चितवन । भरतपुर अस्पतालले अत्याधुनिक एमआरआई मेसिन खरीदका लागि सम्झौता गरेको छ । अस्पतालले मेसिन खरीदका लागि गत असार ३० गते इष्टवेष्ट कम्पनीसंँग सम्झौता गरेको हो । असार ३१ मा बैंक खाता खोलेर एलसीको काम अघि बढेकाले मेसिन आउने निश्चित भएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालले मेसिन खरीदका लागि ई–बिडिङमार्फत टेन्डर आह्वान गरेको थियो, जसमा इष्टवेष्ट नामको सप्लायर्स कम्पनीले मात्र टेन्डर हालेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उक्त मेसिनको लागत करीब ३० करोड रुपैयाँ बराबरको हुनेछ ।
आगामी पुसमा अस्पतालमा मेसिन आइपुग्ने र माघबाट सेवा शुरू गर्न सकिने अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले जानकारी दिए । हाल मेसिन नहुंँदा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता छ ।
एमआरआई मेसिन आएपछि सेवाग्राहीले अन्य अस्पतालभन्दा सस्तो दरमा सेवा लिन सक्ने अध्यक्ष पौडेलको भनाइ छ ।
भरतपुर अस्पतालको सेवा थप गुणस्तरीय बनाउनका लागि एमआरआई मेसिन अत्यावश्यक रहेको अस्पतालका मेसु डा. कृष्ण प्रसाद पौडेलले बताए । विकिरणमुक्त रहने र सिटी स्क्यानभन्दा बढी प्रभावकारी हुने भएकाले मेसु पौडेलको भनाई छ ।
गत वर्ष जनवरी १ मा ४५ दिनको समय राखेर अस्पतालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ)अन्तर्गत एमआरआई मेसिन खरीद प्रक्रिया अघि बढाएको थियो ।
पाँच वर्षको वारेन्टी रहने, वर्षमा तीनपटक नियमित मर्मत गर्ने तथा आवश्यक पर्दा कुनै पनि बखत १० वर्षसम्म सेवा र मेसिनका पाटपुर्जा उपलब्ध गराउनुपर्ने, मेसिन सन् २०१५ भन्दा पछिको मितिमा उत्पादन भएको हुनुपर्ने लगायतका सर्त बोलपत्रमा उल्लेख छ ।