काठमाडौं महानगरका मेयर बालेन शाहले हरेक शुक्रवारलाई पुस्तकरहित दिवस मनाउने कार्यक्रम ल्याएका छन् । शुक्रवार कोर्स पढाइ नहुने तर विद्यार्थीहरूलाई विभिन्न शीप सिकाउने, अतिरिक्त क्रियाकलापहरू गराउने नीति लिइएको छ ।
अहिले सरकारी विद्यालयमा यसो गर्न थालिएको छ । सबै विद्यालयमा यो कार्यक्रम प्रभावकारी नदेखिए पनि केही विद्यालयमा भने निकै राम्रो भएको देखिन्छ । दरबार हाइस्कूलमा विद्यार्थीहरूले विद्यालयका करेसबारीमा तरकारी फलाएका छन् । पानीमा मात्रै खेती हुने तरकारी पनि फलाएका छन् । कृषिप्रधान मुलुकमा यसरी विद्यार्थीले खेतबारीको काम गर्न पाउनु भनेको निकै राम्रो हो । अन्य विद्यालयले पनि विभिन्न शीप सिकाउने कार्यक्रम ल्याएका छन् । यो कार्यक्रमको उद्देश्य नै विद्यार्थीलाई केही न केही शीप सिकाउनु हो ।
हुन त संघीय सरकारले पनि कमाउँदै पढ्दै जस्ता कार्यक्रम ल्याएको छ । तर, त्यो प्रचारका लागि मात्रै भएको छ । सरकारी काम प्राय: यस्तै हुन्छ । न स्पष्ट उद्देश्य हुन्छ न समयसीमा न त कार्यान्वयनको खाका नै । नारा भने ठूलाठूला हुन्छन् । तर, काठमाडौं महानगरले पनि व्यावहारिक कार्यक्रम ल्याएको छ । तैपनि सरकारी स्कूलमा जागिरे मानसिकता बढी भएकाले देखावटी काम पनि नभएको होइन । जेभए पनि बालेन शाहले शुरू गरेको काम उदाहरणीय छ ।
नेपालको शिक्षाप्रणाली घोकन्ते र सैद्धान्तिक भएकै कारण एकातिर शिक्षित बेरोजगारको संख्या बढिरहेको छ भने अर्कातिर शीपयुक्त श्रमको खोजीका लागि भारत र बंगलादेशतिर आँखा डुलाउन परिरहेको छ । बेरोजगारी देशको ठूलो समस्या भएको छ । हातमा शीप नभएकै कारण यस्तो भएको हो । वास्तवमा विद्यालय शिक्षामा नै व्यावसायिक शिक्षा राख्नुपर्ने हो । अहिले केही सरकारी विद्यालयले प्राविधिक धारको पढाइ पनि जारी राखेका छन् । यसबाट उत्पादित जनशक्ति पक्कै पनि बेरोजगार बन्नु पर्दैन ।
नेपालको विद्यालय शिक्षामा सुधार गर्नुपर्ने अवस्था छ । अबको समयमा बजारको मागअनुसार जनशक्ति तयार पार्नुपर्छ । तर, परीक्षामुखी प्रणालीका कारण न त ज्ञान सिकाइ भएको छ न त शीप नै दिन सकिएको छ । त्यसैले शीपयुक्त सिकाइका लागि अहिले बालेनले ल्याएको कार्यक्रमलाई परिमार्जन गरी देशभरि नै लागू गर्दा केही सकारात्मक उपलब्धि प्राप्त हुन सक्छ ।
कृष्ण महर्जन
नयाँ बजार, काठमाडौं ।