ओलीले पशुपतिनाथको पूजा गर्छन् भने त्यो उनको व्यक्तिगत धार्मिक स्वतन्त्रताको विषय हो । त्यसका लागि हामीले कुनै आपत्ति प्रकट गर्नुपर्ने आवश्यकता छैन । ओलीलाई हामीले कम्युनिस्ट मानेका छैनौँ । माक्र्सवादी–लेनिनवादी सिद्धान्तबाट उनको विचलन भइसकेको छ । त्यो अवस्थामा उनले पशुपतिनाथको पूजा गर्छन् भने पनि त्यो कुनै आश्चर्यको कुरा होइन । तर हाम्रो ध्यान उनले गरेको पशुपतिनाथको पूजा भन्दा बढी त्योसँग जोडिएको राजनीतिक पक्षतिर छ ।
ओली आफ्नो सङ्गठनमा र संसदीय दलमा समेत अल्पमतमा पर्ने स्थिति उत्पन्न भएपछि उनका अगाडि आफ्नो पदको रक्षाको प्रश्न गम्भीर रुपमा अगाडि आयो । खास गरेर उनको व्यक्तिवादी र स्वेच्छाचारी प्रवृत्तिका कारणले उनका लागि व्यक्तिगत पद सबैभन्दा महत्वपूर्ण कुरा बन्न गएको छ ।
अब यो कुरा ओलीले राम्ररी बुझेका छन कि उनले संसदको विघटन गर्ने जुन कार्य गरे, त्यसले संविधानसित अलिकति पनि मेल खाँदैन । उनले वाह्य रुपले त्यसका पक्षमा जति शक्ति लगाए पनि उनको कदम असंवैधानिक भएको कुरा उनको आत्मले उनलाई बताइसकेको छ । उनको कदमका विरुद्ध देशव्यापी रुपमा आन्दोलन चलिरहेको छ । सबै संविधानविद्, बुद्धिजीवि र आमजनता समेतले उनको कदमलाई गलत ठह¥याइरहेका छन् र स्वयम् उनको पक्षमा भएका मानिसहरुले पनि संसदको विघटनको कार्य सही भएको कुनै तर्क दिन सकिरहेका छैनन् । त्यो स्थितिमा ओली वास्तवमा भित्रभित्रै आफ्नो पदको लागि सशंकित भएका छन् । त्यसैले आफ्नो रक्षाको लागि उनी पशुपतिनाथको शरणमा पुगेका छन् ।
तर त्यो वाह्य र प्रकट रुप मात्र हो । वास्तवमा त्यसरी उनी भारतका कट्टर हिन्दूवादी शासकवर्ग र राष्ट्रिय स्वयम्सेवक सङ्घ समेतको शरणमा पुगेका हुन् । पशुपतिनाथको पूजा गरेर उनले यो देखाउने प्रयत्न गरेका छन् कि उनी पनि हिन्दू धर्मका पक्षमा छन् । त्यसरी उनीहरूको अनुग्रह प्राप्त गरेर उनले आफ्नो रक्षा गर्ने प्रयत्न गरेको कुरा बुझ्न गाह्रो पर्दैन । त्यस सन्दर्भमा यो पनि प्रश्न उठाउने ठाउँ छ ः उनको पशुपतिनाथ मन्दिर र भारतीय कट्टर हिन्दूवादी दिशाको त्यो दौडको क्रममा कहीँ उनी हिन्दूराष्ट्र र राजतन्त्रको पुनस्र्थापनासम्म ...