेको नेपाल फ्लोर मिल एशोसिएशनका सचिव तथा मोरङ व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले बताए । समयमा भारतीय गहुँ नआए मिलको उत्पादन ठप्प हुने उनको भनाइ छ ।