पनौती आधारभूत विद्यालय (पाठशाला) को कक्षाकोठामा स्वास्थ्य सामग्री र औषधि उपचारको व्यवस्थापनमा जुट्दै थिइन्, १५ वर्षीया आयशा गिल । कहिले औषधिका बाकस बोक्ने, त कहिले नाम दर्ता गर्ने । अझै विद्यार्थी व्यवस्थापनमा समेत सहजीकरण गर्नमा भ्याइरहेकी थिइन् उनी । अमेरिकामा जन्मे/हुर्केकी आयशालाई खासमा नेपाली भाषा नै नौलो छ । तर बालबालिकाको स्वास्थ्य क्षेत्रमा काम गर्ने हुटहुटीले उनलाई न भाषाले रोक्यो, न त राष्ट्रियताले नै छेक्यो । समाजसेवाप्रतिको लगावले उनलाई काभ्रेको पनौतीसम्म ल्याइपुर्याएको हो ।