काठमाडौं आइपुग्यो साझा यातायातका ३ ओटा बिजुली बस, परीक्षणपछि सञ्चालन गर्ने तयारी

वैशाख २४, काठमाडौं । साझा यातायातका तीन ओटा बिजुली बस काठमाडौंंमा आइपुगेका छन् । पहिलो चरणमा ल्याइएका ती बिजुली बस साझाले ललितपुरको पुल्चोकस्थित आफ्नो पार्किङमा राखेको छ । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीले ती बस तयार भएका हुन् । साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ती तीन ओटा बस नेपाल ल्याएको हो ।  साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दिक्षितले ती बसको परीक्षण सफल हुनासाथ सरकारी विशेषज्ञको परीक्षणपछि  काठमाडौं उपत्यकाका विभिन्न रुटमा सेवा दिन थाल्नेछन् । उनका अनुसार बाँकी ३७ ओटा विद्युतीय बस पनि आउने  क्रममा रहेको छ । साझाले प्रतिबस डेढ करोड रुपैयाँको लागतमा किन्दैछ । साझाले ४० ओटा बसका लागि करीब ६१ करोड रुपैयाँ खर्चिंदै छ । साझा यातायात सहकारीसँग अहिले ७१ ओटा ठूला बस रहेका छन् ।