म्याग्दीबाट रू. २० करोडको सुन्तला निकासी

म्याग्दी । यस वर्ष म्याग्दीबाट रू. २० करोड बराबरको सुन्तला निकासी भएको छ । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम बेनीसहित पोखरा, मुग्लिन, काठमाडौंलगायत बजारमा निकासी भएको जिल्ला कृषि ज्ञान केन्द्रले जानकारी दिएको छ । केन्द्रका प्रमुख किरन सिग्देलले म्याग्दीका अधिकांश बगैंचाको सुन्तला निकासी भइसकेको जानकारी दिए । ‘सरदर प्रतिकिलो रू. ६० का दरले रू. २० करोड मूल्यको सुन्तला निकासी भएको अनुमान गरेका छौं,’ उनले भने, ‘अनुकूल मौसम, रोगकीराको समस्या नभएको र फल दिने बोट बढेकाले उत्पादनमा पनि वृद्धि भएको छ ।’ म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरञ्जा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सयभन्दा बढी सुन्तला बगैंचा छन् । ती ठाउँहरूमा ७०६ हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूलखेती भएको केन्द्रको तथ्यांक छ । रासस