ग्यास उद्योग र पेट्रोलपम्प सुरक्षा मापदण्डविपरीत सञ्चालनमा

ग्यास उद्योग र पम्पको सञ्चालन अनुमति दिनुअघि नै सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि निगमले मापदण्ड तयार नगर्दा ग्यास उद्योग उच्च जोखिमपूर्ण बनेका हुन् । मुलुकका अधिकांश एलपी ग्यास उद्योग र पेट्रोलपम्प सुरक्षा मापदण्ड विपरीतको सञ्चालनमा रहेको पाइएको छ । व्यवसाय सञ्चालन गर्नुअघि अनिवार्य रूपमा सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि व्यवसायीहरूले अटेर गर्दै आएका हुन् । मापदण्डविपरीत सञ्चालित ग्यास उद्योग र पम्प उच्च जोखिममा छन् । बिस्फोटक पदार्थ नियमन ऐन र मापदण्ड नियमावली नहुँदा जुनसुकै बेला पनि त्यस्ता ग्यास उद्योग र पम्पमा दुर्घटना हुने देखिन्छ । व्यवसाय सञ्चालनका लागि अनुमति दिने नेपाल आयल निगमले सुरक्षा मापदण्ड तयार गरेको छैन । मुलुकमा सञ्चालित ९० प्रतिशत पम्प मापदण्डविपरीतका रहेकाले पनि जोखिम बढ्दै गएको देखिन्छ । सुरक्षा मापदण्ड नहुँदा जुनसकै बेला पनि ग्यास उद्योगमा दुर्घटना हुने खतरा छ । राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले ग्यास र पेट्रोलपम्पमा सुरक्षा मापदण्ड नहुँदा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने बताए । मुलुकभर ग्यासको कारोबार गर्ने बोटलिङ प्लान्ट (उद्योग) ५७ वटा र पेट्रोल पम्प तीन हजार ६ सयको संख्यामा छन् । निगमको लापरबाही, सरकारको फितलो नीति, राजनीतिक हस्तक्षेप र व्यवसायीको अटेरीका कारण ग्यास र पम्प सुरक्षित बन्न नसकेको उनको भनाइ छ । व्यवसायीले निगमको नियम, विनियम पालन नगर्ने, मापदण्ड तयार नगर्ने, सुरक्षा संयन्त्र जडान नगर्ने र पुराना जीर्ण भइसकेका सिलिन्डर प्रयोग गर्ने गरेकाले जुनसुकै बेला पनि दुर्घटना हुने उनको भनाइ छ । ग्यास उद्योग र पम्पको सञ्चालन अनुमति दिनुअघि नै सुरक्षा मापदण्ड तयार गर्नुपर्ने भए पनि निगमले मापदण्ड तयार नगर्दा ग्यास उद्योग उच्च जोखिमपूर्ण बनेका हुन् । आपूर्ति मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले निगमसँग सुरक्षा मापदण्ड नै नहुँदा ग्यास उद्योग र पेट्रोल पम्प असुरक्षित रहेको बताए । “पेट्रोलपम्प र ग्यास उद्योगमा के–के सुरक्षाका उपाय आवश्यक पर्छ भनेर मापदण्ड बनाउन निर्देशन दिएका छौं, प्रवक्ता पौडेलले भने, “सुरक्षाको मापदण्ड नहुँदा उद्योगमा जोखिम बढ्दै गएको छ ।” निगम र व्यवसायीको लापरबाहीले मापदण्ड पूरा नगरी उद्योग सञ्चालन गर्दा जुनसुकै बेला पनि दुर्घटना हुन सक्ने उनको भनाइ छ । निगमले तयार गरेको एलपी ग्यास विनियमावलीमा एउटा उद्योग र अर्को उद्योगको दूरी कम्तीमा ५ किलोमिटरको हुनुपर्ने उल्लेख छ । तर, अधिकांश ग्यास उद्योगले मापदण्डविपरीत व्यवसाय सञ्चालन गरिरहेका छन् । उद्योग विभागले सम्पूर्ण मापदण्ड पूरा गरेर दर्ता गरेपछि आफूले अनुमति दिने भएकाले विभाग नै जिम्मेवार भएको निगमको भनाई छ । साल्ट्र टेडिङ कर्पाेरेसनले सञ्चालन गरेको एसटीसी ग्यास उद्योगले मात्र आवश्यक पूर्वाधार तयार पारेको छ । बस्तीभन्दा पाँच किलोमिटर टाढा स्थापना हुने उद्योगलाई प्राथमिकता दिइने विनियमावलीमा उल्लेख गरे पनि मुलुकभर सञ्चालित कुनै पनि उद्योगले मापदण्ड पूरा गरेका छैनन् ।