भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा शिवमाया तुम्वाहाङ्फेले व्यक्तिले कब्जा गरेका कतिपय जग्गा सरकारको नाममा फिर्ता ल्याउने कार्यलाई सबैभन्दा ठूलो उपलब्धिका रुपमा लिएको बताउनुभएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले दूषित मनसाय राखेर गैरकानूनी रुपमा व्यक्तिले दर्ता गराएका जग्गालाई सरकारले फिर्ता ल्याएरै छाड्ने दृढता व्यक्त गर्नुभयो ।
मन्त्री तुम्वाहाङफेले भन्नुभयो, “सरकारी, सार्वजनिक तथा गुठी जग्गाको छानबिन गर्न गठित आयोगमा पर्न आएका उजुरी छानबिन गरी ३९ बिघा १५ कट्ठा जग्गा नेपाल सरकारको नाममा फिर्ता ल्याइएको छ । जग्गाधनी, लेखापढी व्यवसायी र कर्मचारी इमान्दार भएमा बिचौलियाका नाममा हुने आर्थिक चलखेल सहजरुपमा रोक्न सकिने बताउँदै मन्त्री तुम्वाहाङ्फेले भूमि व्यवस्थापनका क्षेत्रमा जति समस्या छ त्यति नै उपचारका बाटा रहेको बताउनुभयो ।