मोरङका उद्योगी व्यवसायीहरु अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै सडकमा उत्रिएका छन् । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटले उद्योगीलाई मर्कामा पारेको भन्दै उनीहरुले बिहीबार मोरङको बुढीगंगा गाउँपालिकास्थित विराटनगर–धरान सडकखण्डमा विरोध प्रदर्शन गरेका हुन् ।मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बजेटले जिआई वायर, वनस्पती घ्यू तेल, सेनिटेरी प्याड तथा यार्न उद्योगहरुलाई मर्का पारेको बताए । उनले उद्योगीलाई मर्का पर्ने गरी ल्याइएको बजेट सच्याउन पटक–पटक आग्रह गर्दा पनि अर्थमन्त्रीले कुनै वास्ता नगरेपछि आफूहरु बाध्य भएर सडकमा उत्रिनुपरेको गुनासो गरे । ‘आफ्ना देशका उद्योगीलाई होइन, छिमेकी राष्ट्रका उद्योगीलाई पोस्ने काममा सरकार लागेको छ’ अध्यक्ष रिजालले भने, ‘उद्योग क्षेत्रलाई धराशायी बनाउन सरकार नै लाग्यो ।’ त्यस्तै उद्योग संगठन मोरङका अध्यक्ष सुयषराज प्याकुरेलले पनि अर्थमन्त्रीदेखि राजनीतिक दलका नेताहरुले त्रुटि सच्याउने विषयमा आफूहरुलाई झुक्याएको गुनासो गरेका छन् । अध्यक्ष प्याकुरेलले अर्थमन्त्रीले उद्योगीलाई मर्का पर्ने काम गर्दा पनि प्रधानमन्त्री उल्टै अर्थमन्त्रीको बचाउमा व्यस्त रहेको लगाए । ‘अहिले उद्योग धराशायी बनाउने क्रममा रहेका अर्थमन्त्री, कर्मचारीमाथि तथानाम गालीगलौच गर्ने मन्त्रीलाई समेत सरकारले बर्खास्त गर्न सकेको छैन’ उनले भने, ‘प्रधानमन्त्रीबाट पार नलाग्ने देखेपछि हामी माओवादी अध्यक्ष प्रचण्डलाई भेट्न गयौँ, प्रचण्डले उद्योगीको माग जायज भएको र जायज माग पूरा गराउन अर्थमन्त्रीलाई दबाब दिने बताउनु भएको थियो, तर उनले पनि हामीमाथि छल गरे ।’ उनले उद्योगीसँग खेलाची नगर्न चेतावनी पनि दिए । मोरङ व्यापार संघका पूर्व अध्यक्ष पवन सारडाले गत वर्ष पनि अर्थमन्त्रीले दलाली गरेर २४ वटा उद्योग बन्द गराएको भन्दै अर्थमन्त्री शर्मा उद्योग व्यवसाय क्षेत्रको हत्यारा भएको आरोप लगाए ।