फागुन २९, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याएको अहिलेको नयाँ वेबसाइटमा एउटै डाटा फरक–फरक देखाउँदा लगानीकर्ता र विश्लेषकहरू झुक्किने गरेका छन् ।
नेप्सेले एउटै डाटा धेरै ठाउँमा देखाउँदा आधिकारिकता कुन हो भन्नेमा लगानीकर्ता तथा विश्लेषकहरू झुक्किने गरेका छन् । गत साताको बिहीवार बजार बन्द हुँदा हइड्रोपावर सेक्टरको परिसूचक बाहिरी नेप्से इन्डेकसमा ३ हजार ११९ दशमलव शून्य २ देखाएको थियो भने नेप्से डाटाको भित्र डाटावाइज इन्डेक्समा ३ हजार १२० दशमलव १४ विन्दुमा रोकिएको देखाएको थियो ।
यसरी १ दशमलव १२ अंक फरक पर्नु तथ्यांकमा ठूलो त्रृटि भएको तथ्यांकशास्त्रीहरू बताउँछन् । तर, नेप्सेले भने यो खासै ठूलो फरक नभएको बताएको छ ।
बजार पूँजीकरणको तथ्यांक आएपछि मात्र डाटा आधिकारिक हुने भन्दै त्यसपछिको तथ्यांकलाई आधिकारिकता मान्न नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले आग्रह गरे । ‘डाटा परिवर्तन भयो भन्दै फोन आउने गर्छ । सबैभन्दा बढी अनलइन पत्रिकाबाट यस्ता फोन आउने गरेका छन् । कससले पहिला समाचार दिने भन्दै प्रतिस्पर्धा गर्दा नेप्सेमा आधिकारिक डाटा नै अपलोड नभइ समाचार लेखिन्छ । पहिले कुुनलाई आधिकारिक मान्ने भन्ने थाहा हुनुपर्याे,’ उनले भने, ‘तथ्यांक परिवर्तन सिस्टमबाटै हुने हो । तर, एउटै वेबसाइटमा फरक–फरक तथ्यांक देखिएको भए त्यसको समाधान गर्नुपर्ने हुन्छ ।’
एकै दिनमा एउटै परिसूचक फरक–फरक देखिँदा सर्वसाधारण त झुकिन्छन् नै, योभन्दा पनि शेयर बजारको विश्लेषण गर्नेहरू पनि झुकिने गरेका छन् । विश्लेषक भन्छन्, ‘नेप्सेले कि त बाहिर देखिने मात्र डाटा राख्नु पर्यो । कि भने बाहिरको फालेर नेप्से डाटा भित्रको मात्र राख्नु पर्याे, हामी नै झुकिन्छौं भने सर्वसाधारणले कसरी बझ्छन् ? लगानी गर्नेहरूले नेप्सेले राखेका तथ्यांकलाई नै आधार मानेर लगानी रणनीति बनाउने हुँदा यस्तो तथ्यांकको परिवर्तनले उनीहरूको रणनीति नै फेल खाने स्थिति आउँछ,’ उनले भने ।
बिहीवार तथ्यांक परिवर्तन भएको, एउटा उदाहरण मात्र हो । नेप्सेले वेबसाइटमा राखेका डाटा पटक–पटकको परिवर्तनले नेप्सेको विश्वसनियता कम भएको ती शेयर विश्लेषकले बताए ।
उनका अनुसार नेप्सेले लगानीकर्ता केन्द्रित भएर सूचना प्रवाह नगरेर भ्रम छर्ने काम गरेको छ । नेप्सेले निर्माण गरेको वेबसाइटमा यो मात्र नभएर अन्य डाटा पनि परिवर्तन हुने गरेका छन् । ‘बजार बन्द भएको १०/ २० मिनेटसम्म परिवर्तन हुनु त ठिकै हो, २/ ३ घण्टामा पनि परिवर्तन हुनु अचम्मको कुरा हो,’ उनले भने ।
यस्ता विषयमा नेप्से गम्भीर भएर समाधानतर्फ लाग्नु पर्ने ती विश्लेषकको भनाइ छ ।